प्रवासी म्याग्देली : ‘विपद्का सारथी, लगानीका घोषणा अधुरै’

  • १२ कार्तिक २०७८, शुक्रबार
  • 1038 पटक पढिएको

बेनी, १२ कात्तिक । प्रवासमा रहेका म्याग्देलीहरुको साझा चौतारीको रुपमा म्याग्दी प्रवासी नेपाली संघ(मोना)ले आफ्नो सञ्जाल विस्तार गरिरहेको छ । सन २००७ देखि सुरु भएको प्रवासी म्याग्देलीहरुलाई एकताबद्ध गर्ने, आपत्विपतमा सहयोग गर्ने र प्रवासमा आर्जित शिप र पुँजीलाई जिल्लामा उत्पादनशिल क्षेत्रमा लगानीको रुपमा भित्र्याउने लक्ष्य सहितको अभियानलाई सन २०११ मा जिल्ला प्रशासन कार्यालय म्याग्दीमा म्याग्दी प्रवासी नेपाली संघ(मोना) संस्था दर्ता गरि आधिकारीक संस्थाको रुपमा स्थापित गरिएको थियो ।


संस्था स्थापना भएको एक दशक पार गर्दा मोनाले म्याग्दीमा दैवि प्रकोप पीडितलाई राहत तथा सहयोग, आर्थिक अभाबको सामना गरिरहेका गरिब विपन्न परिवारका विरामीहरुको उपचारमा आर्थिक सहयोग जुटाउने कार्यमा प्रसंसा बटुलेको छ । प्रवासमै समस्यामा परेका जिल्लाबासीको उद्धार, तथा रोजगारको बन्दोबस्त मिलाउने देखि जिल्लाको सामाजिक परोपकारी क्षेत्रमा भएको योगदानलाई प्रवासी म्याग्देलीहरुको सामूहिक एकता र सदभावको प्रतिकको रुपमा लिन सकिन्छ ।

एक दशकको अवधिमा मोना मार्फत विश्वका विभिन्न २८ वटा मुलुकमा रहेका म्याग्देलीहरुलाई गोलबद्ध गर्न सफल भएको मोना अन्तराष्ट्रियका निवर्तमान अध्यक्ष ओमनारायण जुग्जालीले जानकारी दिनुभयो । ‘‘विश्वभर छरिएर रहेका ७० प्रतिशत म्याग्देलीहरुलाई मोनामा आबद्ध गर्न सफल भएका छौँ, युरोप, ओसियाना,मध्यपूर्व, अमेरिका र एसियाका देशहरुमा गरि २८ वटा मुलुकमा मोनाको राष्ट्रिय कार्यकारी समिति गठन भएका छन्, अन्य मुलुकहरुमा रहेका म्याग्देलीहरुलाई समेत मोनाको सञ्जालमा आबद्ध गराउने अभियानले तिब्रता पाएको छ’’–जुग्जालीले भन्नुभयो ।

मोना मार्फत संगठीत भएका प्रवासी म्याग्देलीहरुले गत बर्षको असार २५ गते राती बर्षासंगै आएको बाढी पहिरोको कारण घरबार विहिन भएका ४० घरपरिवार पहिरो पीडितको आवास पुननिर्माण गरेका छन् । रु २ करोड सहयोग जुटाएर मोनाले जिल्लाका सबै स्थानीय तहमा पुननिर्माण गरेका आवास सम्बन्धित पीडित घरपरिवारलाई हस्तान्तरण गरिसकेको छ । त्यसैगरि कोरोना महामारीको समयमा जिल्लाका स्वास्थ्य संस्थाहरुका लागि २२ थान अक्सिजन कन्सल्टटेटर उपलब्ध गराएको मोनाकै पहलमा ६ बर्षदेखि साउदीको जेलमा रहेका मालिका गाउँपालिका–६ का राजकुमार निउरेलाई रु १५ लाख रकम संकलन गरेर जेलमुक्त गरि घरफिर्ता गराईएको जुग्जालीको भनाई छ ।

मोनाले म्याग्दीमा गरेको अर्को रचनात्मक कार्य बेनी–लभ्लीहिल पदमार्ग निर्माणमा गरेको साझेदारी हो । बेनी नगरपालिका, म्याग्दी उद्योग बाणिज्य संघ र मोनाको त्रिपक्षिय लगानीमा रु ८० लाखको लागतमा बेनीको शिरमा रहेको पर्यटकीय स्थल लम्भीहिल जाने पदमार्ग निर्माण गरिएको छ । मोनाले म्याग्दीका ४० वटा सामुदायिक विद्यालयहरुमा विद्युतिय पुस्तकालय (ई–लाइब्रेरी) समेत स्थापना गरिसकेको छ भने पटक पटक जिल्लाका विभिन्न स्थानमा स्वास्थ्य शिविरहरु समेत सञ्चालन गर्दै आएको छ । ‘‘ परोपकारी र मानविय सेवा संगै अब प्रवासमा आज्रित ज्ञान, शिप र पुँजीलाई जिल्लामा भित्र्याउने , उत्पादनमुलक र रोजगार सिर्जना गर्ने क्षेत्रमा लगानी गर्ने मोनाको प्राथमिकता हो, प्रवासी जिल्लाबासीबाट सामुहिक लगानी भित्र्याउन मोना इन्भेस्टमेन्ट कम्पनीलाई अघि बढाउने तयारी छ’’– मोनाका नवनिर्वाचित अध्यक्ष अमर छन्त्यालले भन्नुभयो ।

