फुड पोइजिङ खानाले ससुराली आएका आमा–छोराको मृत्यु
- २० जेष्ठ २०७४, शनिबार
- गोपाल छन्त्याल
- 4062 पटक पढिएको
बेनी, २० जेठ । म्याग्दीको मँगला–५ छिस्वाङमा ससुराली आएका आमा छोराको फोड पोइजिङका कारण ज्यान गएको छ । सासु–ज्वाईको अवस्था गम्भिर छ । शुक्रबार बिहान ढिडोसँग आलु र भेन्टाको तरकारी खाएका उनीहरु त्यसलगत्तै बेहोस भएका थिए । स्थानीयको सहयोगमा प्राथामिक स्वास्थ्य केन्द्र दरबाङ पुर्याएपनि त्यहाँ उपचार संभव नभएपछि चारैजनालाई बेनी अस्पताल ल्याईएको थियो ।
बेनी अस्पतालमा उपचारका क्रममा रघुगंगा–८ पात्लेखर्कका २० बर्षीय चिना गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक दिवाकर घिमिरेले जानकारी दिए । चिनाकी श्रीमान प्रेम गुरुङ (पबहादुर), १४ महिनाको छोरा र आमा झपीकला प्रज्ञाको अवस्था गम्भिर भएपछि बेनी अस्पताले थप उपचारका लागि पोखरा रिफर गरेको थियो । गुरुङको १४ महिनाको छोराको शुक्रबार राति उपचारको क्रममा पश्मिाञ्चल क्षेत्रीय अस्पताल पोखरामा ज्यान गएको प्रनि घिमिरेले जानकारी दिए ।
‘दुई जना सासु–ज्वाईको अवस्था गम्भिर छ, दुबै जनाको उपचार जारी छ’ प्रनि घिमिरेले भने । दुईबर्ष अघि विवाह गरेका उनीहरु केहिदिन अघि ससुराली आएका थिए । प्रहरीले उनीहरुले प्रयोग गरेको पिठो र तरकारी केन्द्रीय प्रयोगशालामा पठाएको जनाएको छ ।
गोपाल छन्त्याल
म्याग्दी अनलाईन डट् कमका निर्वर्तमान सम्पादक हुन् l