केरा खेतीबाट मनग्ये आम्दानी

  • २१ असार २०७९, मंगलवार
  • 613 पटक पढिएको

 

म्याग्दी, २१ असार । केरा खेती गरेर लाखौं आम्दानी गर्न सकिन्छ भन्ने शोभित सापकोटाले सपनामा पनि सोच्नुभएको थिएन । आफैँले खानका लागि दुई÷चार घरी केरा लगाउने गरेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका सापकोटालाई व्यावसायिक रुपमा केरा खेती गरेर अहिले आफैँले मनग्ये आम्दानी गर्न सकेको देख्दा आश्चर्य लाग्दछ ।

दश वर्षदेखि व्यावसायिक रुपमा केरा खेती गरेर उनले गाउँमा नै पक्की घरसमेत बनाएको छ । करिब १६ रोपनी जमिनमा लगाएको केराबाट वार्षिक रुपमा १० लाख रुपियाँभन्दा बढी आम्दानी हुने गरेको उनी बताउँछन् । उनको देखासिकीपछि परम्परागत खाद्यबालीको विकल्पमा यस गाउँका धेरै किसान खेतबारीमा व्यावसायिक केरा खेती गर्न आकर्षित भएका छन् ।

थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजिक र अन्य बालीको तुलनामा सजिलो भएकाले अन्य किसानहरु पनि व्यावसायिक केरा खेती गर्नेतर्फ उत्साहित भएका हुन् । बिरुवा रोपेको दुई वर्षमा पसाउन थाल्ने र पसाएको पाँच महिनामा बिक्रीका लागि तयार हुन्छ । उत्पादन भएको केरा नजिकै रहेको बेनी बजारमा सहजै बिक्री हुने हुँदा बजारको समस्या नभएको सापकोटा बताउँछन् । बजारमा खबराको केराको ‘ब्रान्ड’ नै बनेको उनको भनाइ छ ।

कृषि पेसामा नै लागेर निर्वाहमुखी ढङ्गले गुजारा चलाउँदै यहाँका बासिन्दाको अहिले आर्थिक अवस्थामा निकै सुधार आएको छ । खबराका १६० घरधुरी किसानले केरा खेतीबाट वार्षिक रुपमा एक करोड रुपियाँ गाउँमा भित्र्याउने गरेका छन् ।

खबरामा केरी खेतीको सुरुआत २० वर्षअघि मानबहादुर थापा र चन्द्रबहादुर कार्कीले गरेको स्थानीय बासिन्दाले बताएका छन् । थापा र कार्कीले सुरु गरेको केरा खेतीले अहिले गाउँ नै ढाकेको छ । थापा र कार्कीको सिको गरेर खबराका स्थानीयले व्यावसायिक रुपमा केरा खेती थालेका हुन् । अन्य खेतीभन्दा केरा खेतीबाट राम्रो आम्दानी हुने भएपछि यहाँका किसानहरु केरा खेतीतर्फ आकर्षित भएका हुन् । खबराका प्रत्येक घरधुरीले व्यावसायिक रुपमा हजारी जातको केराको खेती गरेका छन् ।

खबराका किसानले केरा खेतीबाट राम्रो आम्दानी गर्न सकेको देखेपछि छिमेकी बगरफाँटका किसानले पनि व्यावसायिक केरा खेती गर्न थालेका छन् । बगरफाँटका १८ घरधुरीका किसानले व्यावसायिक रुपमा गरेको केरा खेतीबाट वार्षिक ५० लाख रुपैयाँको हाराहारीमा केरा बिक्री गर्ने गरेका छन् । व्यापारीहरु केरा घरीमा नै आएर केरा खरिद गर्ने गरेका बगरफाँटका कृषक खिमबहादुर कार्कीले बताए ।

धान, कोदो, मकै, गहुँभन्दा केरा खेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ बबिता सापकोटाले भनिन्, त्यस्तै खबराकै हरि कुँवरले पनि १० रोपनी जमिनमा केरा खेती गरेको छ । केरा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि अहिले गाउँ नै केरा खेतीले ढाकेको छ । खेतबारी, पाखा, कान्ला र खोल्साहरु सबैतिर केरा खेतीले छपक्कै ढाकेको म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताए । त्यसैगरी बेनी नगरपालिका–२ बगरफाँट गाउँका किसानले धान फल्ने खेतमा केरा खेती गरेका छन् ।

धान, गहुँ, मकै बालीको विकल्पमा यहाँका कृषकले खेतका गह्रामा व्यावसायिक रुपमा केरा खेती गरेर आयआर्जन गर्ने माध्यम बनाएका हुन् । अन्नबाली जस्तै धेरै मिहेनत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढी हुने भएकाले धान फल्ने खेतमा केरा खेती गरिएको कृषकहरुले बताएका छन् ।
केही वर्षअघिसम्म परम्परागत खाद्यान्न खेती हुने बगरफाँट अहिले केराको बगैँचामा परिणत भएको छ । अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेको कृषक खिमबहादुरले बताए । कार्कीले खेतका गह्रामा केराका ५०० बिरुवा लगाएकाछन् । उनका अनुसार तीमध्ये अहिले नै ३०० बोटमा घरी लागेको छ ।

त्यसैगरी अर्का कृषक दुर्गाबहादुर थापाले पनि गुडुराको धान फल्ने चार रोपनी खेतमा केराका बिरुवा लगाएकाछन् । खेती गर्न झन्झटिलो हुने, कम उत्पादन हुने, खर्च बढी हुने र काम गर्ने मान्छे पनि नपाइने हुँदा धान फल्ने खेतमा अहिले केरा लगाएको थापाले बताए । मजदूर अभावमा खाद्यबाली हुने जमीन बाझिन थालेको अवस्थामा केरा खेती प्रभावकारी विकल्प बनेको स्थानीयवासी भीमबहादुर कार्कीले बताए । ध्रुवसागर शर्मा ।