‘साहसको भरमा अक्करे पहाडमा मह सिकार’ (तस्बिर र भिडियो सहित)

  • २१ श्रावण २०७८, बिहीबार
  • कमल खत्री
  • 1158 पटक पढिएको

कमल खत्री
बेनी २१ साउन । रघुगंगा गाउँपालिका–८ पात्लेखर्कका २६ बर्षिय रेशम पुन अग्ला पहाड चढेर मह सिकार गर्न सिपालु हुनुहुन्छ । बर्षको दुई सिजनमा हुने भिर माहुरीका मह सिकारको लागि पुन निर्विकल्प भिरौटे (भिरमा चढेर मह काढ्ने) हुन् । अग्ला र अक्करे पहाडमा मह काढ्ने पेसा जोखिमपूर्ण र सहासिक मानिन्छ । भिरपहरामा ज्यानलाई हत्केलामा राखेर काम गर्नुपर्ने भएपनि पुन लगायतका युवाहरु मह सिकारको पेसालाई जोगाउन अग्रसर छन् ।


परम्परागत र पुख्र्यौली पेसाको रुपमा चिनिने मह सिकारको सिप हस्तान्तरण नहुँदा विभिन्न ठाउँमा मह सिकार हराउन थालेपनि यहाँका युवाहरु भने महसिकारलाई आयआर्जनको माध्ययम बनाएर पुख्र्यौली पेसालाई जोगाउन लागिपरेका हुन् । १३ बर्षको उमेरदेखि नै मह सिकारमा लाग्नुभएका पुनले एक दशक बढी समयदेखि भिरौटेको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।


‘‘सुरुमा अरुले मह काढेको हेर्न गएको थिए, केहि बर्ष मह बोक्ने, काढ्ने ठाउँमा सहयोगीको रुपमा काम गर्ने जिम्मेवारी सम्हाले, पछि पराङ हुँदै भिरमा चढ्न थालेपछि सिकारीकै भूमिकामा काम गर्न थालेको हुँ’’– पुनले भन्नुभयो । सुरुवातमा होचा र कम जोखिम भएका भिरहरुमा मह काढेका पुन अहिले भने अक्करे पहाडहरुमा चढेर मह काढ्ने गर्नुहुन्छ । चोयाका डोरीमा झुन्डियर माहुरीका चाका नजिक पुगेर मह काढ्ने काम उहाँका लागि सामान्य जस्तै बन्न पुगेको छ । जंगलमा पाईने निगालोको चोयाबाट बनाइएका डोरीको भरमा मह काढ्ने गरेको पुनको भनाई छ ।


पुन संगै पात्लेखर्कका ३० बर्षिय धनबहादुर पुन पनि मह सिकारका भिरौटेको रुपमा खटिने गर्नुभएको छ । ८ बर्षदेखि भिरमा चढेर मह काट्ने काम गर्दै आउनुभएका धनबहादुरले भिरमा चढ्ने काम कठिन र जोखिमयुक्त भएपनि पुर्खाहरुले अपनाउँदै आएको सावधानीलाई पालना गरेर मह काढ्ने गरेको बताउनुभयो । भिरौटेहरुले चोयाको डोरीमा बलिया लौरा बाँधेर बनाइएको भ¥याङ (पराङ) को सहायतामा भिरमा उक्कले र ओलर्ने गर्छन् । मह सिकारमा प्रयोग हुने सबै सामान चोयाँ र निगालोबाट बनेका हुन्छन् ।

चोयाबाट बनाइएका डालीलाई भिरौटेले मौरीको चाका नजिक लगेर टुप्पोमा कोप्न मिल्ने बनाइएको निगालाको सहायताले मह काढ्ने गर्छन् । पुख्यौली पेसाको रुपमा रहेको मह सिकारले आयआर्जन हुने र पुरानो पेसा पनि जोगिने भएकाले आफुहरुले यसलाई निरन्तरता दिएको भिरौटेको भूमिकामा रहनुभएका धनबहादुरले बताउनुभयो ।

