म्याग्दीका कोतमन्दिरमा फुलपाती भित्राइयो
- ७ कार्तिक २०७७, शुक्रबार
- 875 पटक पढिएको
म्याग्दी ७ कात्तिक । कोरोना संक्रमणको महामारीको कारण यसबर्ष म्याग्दीको सदरमुकाम बेनी सहित जिल्लाका विभिन्न कोत मन्दिरमा औपचारिक कार्यक्रम नगरी फुलपाती भित्रयाइएको छ । बेनी कोटभण्डार व्यवस्थापन समितिको आयोजनामा बडादशैंको सप्तमीका दिन नेपाली सेनाको अर्थुङ्गेस्थित रहेको श्री बक्स गुल्म ल्याइएको फुलपाती बेनीको कोट मन्दिरमा भित्रयाइएको थियो । कोरोना संक्रमणको महामारीको बखत भीडभाड नगर्न सरकारको आग्रह अनुसार हिन्दुधर्म, संस्कृति र परम्परा अनुसार पुजाआजा गरीएपनि यसबर्ष बोकाको बली र नेपाली सेनाले तोप पड्काउनुका साथै सलामी अर्पण नगरी पूजा गरिएको बेनी कोटभण्डार व्यवस्थापन समितिले जनाएको छ ।
कोट मन्दिरबाट शुरु भएको पञ्चे बाजासहितको ¥यालीले बेनीबजारको परिक्रमा गरी सङ्गमचोकमा पुजा गरेर फुर्सेको बली दिई कोटमा फुलपाती प्रवेश गराइएको बेनपा ८ का अध्यक्ष रामकृष्ण बराईलीले बताए । फुलपाती भित्राएको अवलोकन गर्न आएकालाई टिका लगाइएको थियो । यसबर्ष लक्ष्मीनारायण मन्दिर विकास समितिको टोलीले भजनकिर्तन समेत गरेनन् । कार्यक्रममा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, बेनपा–७ का वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, नेपाली सेनाका श्री बक्सका प्रतिनिधि, विरेन्द्रचोक टोलसुधार समितिका अध्यक्ष दलप्रसाद श्रेष्ठ लगायतस्थानीय संघसंस्थाबाट समेत सहभागिता रहेको थियो ।
वडा दशैंको बेला शक्तिपीठहरुमा भक्तजनहरुको ठूलो भीडभाड हुने गरेकोलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले मन्दिर आसपासका क्षेत्रमा पूजाआजामा रोक लगाएको छ । यसैगरी शुक्रबार नै म्याग्दी जिल्लाका विभिन्न गाउँगाउँमा रहेका कोट मन्दिरहरुमा पनि फुलपाती भित्रयाइएको छ। बेनी नगरपालिका अन्तर्गत घतान कोट, पुलाचौर कोट, चिप्लेटीको निशानकोट, गाजनेको डढेकोट, ज्यामरुककोट तथा , भगवती कोट, ताकमको ताकम कोटलगायतका दुर्गा भगवतीको मन्दिरमा धार्मिक विधि अनुसार पुजाअर्चना गरी फुलपाती भित्रयाइएको स्थानीयवासीले बताएका छन् ।