एमाले अध्यक्ष ओलीद्वारा सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई समेत ६ महिना निलम्बन

  • १९ चैत्र २०७७, बिहीबार
  • 197 पटक पढिएको

काठमाण्डौँ १९ चैत । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि कारबाहीको घोषणा गरेका छन् । पार्टी हित विपरितको गतिविधि गरेको भन्दै यसअघि स्पष्टीकरण सोधिएका पाण्डे र भुसाललाई ओलीले बिहीबार ६ महिना पार्टी सदस्यबाट निलम्बनको घोषणा गरेका हुन् । ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल र भीम रावललाई पनि ६ महिना निलम्बन गरेका थिए ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीका प्रेस सल्लाहकार सूर्य थापाले उनीहरुको जवाफ चित्त बुझ्ने नभएकाले अध्यक्षले निलम्बनको निर्णय गरेको जानकारी दिए । चैत ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय समिति बैठकले नेपालसहित रावल, पाण्डे र भुसालले पार्टी हित विपरितको गतिविधि गरेको ठहर गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोअनुसार चैत ८ गते महासचिव ईश्वर पोखरेलले चारै जनालाई स्पष्टीकरण सोधेकोमा नेपाल र रावलले चैत १२ मा उल्टै ओलीलाई प्रश्नको वर्षा गर्दै स्पष्टीकरण बुझाएका थिए भने पाण्डे र भुसालले चाहिँ मंगलबारमात्रै स्पष्टीकरण बुझाएका थिए ।