फेन्सी ब्यवसायी शर्माद्धारा आवासीय बिद्यालयका बिपन्न बालबालिकालाई सहयोग

  • २ माघ २०७७, शुक्रबार
  • 1445 पटक पढिएको

बेनी, २ माघ । बेनीका कपडा तथा फेन्सी ब्यवसायी दामोदर शर्माले धवलागिरी गाउँपालिका–७ शिवाङमा सञ्चालित हेम आवासीय माविका बिपन्न बिद्यार्थीहरुलाई पोशाक सहयोग गर्नुभएको छ ।  डि.एण्ड जी फेन्सीका सञ्चालक शर्मा र उहाँकी श्रीमति गिता रिजालले धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनलाई शुक्रबार छ जना बालबालिकाहरुका लागि एक/एक सेट पोशाक उपलब्ध गराउनुभयो ।

आवासीय बिद्यालयमा पढ्ने कक्षा १ का सुदेश भुजेल, कक्षा ३ का असल किसान, कक्षा ५ का हिमबहादुर घर्ति, कक्षा ४ की प्रिति गुरुङ, कक्षा ३ का रेजिना थापा र कक्षा २ का रेजिना थापाका लागि बिद्यालयको सिफारिसमा पोशाक सहयोग गर्नुभएको हो । अभिभावकले पोशाकको ब्यवस्था गर्न सकेका थिएनन् । ब्यवसायी शर्माले हरेक बर्षको जन्मदिनको अवसरमा विभिन्न क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ । यस वर्षको जन्मदिनका क्रममा बेनी बाहिर रहेका कारण शुक्रबार सहयोग गर्नुभएको हो ।

अध्यक्ष पुनले सहयोगदाता शर्मालाई धन्यवाद दिदै सम्बन्धित बिद्यार्थी सामग्री पोशाक पु¥याउने प्रतिबद्धता जनाउनुभयो । गण्डकी प्रदेश सरकारको सहयोगमा यसै शैक्षिक सत्रदेखि सञ्चालन भएको नमुना हेम आवासीय माविको छात्राबासमा बसेर पढ्ने २७ जना बिद्यार्थी छन् । घरदेखि बिद्यालय टाढा भएका, परिवारको कमजोर आर्थिक अवस्था भएका, अभिभावक नभएका र पहिरो पिडित बालबालिकाहरुलाई आवासीय सुबिधा दिएर अध्ययनको ब्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ ।