‘मेलम्चीको पीडामा काठमाडौंले मल्हम लगाउनुपर्छ’

  • ४ असार २०७८, शुक्रबार
  • 463 पटक पढिएको

कोशी बेसिनको सहायक नदी मेलम्ची र त्यसको जलाधारसहित बहाव क्षेत्र अहिले बाढीको चपेटामा छ । त्यस क्षेत्रका धेरै नागरिक घर छोडेर हिंड्नुपरेको छ । घर–खेती मात्रै हैन; सडक, पुलसहित विभिन्न सार्वजनिक संरचना बाढीले बगाएको छ ।

यो त्यही मेलम्ची खोला हो, जसको पानी दुई दिन अघिसम्म काठमाडौं उपत्यकावासीले उपयोग गरिरहेका थिए । काठमाडौंको तिर्खा मेटाउने मेलम्चीको रौद्र रूपले त्यस क्षेत्रलाई तहसनहस बनाएको बेला काठमाडौंको दायित्व के होला ?

खानेपानी मन्त्रालयका पूर्वसचिव माधव बेल्वासे संकटमा परेका सबैमाथि सरकारको भूमिका उस्तै र उत्तिकै हुने बताउँछन् । काठमाडौंमा मेलम्चीको उपयोग गर्ने आम उपभोक्ताले पनि सक्दो अतिरिक्त सहयोग गर्नुपर्ने मत राख्छन् बेल्वासे ।

बेल्वासेलाई सम्झना छ, २९ चैत २०७४ मा मेलम्ची खानेपानी आयोजनाको साढे २७ किलोमिटर लामो सुरुङमा ‘ब्रेक थ्रु’ पछि तत्कालीन सांसद तथा वर्तमान स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले भनेका थिए, ‘मेलम्ची बहुमूल्य प्राकृतिक सम्पत्ति मात्रै होइन, हाम्री चेली जस्तै हुन् । आज तपाईंहरू दुलही लिन आउनुभएको छ, हामी खुशी छौं ।’

सोही सुरुङ मार्ग भएर आएको पानी काठमाडौंवासीले गत चैतबाट पिउन थालिसकेका थिए । सुपरीवेक्षण गर्न दुई महीनाका लागि सुरुङ बन्द गरेकै दिन मंगलबार मेलम्ची खोलामा आएको बाढीले धेरै मेलम्चीवासीलाई त्रासदीमा धकेलेको छ ।