वामदेव नेतृत्वको नयाँ पार्टी घोषणा

  • १४ असार २०७९, मंगलवार
  • 729 पटक पढिएको

 

वामदेव गौतम नेतृत्वमा नेकपा राष्ट्रिय एकता अभियान पार्टीको घोषणा गरिएको छ। मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यसअघि अभियानको रुपमा रहेको राष्ट्रिय एकता अभियानलाई पार्टीमा रुपान्तरण गरिएको घोषणा गरिएको छ।

पार्टीको संयोजकमा गौतम रहेका छन् भने पार्टीको सांगठनिक संरचनाबारे जानकारी दिइएको छ । गौतमले आफ्नो पार्टीको केन्द्रीय कमिटीमा ७५ सदस्यीय रहेको पत्रकार सम्मेलनमा जनकारी दिए । दैनिक पार्टी संचालनका लागि स्थायी कमिटी निर्माण हुने र त्यसमा १५ जना नबढ्नेगरी सदस्य राखिने गौतमले जानकारी दिए ।

गौतमले पार्टी बहुपदीय प्रणालीमा जाने पनि स्पष्ट गरे । तद्नुरुप एक अध्यक्ष, प्रत्येक प्रदेशमा इन्चार्जको जिम्मेवारी बहन गर्नेगरी ७ उपाध्यक्ष, संगठनात्मक संगठनात्मक कामको मुख्य जिम्मेवारी पुरा गर्नेगरी एक महासचिव, एक उपमहासचिव, एक कोषाध्यक्ष र एक सचिव रहने व्यवस्था गरिने गौतमको भनाइ छ ।

पार्टीले सबै कम्युनिस्ट पार्टीलाई एकढिक्का बनाउन लक्ष्य लिएको छ भने त्यसका लागि ३ महिने अभियान सञ्चालन गर्ने जानकारी दिइयो । एकीकरणको भूमिका निर्वाह गर्दासम्म पार्टीका सम्पूर्ण ढाँचा समन्वय समितिका रुपमा रहने गौतमको भनाइ छ । त्यस्तो अवस्थामा हरेक कमिटीका प्रमुख पदमा संयोजक र सचिवको व्यवस्था गरिने जानकारी गराइएको छ। ​