जनप्रतिनिधिका एक महिना सम्मान र तालिममै बिते

  • १२ असार २०७४, सोमबार
  • 2429 पटक पढिएको

म्याग्दी, १२ असार । धवलागिरि गाउँपालिका प्रमुख थमसरा पुनसँग निर्वाचित भएको एकमहिनामा जति गर्नुपर्ने हो, त्यति गर्न नसकिएको अनुभव छ । उह्ाँको अधिकाँश समय विभिन्न संघसंस्थाले आयोजना गर्ने तालिम र सम्मानमै समय बित्ने गरेको छ । ‘संघीय संरचना अनुसार पहिलोचोटी भएको यो स्थानीय तहको अभ्यास नै नयाँ छ, धेरै कुरा अन्तर सम्बन्धित छ’, उहाँ भन्नुहुन्छ ‘तालिमहरु पनि उपयोगी नै हुन्छन् ।’

गाउँपालिका दुर्गम भएका कारण कार्यालयमा भरपर्दो विद्युत, सञ्चार र इन्टरनेट भरपर्दो छैन । ‘यी सबै कुरालाई व्यवस्थित गरेर अघि बढ्नुपर्ने छ, माथिल्लो निकायबाट नीति निर्देशन र कार्यविधीहरु आउन पनि ढिलाई भइरहेको छ’, पुनले भन्नुभयो । स्थानीय तहमा आवश्यक जनशक्ति, पर्याप्त पूर्वाधार र स्पष्ट ऐन कानुन तथा निर्देशिकाको अभावमा पुन मात्र होइन वैशाख ३१ गते निर्वाचित सबै जनप्रतिनिधी जनचाहना बमोजिम काममा खरो रुपमा प्रस्तुत हुन सकेका छैन ।

संविधानमा व्यवस्था भए बमोजिम स्थानीय तह अधिकार सम्पन्न भएपनि त्यसको उपभोगका लागि आवश्यक पर्ने ऐन नियम र निर्देशिकाहरु समयमै आउन नसक्दा जनप्रतिनिधीहरुमा अन्र्योलता बढ्दै गएको छ । ‘कतिपय निर्देशिकाहरु आएपनि फेरि भोली नै परिर्वतन भईदिन्छन्’, धवलागिरि गाउँपालिका प्रमुख पुनले भन्नुभयो , ‘तलदेखि माथि सम्म सबैमा नयाँ अनुभव भएकोले यस्तो भएको हुनसक्छ ।’

६ स्थानीय तह रहेको म्याग्दीमा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ र उपमेयर सञ्जु बरुवाल महिनादिनमा सम्मानकै कार्यक्रममा सबैभन्दा बढी व्यस्त रहे । उनीसँगै बेनीगरपालिका वडा ७ का वडाअध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ र ८ का अध्यक्ष रामकृष्ण बराइलीको पनि जातीय देखि सामाजिक संघसंस्थाको सम्मान थाप्नमै समय व्यतीत भयो । जिल्ला सदरमुकाम बेनी पनि पर्ने भएकाले जिल्लामा सञ्चालित अधिकाँश सामाजिक संघसंस्था यहि नै छ । त्यसैले पनि यी जनप्रतिनिधीको सम्मान व्यस्तता बढेको हो ।

‘महत्वकाँक्षी भन्दा योजनाबद्ध विकासमा ध्यान दिनुपर्छ, केन्द्रबाट आउने नीति निर्देशनको समेत परिपालन गरेर अघि बढ्नुपर्छ’, मेयर श्रेष्ठले भन्नुभयो, ‘विभिन्न सामाजिक संघसंस्थाले समय माग गरेकाले यो एकमहिना बढी नै व्यस्त भइयो ।’ मालिका गाउँपालिका प्रमुख श्रीप्रसाद रोका तालिमकै लागि दुईपटक पोखरा र ३÷४ पटक सदरमुकाम बेनी झर्नुभयो । ‘तालिममा नआई पनि नहुने आउँदा पनि केहि नगरे जस्ता देखिने’, उहाँले भन्नुभयो ‘गाउँपालिकाको विस्तृत गुरुयोजना बनाउँदैछौँ । गाविस–गाविस जोडेर गाउँपालिका बनाईएको छ, तिनीहरुको संभावनाको खोजी गरिरहेका छौँ ।’