महाशिवरात्रि पर्वमा गलेश्वरमा भक्तजनको भीड
- ३ फाल्गुन २०८२, आईतवार
- 1 पटक पढिएको
म्याग्दी, ३ फागुन। म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । महाशिवरात्रि पर्वमा बिहानैदेखि गलेश्वर शिवालय मन्दिरमा भक्तजनले पूजाआराधना गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

पवित्र कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामा फैलिएको गलेश्वरधाम मुक्तिनाथ प्रवेशद्धार र नेपालको दोस्रो पशुपतिनाथका नामले परिचित छ । शिवरात्रि पर्वको अवसर पारेर गलेश्वरधाममा भगवान् शिव महादेवको स्वयं उत्पत्ति ज्योतिर्लिङ्गमा पूजाअर्चना गर्न देशका विभिन्न ठाउँबाट भक्तजनहरु आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधव प्रसाद रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, म्याग्दीका साथै पर्वत, बागलुङ, मुस्ताङ, कास्की, तनहुँ, स्याङ्जा, विराटनगर, चितवन, भैरवा लगायतका ठाउँबाट हजारौँको सख्यामा भक्तजनहरु आएका छन् । शिवरात्रि पर्वतमा गलेश्वर शिवालयमा ३० हजार बढी भक्तजन आउने अनुमान गरिएको छ ।
शिवरात्रि पर्वको अवसरमा गलेश्वर शिवालयमा दिउँसो भगवान शिवजीको दर्शन गरी बेलपत्र र कालीगण्डकीको जल चढाएर पूजाआजा गर्ने र रातमा महावक्ति बालेर भजनकृर्तन गाउने चलन छ । विहानैदेखि भक्तजनहरुको चाप बढेको र लाइन लगाएर पालैपालो दर्शन र पूजा गर्ने प्रवन्ध मिलाईएको गलेश्वर शिवालय क्षेत्रविकास कोषका सदस्य सचिब सम्मर बहादुर थापाले जानकारी दिनुभयो ।
भक्तजनहरुलाई सहज रुपमा पूजा गर्ने प्रवन्ध मिलाउन सुरक्षाकर्मी र स्वंयमसेवक परिचालन गरिएको छ भने चोरी र अवान्छित गतिविधि नियन्त्रण गर्न सिसीक्यामेरा जडान गरेर समेत निगरानी गर्ने व्यवस्था गरिएको छ । महाशिवरात्रि पर्वलाई भव्य र सभ्यरूपमा मनाउन र पूजा व्यवस्थापनका लागि विभिन्न २४ वटा उपसमितिमार्फत काम गरिएको कोषले जनाएको छ।
शिवरात्रिको दिन भगवान शिवको पूजा, आराधना र दर्शन गरेको खण्डमा सुख, शान्ति तथा मृत्युपछि पनि सद्गति प्राप्त हुने हिन्दू धर्मावलम्बीको विश्वास रहिआएको छ । दर्शन र पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको गलेश्वर शिवालयमा महाशिवरात्रि, बालाचतुर्दशी पर्व र साउने सोमबारहरुमा विशेष मेला लाग्ने गर्छ ।
