गलेश्वरमा सहायक ठेकेदारले अल्पत्र छाडेको पुल निर्माणमा जुट्यो मुख्य ठेकेदार (भिडियाे सहित)

  • ७ मंसिर २०७७, आईतवार
  • कमल खत्री
  • 1717 पटक पढिएको

म्याग्दी ७ मंसिर । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगंगा गाउँपालिका–३ जोड्ने रघुगंगा नदीमा निर्माणधिन अबस्थामा अल्पत्र बनेको मोटरेबल पुल निर्माण कार्य अघि बढेको छ । सकिनुपर्ने समयमा आधा पनि भौतिक प्रगति नभएको यस योजनाको सहायक ठेकेदार विवेक निर्माण कम्पनीका सचिन क्षत्री योजनालाई अल्पत्र बनाएर सम्पर्कविहिन भएपछि पुल निर्माण कार्य अल्पत्र परेको थियो ।

हिउँदयाम सुरु हुँदा समेत सहायक ठेकेदार कार्यक्षेत्रमा परिचालन नभएपछि मुख्य ठेकेदार कम्पनी कालिका–गजुरमुखीले नै योजनालाई अघि बढाएको जनाएको छ ।
राहुघाट नदीमा ओपन फाउण्डेशन प्रिस्टेड प्रविधिको पुल बनाउने योजनामा ढिलासुस्ती भएपछि आईतवार प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले स्थलगत निरिक्षण सहित निर्माण कम्पनीका प्रतिनिधिसंग छलफल गरेका थिए ।

लामो समयसम्म काम रोकिएको यस आयोजनालाई जतिसक्दो चाँडो सम्पन्न गर्न प्रजिअ उमाकान्त अधिकारीले निर्देशन दिनुभएको थियो । उहाँले योजनामा आउने बाह्य समस्यालाई प्रशासनले सहजीकरण गरिदिने बताउँदै यस सिजनमा जनशक्ति, निर्माण सामाग्री र उपकरण थप गरेर कामलाई गति दिन कम्पनीका प्रोजेक्ट म्यानेजर नरेन्द्र न्यौपानेलाई निर्देशन दिनुभएको थियो ।

पुलनको दुबैतर्फका पिल्लर उठाउने काम सकिएको र आगामी चैतभित्रमा अधिकाँश निर्माण कार्यलाई सम्पन्न गर्ने कार्यतालिका बनाएर काममा जुटेको न्यौपानेले बताउनुभयो । प्रजिअ अधिकारी, प्रहरी नायब उपरिक्षक किरणजंग कुँभर, शसस्त्र प्रहरीका प्रहरी नायब उपरिक्षक हरिबहादुर गुरुङ लगायतको टोलीले निर्माण कम्पनीका प्रतिनिधि र आयोजनाका प्राविधिकहरुसंग छलफल समेत गर्नुभएको थियो ।

उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरीडोर अन्तरगत रघुगंगा नदीमा ४० मिटर लामो र ११ मिटर चौडाई भएको मोटरेबल पुल बनाउन रु छ करोड २४ लाख तीन हजार ८२५ लागतमा ठेक्का सम्झौता भएको थियो । २०७४ असारमा भएको ठेक्का सम्झौताको म्याद २०७६ चैत २६ गतेसम्म थियो ।

यसैबिच गलेश्वर बसपार्क देखि पुलसम्मको सडक कालोपत्रे गर्न ठेक्का लिएको गजुरमुखी निर्माण कम्पनीले पुल संगै सडकको कामलाई समेत अघि बढाउने जनाएको छ । रु चार करोड ८५ लाख दुई हजार ५८ मा १ किलोमिटर १०० मिटर सडक कालोपत्रे गर्न २०७५ असोज २५ गते भएको ठेक्का सम्झौताको म्याद २०७७ असोज २४ गते सकिएको छ । ११ मिटर चौडाईमा कालोपत्रे गर्ने सम्झौता छ । मोटरेबल पुलको दुई तर्फ पिल्लर उठाउने र सडक फराकिलो बनाएर पर्खाल लगाउने काम मात्र सकिएको छ । पुलको ढलान गर्न तथा सडकमा नाली, टेवा पर्खाल, ग्राभेल र पिच गर्ने काम बाँकी छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l