बरेङ गाउँपालिकाकाे आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

  • ११ असार २०७७, बिहीबार
  • 1329 पटक पढिएको

गाउँसभाका सभाध्यक्ष महोदय,

 सभाका सदस्यहरु,

उपस्थित गाउँपालिकाका उपाध्यक्षज्यू, गाउँकार्यपालिकाका सदस्यज्यूहरु, गाउँसभाका सदस्यज्यूहरु, प्रमुख अथिति ज्यू, प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिकाका कर्मचारीहरु, पत्रकारज्यूहरु एवं उपस्थित सम्पूर्ण महानुभावहरु,

  1. संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई स्थानीय तह देखि नै सुदृढीकरण गरी गाउँपालिकाको समृद्धि र विकास तर्फ अगाडि बढिरहेकै समयमा कोभिड-१९ नामको कोरोना भाइरसवाट सिर्जित विश्वव्यापी महामारीले निम्त्याएको चुनौतीपूर्ण परिस्थिति र बन्दावन्दी बीच आज नेपालको संविधान वमोजिम गठित स्थानीय सरकारको प्रमुखको रुपमा वरेङ गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम यस गरिमामय सभा समक्ष प्रस्तुत गर्दैछु ।
  2. यस चुनौतीपूर्ण घडीमा गाउँसभालाई सम्वोधन गरिरहँदा म राष्ट्रलाई निरङ्कुश सामन्ती शासनप्रणालीको अँध्यारो युगबाट जनताका प्रतिनिधिमार्फत राज्य सञ्चालन गर्ने संघीय लोकतान्त्रिक गणतन्त्रको उज्यालो युगमा पुर्याउने क्रममा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । राष्ट्रियता,लोकतन्त्र र जनजीविकाको आन्दोलनमा अगुवाइ गर्नुहुने सम्पूर्ण अग्रजहरुको योगदानको उच्च सम्मानसहित स्मरण गर्न चाहन्छु ।
  3. यसैबीचमा गाउँसभाले गाउँसभा सदस्य,वडा नं. ३ का वडा अध्यक्ष तथा न्यायिक समितिको सदस्य समेत रहनु भएका जनसेवामा प्रतिवद्ध नेता पुर्न बहादुर खनाललाई गुमाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु ।

 

  1. कोभिड-१९ का कारण विश्वभर संकट पैदा हुनुका साथै उल्लेख्य रुपमा जनधनको क्षति भएको छ । नेपालमा संक्रमण फैलन नदिन गरिएको बन्दाबन्दीको बीचमा हाम्रो गाउँपालिकामा भारतवाट आएका नागरिकहरुमा संक्रमण देखिन थालेको छ । यस महामारीका कारण स्वदेश तथा विदेशमा जीवन गुमाउनुहुने नेपालीलगायत विश्वभरका नागरिकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दछु । यस वरेङ गाउँपालिका लगायत नेपालभर र विदेशमा समेत उपचाररत दिदीबहिनी तथा दाजुभाइहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
  2. कोभिड-१९(कोरोना भाइरस) रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा स्वैच्छिक रुपमा आर्थिक, स्वास्थ्य सामग्री तथा जिन्सी सामान सहयोग गर्नु हुने सम्पूर्ण व्यक्ति, बैंक तथा वित्तीय संस्था, सरकारी, गैर सरकारी संस्था एवम् सम्पूर्ण महानुभावहरुप्रति हार्दिक धन्यवाद दिन चाहन्छु ।

 