‘‘जडिबुटीजन्य औषधीको लागि प्रयोग हुने भिर माहुरीको महको माग अत्यधिक हुन्छ, तर भिरमा झुण्डिएर ज्यानलाई नै जोखिममा राखेर मह झिक्नुपर्ने काम चुनौतिपूर्ण काम हो, हामीले यसलाई पुरानो पेसाको संरक्षण र छोटो अवधिको लागि आयआर्जनको माध्ययमको रुपमा जोगाउन लागिपरेका हौँ’’–उहाँले भन्नुभयो । जेठ–असार र असोज महिनामा गरि दुई सिजनमा मह सिकार हुने भएकाले बर्षमा करिब साढे १ महिना यहाँका युवाहरुले पुख्र्यौली पेसा महसिकार अंगाल्ने गर्छन् ।


गाउँदेखि टाढाका जंगल, खोला, नदि का कठिन बाटो भएर भिर माहुरीको घार भएको ठाउँसम्म पुग्नुपर्छ । हरेक दिन फरक फरक भिरमा पुग्नुपर्ने, नजीक–नजीकमा कमै मात्रामा माहुरीको घार हुने भएकाले हरेक दिन कठिन यात्रा र संघर्ष गरेर मह संकलन गर्नुपर्ने बाध्यता रहेको पात्लेखर्कमा मह सिकार गर्ने समूहको नेतृत्व गरेका युवा अंकित पुनले बताउनुभयो । ‘‘ ज्यादै ठुलो र कठिन संघर्ष गर्नुपर्छ, जोखिम उत्तिकै हुन्छ, स्थानीय स्रोत र साधनको प्रयोग गरेर मह सिकार गर्दै आएका छौँ, अक्करे भिरमा चोयाँको डोरीको भरमा मौरीको टोकाई सहेर मह काट्ने भिरौटेहरुको भूमिका महत्वपूर्ण हुन्छ’’–पुनले भन्नुभयो ।

पुनका अनुसार, पात्लेखर्कका १२ जना युवाहरुको समूहले यस पटकको सिजनमा कन्ठेडम्मार र नरपट्टा खोला क्षेत्रका एक दर्जन बढी भिरहरुमा करिब २० दिन लगाएर मह सिकार गरेका थिए । हरेक सिजनमा काढेको मह विक्रिबाट ५ देखि ७ लाखसम्म गाउँमा भित्रने गरेको छ ।
                                                      महको आम्दानीले निजी शिक्षकको तलब
म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेमा मह सिकारबाट भएको आम्दानीलाइृ स्थानीय रितुङ माध्यमिक विद्यालयमा निजी स्रोतका शिक्षकको तलब जुटाउन परिचालन गर्ने गरिएको छ । वडाभित्रका गाउँबस्तीका स्थानीयबासीले आलोपालो गरि मह काढ्दै आएकोमा वडा कार्यालयको संयोजनमा टोली विभाजन गरि मह काढ्ने र मह विक्रि गरि भएको आम्दानीबाट बचत हुन आएको रकमलाई विद्यालय सञ्चालनमा सहयोग गर्न थालिएको हो ।


संकलन भएको महलाई विक्रि गरि मह काढ्न परिचालन भएकाहरुलाई पारिश्रमिक छुट्याएर बचत हुन आउने रकम विद्यालयका निजी स्रोतबाट राखिएका शिक्षकहरको तलब जुटाउन परिचालन गर्ने गरिएको वडा अध्यक्ष गमान छन्त्यालले बताउनुभयो । मह सिकारमा भिरमा चढेर मह काढ्ने भिरौटेलाई प्रतिदिनको रु ३ हजार ५ सय, भिरको टुप्पोमा बसेर मह संकलनमा सघाउनेलाई रु २ हजार र अन्य सहयोगीहरुलाई ११ सयका दरले पारिश्रमिक उपलब्ध गराउने गरिएको छ । एकिकृत रुपमा संकलन हुने महलाई बजार दररेट अनुसार विक्रि गर्ने गरिएको छ । प्रशोधन गरि विक्रिका लागि बजारमा ल्याइएको भिर महलाई प्रतिलिटर रु २ हजार सम्म मुल्य पर्छ ।

वडाभित्र रहेका बस्तीहरुलाई समेटर समूह विभाजन गरि मह भएका भिरहरु बाँड्ने र मह काढ्ने गरिएको वडा अध्यक्ष छन्त्यालले बताउनुभयो । ‘‘ आफैमा जोखिमपूर्ण काम हो मह सिकार गर्ने, यो पेसाको निरन्तरता मात्रै गरिएको छैन, स्थानीयको आयआर्जन र शुन्य दरबन्दि भएको मावि तहका शिक्षकको तलब जुटाउन समेत मह सिकार सहयोगी बनेको छ’’–वडा अध्यक्ष छन्त्यालले भन्नुभयो । दुर्गम बस्तीका गरिब विपन्न बर्गका बालबालिकाहरु अध्ययनरत यस विद्यालयमा प्रस्तावित मावि तह शुन्य दरबन्दिमा सञ्चालनमा रहेको छ ।

