कालीगण्डकी कोरिडोर सवस्टेशन लगाईएको ताला खुलाउने सहमती

  • १४ असार २०७७, आईतवार
  • धिरन खत्री
  • 1247 पटक पढिएको

म्याग्दी, १४ असार । म्याग्दीको अन्नपूर्ण–३ दानामा २२० केभी क्षमताको कालीगण्डकी प्रसारण कोरीडोर सबस्टेशनमा  लगाइएको ताला खोल्ने सहमति भएको छ । आयोजना प्रभावित क्षेत्रमा सामुदायिक विकासका कार्यक्रमका लागि गरिएका मागको सुनुवाई नहुदाँ असार १० गते सबस्टेशनको प्रवेशद्धारमा स्थानीयले तालाबन्दी गरेका थिए ।


आईतबार जिल्ला प्रशाशन कार्यालय एवं मुआब्जा निर्धारण समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको अध्यक्षतामा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर गर्वुजा, मालपोत अधिकृत कृष्णबहादुर कार्की, आयोजना प्रमुख चन्दन कुमार घोष र प्रभावित दानाका बासीको उपस्थितमा चार बुदे सहमति पछि ताला खोल्ने सहमति भएको हो ।


सहमतिमा बेनी जोमसोम सडकबाट ज्ञानप्रकाश माविसम्म जाने सडकको स्तरोन्नती, सृजनशिल महिला सहकारी संस्था, रुईसे युवा क्लवका खेलमैदान र सामुदायिक भवन लगायतको वातावरणीय प्रभाव न्युनीकरणका लागि आयोजनाको सामाजिक उत्तरदायित्व अन्तरगत हाल २० लाख मध्य १० लाखबाट तत्काल काम गर्ने सहमति भएको छ ।


त्यस्तै नेपाल विद्यतु प्राधिकरण र कालीगण्डकी प्रसारणा कोरीडोर आयोजना सवस्टेशन निर्माणपछि प्रभावित दानाबासीलाई गुणस्तरीय विद्युत उपलब्ध गराउने र क्रमिक रुपमा अन्नपुर्ण गाउँपालिकाको सबै वडाहरुमा गुणस्तरीय विद्युत पु¥याएर लोडसेडिङ्ग मुक्त गराउन सम्वन्धित निकायमा पठाउने सहमति भएको प्रजिअले जानकारी दिए ।

त्यस्तै दानाबासीको मागहरुलाई प्राथमिकताका साथ राखेर सम्वोधन गर्दै जाने स्थानीयबासीहरुद्धारा निर्माधिन सवस्टेशन निर्माणमा ताला खुलाएर पुर्णूरुपमा सहयोग गर्ने निर्णय भएको छ । भने जलथले देखि द्धारेखोला पुलसम्मको सडकमा हाल गएको पहिरोबाट सडक अवरुद्धको मर्मत सम्भारको ब्यवस्था तत्काल आयोजनाबाट मिलाउने निर्णय गर्दै आयोजनाको गेटको ताला खुलाउने समहमति भएको हो ।

स्थानीयले विभिन्न समयमा मागहरु राख्दै बैठक बोलाउदाँ आयोजनाबाट सहभागि नहुने र सम्झौताअनुसार काम नभएपछि स्थानीयहरु मिलेर असार १० गते सवस्टेशनको गेटमा तालाबन्दी गरेको संघर्ष समितिका संयोजक सुरत केसीले बताए ।

दाना र पर्वतको खुर्कोटमा सब स्टेशनका साथै ३९ दशमलब ६ किलोमिटर दुरीको प्रशारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । असार महिनाभित्र सबस्टेशन चार्ज गर्ने आयोजनाको तयारी छ । म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी तथा सहायक नदी र मुस्ताङमा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादीत बिजुली केन्द्रिय ग्रिडमा जोड्न एशियाली विकास बैङ्कको सहयोगमा प्रशारण लाइनका साथै दाना र खुर्कोटमा सब स्टेशन बनाउन लागिएको हो ।

प्रशारण लाइन र सबस्टेशन बनाउन सन् २०१६ मा रु. दुई अर्ब ९० करोडमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग नेपाल विद्युत प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो । २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना करिब दुई वर्ष ढिला गरि सकिन लागेको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l