  1. संकटको यस घडीमा एकजुट भई महामारीको रोकथाम,नियन्त्रण र उपचारको कार्यमा अग्रपंक्तिमा अहोरात्र खटिनु हुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, शिक्षक, सरसफाइकर्मी, सवारी चालक लगायत सबैको योगदानको उच्च प्रशंसा गर्दछु । जोखिमपूर्ण यस परिस्थितिमा आ-आफ्नो तहबाट खटिनु हुने जनप्रतिनिधि,राजनीतिक दल,सञ्चारकर्मी,व्यवसायी,निजी क्षेत्र,नागरिक समाज लगायत सबै व्यक्ति तथा संघसंस्थालाई धन्यवाद व्यक्त गर्दछु । हामीले जित्नै पर्ने यो रोग विरुद्दको लडाईमा सबैको थप ऐक्यवद्धता,सहकार्य,धैर्यता र आत्मविश्वासको आवश्यकता रहको छ । “जीवन रहे जीवन सुधार्न र सिँगार्न सकिन्छ” भन्ने मान्यतालाई आत्मसात गर्दै यस महामारी विरुद्धको अभियानमा धैर्यतापूर्वक जुट्न सबैलाई आह्वान गर्दछु ।
  2. ऐतिहासिक प्रमाण,लिखत,दस्तावेज र नक्सा समेतका आधारमा मित्रराष्ट्र भारतसँगको सीमा सम्वन्धमा विगत लामो समयदेखि बाँकि रहेको र समय समयमा उठिरहेको विषय लिम्पियाधुरा,लिपुलेक र कालापानी क्षेत्रको नेपालको भूमिलाई समावेश गरी नेपालको नक्सा जारी, संविधान संशोधन गरी निशाना छाप समेत परिमार्जन गरेकोमा सम्माननीय प्रधानमन्त्रीज्यू र नेपाल सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
  3. लोकतन्त्रको आधारस्तम्भको रुपमा एवं जनताले महसुस गर्न सक्ने र भेट्न सक्ने सरकारको रुपमा रहेको स्थानीय सरकारसँग जनताको विकास प्रतिको उच्च आकांक्षालाई समयोचित सम्वोधन गर्दै समग्र गाउँपालिका समृद्धितर्फ तिव्र गतिको यात्रा तय गर्नु पर्ने अवस्थामा हामी स्थानीय सरकार रहेका छौँ ।यस विचमा स्थानीय सरकारको स्वरुपलाई संविधान प्रदत्त व्यापक क्षेत्राधिकार भएको वलियो स्थानीय सरकारको रुपमा रुपान्तरण गर्ने प्रक्रियालाई सँगसंगै र सावधानीपूर्वक अघि बढाउनु परेको छ । यस्तो जटिल र चुनौतिपूर्ण मोडमा लोकतन्त्रको संस्थागत विकास गर्न सदा सजग र संवेदनशील रहि हाम्रो सरकार काम गर्दैछ,नतिजा ल्याउँदैछ र अघि बढ्दैछ ।

 

  1. सिमित स्रोत र साधनको अधिकतम परिचालन गरी गाउँपालिकाको समष्टिगत विकास गर्ने स्पष्ट दृष्टिकोण,गन्तव्य र लक्ष्य सहित तीव्र गतिमा अगाडि बढिरहेको अवस्थामा कोभिड-१९ को संक्रमणको सामना गर्नु पर्दा गाउँपालिकाको सेवाप्रवाह, विकास निर्माण लगायतका समग्र गतिविधि प्रभावित भएका छन् । यस विषम परिस्थितिमा वरेङ गाउँपालिकाले कोरोना भाइरस रोगथाम तथा नियन्त्रण कार्यमा हाँसिल गरेका केही महत्वपूर्ण उपलव्धिहरु सम्मानित सभा समक्ष प्रस्तुत गर्न चाहन्छु ।
  2. मिति २०७६ चैत्र १० गते बरेङ गाउँपालिकाको आयोजनामा सम्पूर्ण जनप्रतिनिधि र सरोकारवालाहरुको बीचमा एक दिने महामारी नियन्त्रण तथा विपद् व्यवस्थापन सम्बन्धी गोष्ठी सम्पन्न भई टोलस्तरीय सचेनता तथा निगरानी समिति देखि उच्चस्तरीय कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समिति लगायतका संस्थागत संयन्त्रहरु हाल कोरोना विरुद्धको अभियानमा क्रियाशिल रहदैं आएका छन् ।
  3. मिति २०७६ चैत्र १८ गते गाउँपालिका अध्यक्ष बाट गाउँबासीका नाममा करिव ३० मिनेट कोरोना भाइरस न्यूनिकरण, रोकथाम तथा व्यवस्थापनका विषयमा सामुदायिक रेडियो विहानी ८९ मेगाहर्ज बाट प्रत्यक्ष प्रसारण हुने गरी विशेष सम्वोधन,गर्भवती र सुत्केरी महिलाहरुका लागि पोषण प्याकेज, कोरोना विमा, दीर्घ रोगीहरुका लागि निःशुल्क औषधि वितरण, अत्यावश्यक तथा आवश्यकीय औषधि र स्वास्थ्य सामाग्रीको प्रवन्धको सुनिश्चितता मार्फत स्थानिय सरकारको अनुभूति दिने गरी अभिभावकीय भूमिका निर्वाह गर्दै आएका छौं ।

