मंगलामा बालमैत्री स्थानीय शासन कार्यान्वयनमा जोड
म्याग्दी, २२ फागुन । मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा आईतबार बालमैत्री स्थानीय शासन सम्वन्धी अन्तरक्रिया भएको छ। सामाजिक कार्यालय म्याग्दीको आयोजना र मंगला गाउँपालिकाको समन्वयमा वडाअध्यक्ष, वडासचिव, विद्यालयअन्तरगत बालक्लवका पदाधिकारी, स्वाथ्यकर्मी, सुरक्षाकर्मी लगायतको उपस्थितमा बालमैत्री स्थानीय शासन सम्वन्धी अन्तरक्रिया भएको हो ।
पालिकामा बालबालिकालाई सबै प्रकारका हिंसा, दुव्र्यबहार र शोषणबाट मुक्त गराउने उद्देश्यले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ अनुसार स्थानीय तहको नीति, संरचना र व्यवहारमा बालमैत्री समाज निर्माणमा जनप्रतिनिधि, कर्मचारी, युवा क्लव र विद्यालयलाई सक्रिय बनाउन अन्तरक्रिया आयोजना गरिएको बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा मंगला गाउँपालिका उपाध्यक्ष सिर्जना केसीले विद्यालय अन्तरगत आधारभूत तहमा पढ्ने विद्यालयलाई दिवा खाजाको ब्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले बालमैत्री मैत्री स्थानीय तह बनाउनका लागि ‘बाल क्लव संजाल कार्यविधि २०७८’ कार्यपालिकाबाट निर्माण गरिएको बताउदै कार्यान्वयनका लागि जनप्रतिनिधि, कर्मचारी समुदायका युवाक्लव र विद्यालयका शिक्षक र विद्यार्थीहरु सक्रिय भएर लाग्न आग्रह गर्नुभयो ।
बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका सम्वन्धी स्थानीय तहको भूमिका र कसरी कार्यान्वयन गर्ने सम्वन्धी मुख्य प्रशिक्षक रहनुभएका बेनी नगरपालिकाका अधिकृत युवराज थापाले अन्तरक्रियामा बालबालिकाको अधिकारको सवाललाई स्थानीय तहको नीति, संरचना, प्रणाली र कार्यप्रक्रिया सहित ब्यवहारमा संस्थागत गर्नुपर्ने बताउनुभयो । उहाँले बालबालिकाको क्षमता र नेतृत्व विकासमा पालिका र परिवारले लगानी बढाउन आग्रह गर्नुभयो । ‘दिर्घकालिन महत्व बढाउन स्थानीय तहमा बालमैत्री शासन, बालबचाउ, बालसंरक्षण र बालसहभागितमा अर्थपुर्ण हुनुपर्छ । बालबालिकाको बौद्धिक क्षमता अनुसार ब्यवहारिक सिप र ज्ञान विकासका पुर्वाधार निर्माणमा पालिकाले ध्यान दिनुपर्छ ।’– उहाँले भन्नुभयो ।
स्थानीय तहका संचालनका दक्ष जनशक्ति उत्पादनका लागि बालमैत्री सूचकहरुलाई प्रभावाकारी कार्यान्वयनका लागि पालिका जनप्रतिनिधि, कर्मचारी, शिक्षक अभिभावक सक्रिय बनेर लगानी बढाउन सामाजिक विकास कार्यालयका प्रमुख थापाले उपस्थितलाई आग्रह गर्नुभएको थियो । ‘बालमैत्री शासनसम्वन्धी वडा वा पालिका घोषणा गराउन न्युनतम ५१ सूचकलाई कार्यान्वयनमा सामाजिक विकास कार्यालयले जोड गरेको छ ।
मंगलाका सामाजिक विकास अधिकृत राजेन्द्र आचार्यले पालिकाका रहेका ४० विद्यालयको बालविकास केन्द्रमा अध्ययनरत बालबालिकाहरुलाई दुधको ब्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले बाल क्लव संजाल कार्यविधि २०७८ अनुसार समिति गठन गरेर कार्यान्वयनको लागि पालिका समिति गठन गरिएको बताउनुभयो । ‘विद्यालयमा अध्ययनरत किशोरीलाई निशुल्क सेनिटरी प्याड उपलब्ध र गरिव परिवारका बालबालिकालाई पोषण सम्वन्धी कार्यक्रम कार्यान्वयन गरिएको छ ।’
स्वास्थ्य कार्यालय पब्लिक हेल्थ नर्स दुर्गा शर्माले मंगला गाउँपालिकामा बालमैत्री स्थानीय शासन घोषणामा पुरा गर्नुपर्ने न्युनतम ५१ सूचकहरुमा रहेर मंगला गाउँपालिकाको स्वास्थ्य अवस्था र सूचकहरु कार्यान्वयनबारे जानकारी गराउनुभएको थियो । अन्तरक्रिया कार्यक्रमको सहजीकरण सामाजिक विकास कार्यालयका योजना अधिकृत बाबुराम आचार्यले गर्नुभएको थियो ।