सडकको बाढी नियन्त्रण नहुँदा राहुघाटबस्ती जोखिममा (तस्विर सहित )

  • १५ असार २०७७, सोमबार
  • धिरन खत्री
  • 1385 पटक पढिएको

म्याग्दी, १५ असार । म्याग्दीको रघुगंगा गाउँपालिका– ३ राहुघाट बस्ती बाढीको चपेटामा परेको छ । गलेश्वर, पिप्ले हुदै भगवती पुग्ने सडक स्तरोन्नती योजनामा ब्यवस्थित तवरले भलबाढी नियन्त्रण नगर्दा गलेश्वरपारी पट्टी राहुघाट नदीको किनारमा रहेको बस्ती जोखिममा परेको हो ।


गलेश्वरदेखि पिप्ले खण्डमा सडक विस्तार गर्दा नाली ब्यवस्थापन नगरिदाँ सडकहुदैँ जम्मा भएको पानी बाढीको रुपमा बग्दा सडक भत्काउदै बस्तीतर्फ पस्न थालेपछि त्रास सिर्जना स्थानीयबासी मिम थकालीले बताउनुभयो । उहाँका अनुसार गलेश्वर राहुघाटदेखि पिप्ले खण्डका अधिकाँश घुम्तीमा बाढीले पहिरो खसालेको छ । सडकलाई बाढीले क्षत्रविक्षत बनाएपछि सवारीसाधन आवातजावात बन्द भएको छ ।


गलेश्वरदेखि भगवती कालोपत्रेसहित स्तरोन्नतीका लागि गण्डकी प्रदेश सरकारमार्फत बजेट विनियोजन भएर काम भइरहेपनि निर्माण ब्यवसायीको ढिलासुस्ती र लापरबाहीले सडक हुदै बस्तीतर्फ बाढी पस्ने जोखिम बढेको स्थानीयबासीको गुनासो छ । बाढीको चपेटामा परेको राहुघाटमा २१ घरधुरीको बसोबास रहेको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l