 

  1. दैनिक ज्यालादारी, गुजारा व्यवसाय,अति सिमान्तकृत परिवार र सडक जीवन व्यतीत परिवार गरी परिवारलाई ४ भागमा विभक्त गरी राहत सम्बन्धी मापदण्डका आधारमा हालसम्म २४६ घर परिवारलाई राहत वितरण गरिसकिएको छ ।

 

  1. SEE रेडियो तयारी विशेष कार्यक्रम,हेलो अभिभावक कार्यक्रम,घर-घरमा शिक्षक, बालकक्षा देखि कक्षा ३ सम्मका विद्यार्थीहरुलाई अतिरिक्त सिकाई सामाग्रीहरु र कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई गाउँपालिकाको सहजिकरणमा विद्यार्थीको हात- हातमा पाठ्यपुस्तक वितरण लगायतका कार्यक्रम मार्फत शैक्षिक गतिविधिलाई निरन्तर क्रियाशील राख्दै अगाडी बढिएको छ ।

 

  1. स्थानीय स्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण,प्रवर्दन र स्तरीकरण गर्न विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम, कोचिङ कक्षा सञ्चालन, पालिकास्तरीय शैक्षिक उपलव्धि मापन परीक्षा,राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता,पालिकास्तरीय अतिरिक्त क्रियाकलाप लगायतका शैक्षिक गतिविधि सञ्चालन गरिएको छ । आधारभूत तहको परीक्षा सञ्चालन,अनुमगन र व्यवस्थापन गर्न छुट्टै कार्यविधि निर्माण गरि कक्षा आठको परिक्षा मर्यादित एवं व्यवस्थित रुपमा सम्पन्न गरिएको छ । प्रारम्भिक वाल विकास केन्द्रबाटै विद्यालयको शैक्षिक सुधार गर्न कक्षाकोठा व्यवस्थापनलाई विशेष जोड दिईएको छ ।

 

  1. सामुदायिक रेडियो विहानी ८९ मेगाहर्जको सहकार्यमा COVID-१९ विशेष रेडियो कार्यक्रम,सन्देशमूलक सूचना एवं शिक्षकहरुको नेतृत्वमा गठित टोलस्तरीय निगरानी तथा सचेतना समिति लगायतका संयन्त्रमार्फत कोरोना रोग सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्यलाई  उच्च प्राथमिकता दिईएको छ ।

 

  1. प्रकोप विपद् व्यवस्थापन कोषको स्थापना गरिएकोले विभिन्न व्यक्ति एवं निकायबाट उल्लेखनीय रुपमा योगदान स्वरुप सहयोग प्राप्त भएको छ । साथै टोलस्तरीय निगरानी तथा सचेतना समितिको विशेष अग्रसरतामा क्वारेन्टिन स्थापना, सञ्चालन तथा व्यवस्थापनको कार्य प्रसंशनीय नै छ । हाल सम्म भारत लगायतका मुलुकबाट आएका २१४ जना नागरिकहरु मध्ये ७४ जनाको RDT, १४६ जनाको PCR स्वाव संकलन गरिएकोमा ४३ जनाको रिपोर्ट प्राप्त भएको जसमा ८ जनाको कोरोना संक्रमण पुष्टि भएकाले धौलागिरी क्याम्पसको आइसोलेशन कक्षमा पठाइएको र संक्रमण पुष्टि नभएका २३ जनालाई आ-आफ्नो घरमा बिदाई गरिएको छ ।

 

