रुइसेटोलका पहिरो पीडितलाई राखु समाज युकेको करिब १ लाख १९ हजार राहत वितरण

  • ७ मंसिर २०७७, आईतवार
  • 1421 पटक पढिएको

म्याग्दी ६ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीको रुइसे टोलका पहिरो पीडितलाई राखु समाज युकेबाट राहत विरतण गरिएको छ । राखु समाज युकेको पहलमा त्यहाँ रहेका रघुगंगा गाउँपालिका २ राखु भगवती र वडा नम्बर ३ राखु पिप्लेका बासिन्दाहरुबाट संकलन गरेको रु १ लाख १८ हजार ९ सय राहत रकम पीडितलाई वितरण गरिएको हो ।


पहिरोले घर भत्किएका शेरबहादुर शिलाधर, धनविर शिलाधर र अविनास शिलाधरको परिवारलाई रु ३२ हजार ३ सयका दरले तथा हिक्मत भण्डारी र सपना विकको परिवारलाई रु ११ हजारका दरले राहत वितरण गरिएको छ । पीडितको क्षतिको आधारमा राहत वितरण गरिएको जनाईएको छ । वडा कार्यालयमा आयोजित कार्यक्रममा वडा अध्यक्ष रिमबहादुर कटुवाल मार्फत सो रकम वितरण गरिएको थियो । समाजको अगुवाईमा युकेमा रहेका राखुबासी मार्फत सहयोग संकलन गरि पहिरो पीडितहरुको राहतका लागि पठाईएको  माेना युकेका सचिब समेत रहनुभएका राखु  समाजका उपाध्यक्ष  विष्णु भण्डारीले जानकारी दिनुभयो ।

राखु समाज युके 


स्थानीय राजनीतिक दल र संघ संस्थाका प्रतिनिधिहरुको समेत सहभागीता रहेको उक्त कार्यक्रम वडा अध्यक्ष कटुवालको अध्यक्षता र स्थानीय युवा रामजी भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो । पहिरो पीडितहरुले सो अवसरमा सहयोगदाताहरुलाई आभार प्रकट गरेका थिए । सहयोग हस्तान्तरण गर्दै वडा अध्यक्ष कटुवालले प्रवासमा रहेर आफ्नो जन्मथलोमा आईपर्ने हरेक दुखसुखमा साथ दिने राखुबासीहरुको सामाजिक र परोपकारी कार्यको प्रसंसा गर्दै आगामी दिनमा समेत रचनात्मक साथ, सहयोग र सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो । यसैबिच यहाँका पहिरो पीडितलाई मोना युकेले समेत रु ४५ हजार नगद सहयोग पठाएको र सो रकम गाउँपालिकाको रोहोवरमा हस्तान्तरण गरिने जनाईएको छ ।

तस्बिर : माया पाैडेल