समुदाय स्तरबाट चन्दा संकलन लगायतको माध्ययमबाट बार्षिक लाखौँ रुपैयाँ जुटाउनुपर्ने अवस्थामा मह सिकारबाट हुने गरेको सहयोगले विद्यालयलाई राहत मिल्ने गरेको विद्यालयका प्रअ खिम छन्त्यालले बताउनुभयो । उहाँका अनुसार, मह राम्रो उत्पादन भएको बर्ष ३ लाख बढी विद्यालयलाई सहयोग जुट्ने गरेको छ ।

‘‘संधै एकैनासको मह संकलन हुँदैन, कुनै सिजनमा मह काढ्नेहरुको पारिश्रमिक जुटाउन पनि धौ पर्छ, कुनै सिजनमा राम्रो भयो भने पारिश्रमिक कटाएर विद्यालयलाई सहयोग प्राप्त हुन्छ’’–प्रअ छन्त्यालले भन्नुभयो । यस विद्यालयमा नीजि स्रोतका शिक्षकको तलब भत्तामा समुदायले बार्षिक करिब रु ९ लाख बढी जुटाउनुपर्ने बाध्यता रहेको छ । विद्यालयमा १२० जना बालबालिकाहरु अध्ययनरत रहेका छन् ।


                                                    यसरी हुन्छ मह सिकार
बर्षको दुई पटक जेठ र असोज महिना मह काढ्ने उपयुक्त समय हो । मह काढ्नका लागि चोयाको डोरीको भ¥याङ (पराङ), सुरक्षाको लागि चोयाकै डोरी, मह संकलन गर्ने डाली, कोप्नका लागि निगालाको टुप्पोमा फलाम बाँधिएको डग र मह बोक्नका लागि गाग्री लगायतका सामानको बन्दोबस्त मिलाउने गरिन्छ । सुरुको दिनमा जंगल र भिरका देउतालाई खुसी बनाउन र कुनै अप्रिय घटना नहोस भन्ने कामना सहित पुजा गरि धजा बाँध्ने चलन रहेको लामो समयदेखि महसिकारमा संलग्न रहँदै आउनुभएका कुइनेमंगलेका ६० बर्षिय गोरे शेरपुञ्जाले बताउनुभयो ।

भिरमा मह भएको निक्यौल भएपछि पहाडको टुप्पोमा रहेका रुखहरुमा पराङलाई बाध्ने र भिरतर्फ खसाल्ने गरिन्छ । सकभर भिरको शिर र पुछार दुबैतफ हेरालु बस्ने गर्छन् । सम्भव नभएको ठाउँमा एकातर्फ मात्रै बस्ने गरिन्छ । पराङ हुँदै भिरतर्फ भिरौटै झरेपछि धुवाँ सहितको आगोको मुस्लो मौरीका चाका नजिक पु¥याएर धुँवा लगाएर मौरीलाई भगाउने र लठ्ठाउने गरिन्छ । लठ्ठिएको मौरीले कम टोक्ने गर्छ । भिरमा मह नजीक पुगेपछि भिरौटेले मह काढ्ने गर्छन ।

वारीपारी बस्ने हेरालुको कासनमा भिरको शिर र फेदीमा बसेकाहरुले डोरीको सहायताले महलाई सुरक्षित ठाउँमा संकलन गर्छन । यसरी मह सिकार गर्दा मौरीले टोक्ने समस्या संगै आगोको मुस्लोले भिरमा आगलागी भएर दुर्घटना हुने, पहाडको भुगोल कमजोर भएमा ढिस्को खसेर चोटपटक लाग्न सक्ने र सुरक्षा सावधानी आधुनिक नभएर परम्परागत मात्रै हुने भएकाले मह काढ्दै गरेको समयमा पराङबाट खसेर दुखत घटना समेत निम्तने जोखिम रहने गर्छ । मह सिकारको दृष्यले सयौँ बर्ष अघिको जिवनशैलिको झल्को दिने गर्छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l