  1. स्थानीय सरकार स्थापना पश्चातको तीन वर्षको अवधिमा चार वटा नीति तथा कार्यक्रमहरुको माध्यमबाट संविधान तथा कानुनप्रदत्त अधिकार बमोजिमका कार्य जिम्मेवारीहरु व्यवस्थित र नतिजाउन्मुख रुपमा सम्पादन गरी वरेङ गाउँपालिका खोजिने,देखिने र भेटिने सरकारको रुपमा स्थापित हुन सफल भएको छ । “समृद्ध नेपाल सुखी नेपाली” को राष्ट्रिय सोचलाई आत्मसात गर्दै “समृद्ध बरेङ,सुखी बरेङबासी” को दीर्घकालिन सोच प्राप्त गर्न आर्थिक,सामाजिक र साँस्कृतिक विकासका लक्ष्य सहित नीति र कार्यक्रम व्यवस्थित रुपमा अघि बढाइएका बेला हामी महामारीका कारणले उत्पन्न परिस्थितिको सामाना गर्न बाध्य भएका छौं ।

 

  1. नेपालको संविधानले परिकल्पना गरेको तीन तहको सरकार,त्यसका अधिकार क्षेत्र र संघ,प्रदेश र स्थानीय सरकारबिचको सहकार्य, समन्वय र सह-अस्तित्व समेतको मर्म अनुसार नेपाल सरकार र प्रदेश सरकारले प्रस्तुत गरेको दिगो विकासको लक्ष्य प्राप्तिसहितको नीति तथा कार्यक्रम समेतलाई हृदयङ्गम गरी हाम्रो स्थानीय सरकार सञ्चालनको तीन वर्षको अनुभव र गाउँसभा मार्फत पारित ऐन, नियम तथा कार्यविधि समेतका आधारमा आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम तय गरिएको छ ।

 

गाउँसभाका सदस्यज्यूहरु,

  1. स्थानीय सरकारले जनभावना, जनआकांक्षा र आवश्यकताका आधारमा स्थानीय नागरिकको जीवनस्तरमा सुधार गर्न दृढ संकल्पका साथ अगाडि बढिरहेको छ । भौतिक संरचना पर्याप्त नहुनु, कर्मचारी र अन्य स्रोतसाधनको कमी हुनु तथा संघ,प्रदेश र स्थानीय तहवीच आयोजनाको वर्गीकरण समयमा नहुनु जस्ता अनेकौं प्रतिकूलताका बाबजुद स्थानीय सरकारले हाँसिल गरेका केही महत्वपूर्ण उपलव्धिहरु यस गरिमामय सभा समक्ष प्रस्तुत गर्न चाहन्छु ।
  2. नेपालको सन्दर्भमा स्थानीय सरकार नवीनतम् प्रयोग भएकाले स्थानीय सरकारको सुशासन, विकास र समृद्धिको लागि स्थानीय सरकार सञ्चालनका क्रममा स्थानीय तहलाई प्राप्त अधिकार क्षेत्रभित्रका विषयमा ४० वटा महत्वपूर्ण ऐन, नियम, निर्देशिका, कार्यविधि र मापदण्ड जारी गरी कार्यान्वयनमा आएका छन् । यसबाट स्थानीय सरकारलाई संविधान एवं कानुन वमोजिम प्रदत्त विधायिकी अधिकारको संस्थागत हुंदै गएको र गाउँपालिकामा कानुनी र कार्यविधिगत आधार तयार भई काम कारवाहीमा थप सहजता आएको छ ।

 

  1. स्थानीय तहमा न्यायिक अभ्यासलाई संस्थागत गर्न नेपालको संविधान र कानुन वमोजिम न्यायिक समिति गठन भई न्यायिक समिति समक्ष दर्ता भएका जम्मा ६ वटा विवादहरुलाई आपसी छलफल र मेलमिलापको माध्यमबाट समाधान गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को दफा ४७ ले व्यवस्था गरेको न्यायिक समितिको अधिकार क्षेत्रको मेलमिलापको माध्यमबाट विवाद समाधान गर्न प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन गरी उक्त केन्द्रको समन्वयकर्ता समेत तोकिएको छ । न्यायिक समितिबाट सूचिकृत गरेको मेलमिलापकर्ताबाट गरिने मेलमिलापको कार्यलाई प्रभावकारी बनाउन मेलमिलापकर्ता र समन्वयकर्ताहरुका लागि तीन दिने अनुशिक्षण कार्यक्रम सम्पन्न गरिसकिएको छ ।

