जेसिजको आयोजनामा ‘सार्वजनिक भाषणकला’ तालिम

  • १९ जेष्ठ २०७९, बिहीबार
  • धिरन खत्री
  • 890 पटक पढिएको

म्याग्दी, १९ जेठ । म्याग्दी जेसिजको आयोजनामा भएको प्रभावकारी सार्वजनिक भाषणकला तालिम सम्पन्न भएको छ । म्याग्दी जेसिजद्वारा आयोजित ‘जेसिज सप्ताह’ कार्यक्रम अन्तरगत‘प्रभावकारी सार्वजनिक भाषण कला तालिम’ मा महिलाहरुको उत्साहजनक सहभागिता रहेको थियो । विहिबार जेसिज सभाहलमा भएको तालिममा प्रशिक्षकद्धय बागलुङ जेसिज पुर्व अध्यक्ष सुदिपराज भण्डारी र म्याग्दी जेसिज पुर्व अध्यक्ष विनय श्रेष्ठले तालिममा सहभागि विच भाषणको प्रस्तुति, भाषण गर्दा हुने असहजतालाई सुधार्ने तरिका, वक्ताले गर्न नहुने क्रियाकलापहरु लगायत विषयमा प्रशिक्षण गर्नुभएको थियो । ‘सार्वजनिक क्षेत्रमा भाषण गर्दा बिषयबस्तु केन्द्रित ज्ञान लिएर बोल्न सक्ने क्षमता विकास गर्नुनै भाषणकला हो’, प्रशिक्षकले भन्नुभएको थियो ।


‘म पनि बोल्न सक्नुपछर्’ भन्ने उद्देश्य लिएर बेनी नगरपालिका– ६ अथुङ्गेकी चन्द्रकुमारी बाँनिया र वडानम्वर ३ सावित्री खत्री लगायत ३३ जनाको भाषणकला तालिममा सहभागिता भएको थियो । अथुङ्गेकी बानियाँले समाजमा पढेलेखेका महिलाहरुलाई सामाजिक क्षेत्रमा अवसर बढेको बताउदै आगामी दिनको सामाजिक क्षेत्रको काममा नेतृत्व लिने आत्मविश्वास र क्षमता बढाउन भाषणकला तालिम सहभागि भएको बताउनुभयो । घर ब्यवहारमा मात्र सिमित नभएर राज्यले दिएको अवसरमा नेतृत्व गर्ने आत्मविश्वस बढाउन तालिममा सहभागि भएको भकिम्लीकी सावित्री खत्रीले बताउनुभयो ।


म्याग्दी जेसिजका अध्यक्ष सन्दिप खत्रीले नयाँ पिँढी तथा युवाहरु बोल्न लजाउने र कसरी बोल्ने, भाषण गर्ने भन्ने विषयमा राम्रो जानकार छैनन् त्यसकारण समाजमा युवाहरुको नेतृत्व विकास गराउन जेसिज सप्ताह अन्तरगत सार्वजनिक भाषणकला तालिम गरेको बताउनुभयो । अध्यक्ष खत्रीको अध्यक्षता, कोषाध्यक्ष सुमन बाँनियाको स्वागत मन्तव्य, तालिम संयोजक कृष्णप्रसाद पौडेलले संचालनमा सम्पन्न तालिमा म्याग्दी जेसिजका पुर्वअध्यक्ष एवम् सदस्यहरुको सहभागिता रहेको थियो । तालिममा सहभागिलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l