उहाँले जिल्लामा उत्पादन हुने उपजहरुलाई अन्तराष्ट्रिय बजारमा पु¥याउनका लागि समेत मोनाले बिशेष भुमिका खेल्न सक्ने भन्दै प्रवासमा आर्जीत पुजीँलाई उत्पादनमुलक क्षेत्रमा जिल्लामा भित्र्याउने अभियानमा प्रोत्साहन र उचित वातावरण बनाउनतर्फ मोनाले पहल गर्ने बताउनुभयो । प्रवासी म्याग्देलीका अप्ठ्यारा फुकाउने र गृह जिल्ला म्याग्दीको विपद्को सारथीको रुपमा स्थापीत मोनाले स्थापनादेखि नै घोषणा गर्दै आएको उत्पादनमुलक क्षेत्रमा लगानी भित्र्याउने घोषणा भने अझै अधुरै छ ।मोनामा नै आबद्ध भएका व्यक्तिहरुको लगानीमा अघि बढाइएका जलविद्युत आयोजनाहरु थलिनुले मोनाको उत्पादनमुलक क्षेत्रमा गर्ने भनिएको सामूहिक लगानीमाथि प्रश्न उब्जाएको छ । प्रवासी म्याग्देलीहरुको लगानीमा अघि बढाइएका मालिका गाउँपालिका–६ मा निर्माणधिन २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला र रघुगंगा गाउँपालिका–७ चिमखोलामा निर्माण गरिने भनिएको ५ मेगावाट क्षमताको मोना बगरखोला जलविद्युत आयोजनाले गति लिन सकेका छ्रैनन् ।

हरेक अधिवेशनमा प्रवासी पुँजी, शिप र ज्ञानलाई जिल्लाको उत्पादनमुलक क्षेत्रमा लगानीको रुपमा भित्र्याउने घोषणा हुँदै आएको छ । कात्तिक पहिलो साता बेनीमा सम्पनन् भएको मोनाको चौथो महाधिवेशनमा पनि यो बिषयले प्रवेश पाएको थियो । उद्घाटन समारोहमा धारणा राखेका जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले मोना मार्फत प्रवासी म्याग्देलीहरुले जिल्लाको सामाजिक र मानविय सेवाको क्षेत्रमा जिल्लाबासीले सम्झीरहने काम गरेको भन्दै प्रसंसा गर्दै आगामी दिनमा प्रवासमा आर्जन गरेको शिप, ज्ञान र पुँजीलाई जिल्लाको विकास र समृद्धिको अभियानमा सघाउने गरि भित्र्याउन सुझाब दिएका थिए ।

महाधिवेशनमा विमोचन गरिएको ‘मोना स्मारिका’मा मोनाका संस्थापक महासचिब शिबकुमार बरुवालले स्थापनाकालमा लिएका लक्ष्य र उदेश्यहरुको समिक्षा गर्दै घोषित उदेश्यहरुको कार्यान्वयनमा जुट्नुपर्ने आबश्यकता औँल्याउनुभएको छ । ‘‘मोनाले परोपकारी क्षेत्रमा यथेष्ट रचनात्मक कार्य गर्न सफल भएको छ, तर यसैमा मात्रै अल्झिएर बस्न हुँदैन, सुरुवातदेखि नै घोषणा गरेको उत्पादनमुलक क्षेत्रमा सामुहिक लगानीको घोषणालाई मोनाको नयाँ अध्यायको रुपमा अघि बढाउनुपर्छ’’–उहाँले भन्नुभएको छ ।

म्याग्दी प्राकृतिक स्रोत र साधनले भरिपूर्ण जिल्ला भएकाले जल, जमिन, जंगल, जडिबुटी र जनशक्तिको अधिकतम उपयोग गर्ने गरि पुँजी र प्रविधिलाई लगानीको रुपमा भित्र्याउनुपर्ने बरुवालको भनाई छ । मोनाले सन २०१६ मा तत्कालिन जिल्ला विकास समितिसंगको सहकार्यमा अघि सारेको फ्री वाइफाइ जिल्ला बनाउने महत्वकाँक्षी योजनालाई घोषणामा मात्रै सिमित बनाएको छ । तत्कालिन समयमा विभिन्न देशमा रहेका प्रवासी म्याग्देलीहरु मार्फत उक्त परियोजनाको लागि संकलन गरिएको लाखौँ रकम समेत उपयोगविहिन बनेको प्रवासी म्याग्देलीहरुले नै गुनासो गर्दै आएका छन् ।

त्यसैगरि सन २०१७ मा दरबाङमा सम्पन्न भएको मोनाको दोस्रो महाधिवेशनमा महिलाहरुको हक, अधिकार सुरक्षित र आत्मनिर्भर गराउने योजना सहित रु १ करोडको अक्षयकोष बनाउने घोषणा गरिएको र लाखौँ बोल रकम संकलन भएको घोषणा गरिएको भएपनि उक्त अक्षयकोष अहिलेसम्म पनि कार्यान्वयनमा आउन सकेको छैन् । ‘‘ हालसम्म ९० लाख बोलकबोल भएको छ, तर त्यसको आधा रकम पनि जम्मा हुन सकेको छैन, कोषलाई कसरी परिचालन गर्ने अझै अन्यौल छ’’–मोनाका एक पदाधिकारीले भन्नुभयो ।