लिटल गार्डेनका विद्यार्थीले गरे म्याग्दी–कालिगण्डकी नदीको करिडोर सरसफाई( फोटोफिचर)

  • २२ जेष्ठ २०७४, सोमबार
  • धिरन खत्री
  • 4680 पटक पढिएको

म्याग्दी, २२ जेठ । म्याग्दी सदरमुकाम हुँदै बग्ने पवित्र कालिगण्डकी र म्याग्दी नदीको किनारमा बजारबासीले फालेको फोहोर विद्यार्थीले हटाएका छन् । ४७ औँ विश्व वातावरण दिवसको अबसरमा बेनी स्थिन लिटल गार्डेन एकेडेमिले सोमबार बेनी स्थित कालिगण्डकी नदी र म्याग्दी नदीको किनारमा फालिएको फोहोर सरसफाई गरेका हुन् ।


बेनी नगरपालिका अगाडीको म्याग्दी नदीको किनारदेखि खुलामञ्च हुँदै कालिपुल नजीकै सम्मको कालिगण्डकी नदीको किनारमा रहेको फोहोर लिटल गार्डेनका विद्यार्थी, शिक्षक तथा सञ्चालक सहितको टोलिले व्यवस्थापन गरेका थिए । लिटल गार्डेनले बिगत चार बर्षदेखि विश्व वातावरण दिवशको अबसरमा निरन्तर रुपमा म्याग्दी–कालिगण्डकी करीडोरमा सरसफाई अभियान सञ्चालन गर्दै आएको छ ।


बजार नजिकै रहेको म्याग्दी नदी र कालिगण्डकी नदी किनारमा बजार बासीले फाल्ने फोहोरले प्रदुषित बन्दै गएकाले विद्यालयले बार्षिक रुपमा सामाजिक उत्तरदायित्व बहन गर्दै सरसफाई अभियान सञ्चालन गरेको विद्यालयका संस्थापक निर्देशक बालकृष्ण सुवेदीले बताउनुभयो ।‘‘ यो अभियान भनेको नदी किनारमा फोहोर बाल्नेहरुलाई सचेत गराउने अभियान पनि हो, हामीले यो अभियानलाई विद्यार्थीहरुलाई वातावरण प्रदुषणको कारण र नियन्त्रणको उपायबारे व्यवहारिक ज्ञान दिनेसंग पनि जोडेका छौँ , यो अभियानमा विद्यार्थीले फोहोर व्यवस्थापन त गर्छन नै, त्यसमा पनि अझ बढी व्यवहारिक ज्ञान लिन्छन’’– निर्देशक सुवेदीले भन्नुभयो ।


सरसफाई अभियानको सुभारम्भ गर्दै जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक विश्वप्रसाद रेग्मीले विद्यार्थिहरुद्धारा नदी किनारको फोहोर व्यवस्थापन गरिन रचनात्मक कार्य भएको भन्दै यस्तो कार्यले समाजमा सरसफाई जनचेतना फैलाउन सहयोग पुग्ने धारणा राख्नुभयो । सरसफाई अभियानमा विद्यालयका कक्षा ५ देखि १० सम्मका विद्यार्थी, शिक्षक तथा सञ्चालक, स्रोत व्यक्ति मोहन बानियाँ, विद्यालय निरिक्षक रेग्मी लगायतको सहभागिता रहेको थियो ।


विद्यार्थिहरुलाई किताबी ज्ञान मात्रै नभएर दैनिक जिवनसंग जोडिएको सरसफाई सम्बन्धि समेत व्यवहारिक ज्ञान अभिवृद्धि गराउँदै समाजमा सरसफाई सम्बन्धि जनचेतना अभिवृद्धिको लागि निरन्तर रुपमा सरसफाई अभियान सञ्चालन गरिएको विद्यालयका प्रिन्सिपल प्रशान्तराज खनालले बताउनुभयो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l