म्याग्दीको यार्साः संकलन घट्यो की, अबैध निकासी बढ्यो ?

  • २७ जेष्ठ २०७४, शनिबार
  • कमल खत्री
  • 3016 पटक पढिएको

म्याग्दी, २७ जेठ । म्याग्दीको हिमाली भेगमा बहुमुल्य जडिबुटी यार्सा प्रशस्त पाईने भएपनि बैधानिक रुपमा न्युन मात्रामा निकासी हुने गरेको छ । केही बर्ष अगाडीसम्म जिल्लाबाट बार्षिक रुपमा झण्डै २० किलो बढी यार्सा निकासी हुने गरेको भएपनि पछिल्ला दुई बर्ष यता निकै न्युन मात्रामा यार्सा निकासी भएको देखिएको छ । चालु आर्थिक बर्षमा पनि निकै न्युन मात्रामा यार्सा संकलनको लागि संकलन पुर्जी जारी भएको छ ।
अहिलेसम्म जम्मा साढे दुई किलो यार्सा संकलनको लागि पुर्जि जारी भएको जिल्ला बन कार्यालयका सहायक जिल्ला बन अधिकृत राजकुमार ठाकुरले बताउनुभयो । ‘‘ जम्मा तीन जनाले यार्सा संकलनको लागि राजश्व तिरेर पुर्जी लगेका छन्, यो निकै थोरै हो, ’’– ठाकुरले भन्नुभयो । यार्सा निर्यात गर्ने व्यवसायीहरुले म्याग्दीमा उत्पादन हुने यार्साको गुणस्तर समेत उत्कृष्ट नभएको कारण यहाँको यार्साले उचित मुल्य नपाउने गरेको बताउँछन् । तर बर्षौदेखि यार्सा संकलन गर्दै आएका सर्वसाधारण भने त्यो पत्याउन तयार छैनन् ।

जिल्ला बन कार्यालयका अनुसार, गत बर्ष म्याग्दीबाट जम्मा साढे १ किलो यार्सा निकासी भएको थियो । कार्यालयबाट जारी भएको पुर्जीको आधारमा म्याग्दीमा बहुमुल्य जडिबुटिको रुपमा अन्र्तराष्ट्रिय बजार सम्म पुग्ने यार्सा संकलनमा अघिल्ला बर्षहरुको तुलनामा भारी गिरावट आएको हो ? या अबैध निकासीमा बृद्धि आएको हो ? भन्ने निकै पेचिलो पश्न उठेको छ । बिगतका बर्षहरुको यार्सा निकासीलाई हेर्दा म्याग्दीमा

बार्षिक २६ किलो यार्सा उत्पादन हुने सम्भावना रहेको जिल्ला बन कार्यालयले जनाएको छ ।
बिषेश गरी बैशाखको मध्यदेखि जेठ महिनाको अन्त्यसम्ममा हिमालको फेदीतिर पुगेर जोखिम मोलेरै स्थानीयले यार्सा संकलन गर्ने गर्छन् । यार्सा टिप्न जाने बुकीहरुमा पर्ने देउरालीमा देविदेवताको पुजापाठ गरी स्थानीयले यार्सा संकलन गर्ने गर्छन् । यार्सा संकलन हिमाली भेगका जनताको लागि मौसमी रोजगारी जस्तै बनेको छ । तर जोखिमपूर्ण तवरले संकलन गरेको यार्साले उचित मुल्य नपाउँदा उनीहरु खुसी छैनन् । म्याग्दीमा स्थानीय स्तरमा हिमाली भेगमा पुगेर यार्सा संकलन गरेका सर्वसाधारणबाट व्यवसायिहरुले प्रतिकिलो ५ देखि ६ लाखसम्ममा खरिद गर्ने गरेका छन भने हालको बजार मुल्य ८ देखि ९ लाख रहेको बताइन्छ ।

यस अघिका बर्षहरुमा बजारमा १५ लाख सम्ममा पनि यार्सा खरिदविक्रि हुने गथ्र्यो । म्याग्दीको गूर्जा, मुदी, लुलाङ, मल्कबाङ, कुईनेमंगले, चिमखोला, दाना लगायतका ठाउँको माथिल्लो भेगमा यार्सा संकलन हुने गरेको छ । जिल्ला बन कार्यालयको अनुसार, आर्थिक बर्ष २०७०÷०७१ मा २३ किलो र २०७१÷०७२ मा १६ किलो यार्सा निकासी भएको म्याग्दीमा अघिल्लो बर्ष र यो बर्ष यार्सा संकलन पुर्जि लिनेको संख्या र परिमाणमा भारी गिरावट आएको देखिन्छ । गत बर्ष देखि यार्सा संकलनको लागि इजाजत लिन सरकारले प्रतिकिलो रु १० हजार राजश्वाट बढाएर २५ हजार बनाएको छ ।

राजश्वमा आएको भारी बृद्धि, दर्तावाला फर्म भएको व्यक्तिले मात्रै पुर्जी लिन पाउने भएकाले सर्वसाधारणको पहुँच नपुग्ने जस्ता कारणले पनि वैधानिक रुपमा यार्सा संकलन गरि निकासी गर्ने क्रम घटेको हुनसक्ने देखिएको छ । म्याग्दीमा जिल्ला बन कार्यालयबाट ईजाजत लिएका जडिबुटी व्यवसायिहरुले गाउँ गाउँमै पुगेर संकलनकर्ताबाट खरिद गरि बन कार्यालय मार्फत छोडपुर्जी लिएर निकासी गर्दै आएका छन् । त्यो बाहेक राजश्वमा आएको शुल्क बृद्धि र झण्झटिलो प्रकृयालाई देखाउँदै कतिपयले लुकिछिपी समेत गैरकानुनी रुपमा यार्सा निकासी गर्ने गरेका छन् ।

‘‘ गाउँमा विभिन्न सामान विक्रिका लागि भन्दै आउनेहरुले हामी दिन्छौँ राम्रो मुल्य हामीलाई दिनुस यार्सा भन्दै आउन थालेका छन, यहाँका सर्वसाधारणले संकलन गरेको यार्सा उनीहरु गैरकानुनी रुपमा निर्यात गर्न खोज्दैछन्’’– हालै हिमालको फेदीमा पुगेर यार्सा संकलन गरि फर्किएका एक युवाले भन्नुभयो । उहाँका अनुसार पछिल्ला बर्षहरुमा बिगतका बर्षहरुको तुलनामा यार्सा संकलनमा समेत केही गिरावट आएको छ भने बजार भाउ समेत घटेको कारण यार्सा संकलन गरेका व्यक्तिहरु समेत समस्यामा परेका छन् । नेपालमा उत्पादन हुने यार्सालाई विभिन्न माध्ययम मार्फत चिनमा निकासी हुने गर्छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l