 

  1. गाउँपालिका भित्रको ऐतिहासिक महत्व,पुरातात्विक वस्तु,कला,संस्कृतिको संरक्षण तथा पर्यटनको प्रवर्धन गर्न गाउँपालिका अन्तर्गत पर्ने सत्यवती मन्दिर र कालीलेक सिद्धथान मन्दिरलाई साँस्कृतिक र कौडे डाँडा, भैँसीखोला झरना,भित्रिवन देउराली र भातेपोखरालाई पर्यटकीय क्षेत्रको रुपमा घोषणा गरिएको छ ।
  2. ढुंगा, गिट्टी, बालुवा, माटो आदि प्राकृतिक एवं नदीजन्य वस्तुको विक्री तथा निकासी शुल्क दस्तुर संकलन गर्न गाउँपालिका क्षेत्रभित्रका वगरहरुको प्रारम्भिक वातावरणीय परीक्षण गरी सो सम्बन्धी आय ठेक्का समेत सम्झौता गरी स्थानीय कर संकलन गरिनुका साथै  व्यवसाय दर्ता, होमस्टे दर्ता लगायत नयाँ आन्तरिक स्रोतको दायरा फराकिलो बनाई चालु आर्थिक वर्ष ०७६/७७ मा अनुमानित आन्तरिक आय प्राप्त हुने संशोधित अनुमान छ ।

 

  1. यस संकटको घडीमा समेत गाउँपालिकाले सहभागितामूलक योजना तर्जुमा प्रकृयामार्फत चालु आर्थिक वर्ष ०७६/७७ मा स्थानीयस्तरको विकासका लागि १५९ वटा वार्षिक योजना बनाई कार्यान्वयन गर्दै गर्दा जेष्ठ मसान्त सम्म उपभोक्ता समिति मार्फत कार्यान्वयनमा भएका पूँजिगत प्रकृतिका योजनाहरुको प्रगति करिव ८५ प्रतिशत  पुगेको छ । त्यस्तै संस्थागत सुशासन र सेवा प्रवाह सँग जोडिएका योजना तथा कार्यक्रम करिव सम्पन्न भै सकेको अवस्था छ । यसवाट जनप्रतिनिधिहरुको भूमिका नीति निर्माण र विकास निर्माणको अगुवाइ,अनुगमन एवं जनताको सुख दु;खमा साथ दिने गरी हाम्रो सरकार सशक्त हुँदै गइहेको छ ।

 

  1. हाम्रो सरकारले आफ्नो कार्य सञ्चालन गर्दा लागत न्यूनीकरण, स्रोत साधनको अधिकतम उपयोगको लागि नेपाल सरकार तथा प्रदेश सरकार सँग साझेदारी एवं संयुक्त व्यवस्थापनमा बृहत पूर्वाधार निर्माण लगायतका कार्य गर्दै आएको छ । जस्तै पेरिवाङ-वरेङ सडक निर्माणमा नेपाल सरकार र वरेङ-नाम्दुक सडक निर्माणमा स्थानीय पूर्वाधार कार्यक्रम सँग साझेदारी गरी समन्वय,सहकारीता र सहअस्तित्वको सिद्धान्तलाई स्विकार गरेका छौँ ।

 

  1. नयाँ संरचना,कर्मचारी अभाव, भौगोलिक कठिनाई,कानुनी अस्पष्टता र अन्यौलताका बावजूद पनि सार्वजनिक सेवा प्रवाह र सुशासनलाई पहिलो प्राथमिकता दिंदै जनताको सुख दु;खमा अभिभावकत्व ग्रहण गर्दै वडाहरुमा घुम्ती सेवा मार्फत गाउँ गाउँमा स्थानिय सरकारको अनुभूति गराउन हाम्रो सरकार सदा प्रयत्नशील छ ।

 

  1. प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्न पाउने संवैधानिक अधिकारलाई प्रत्याभूत गर्न यस स्थानीय सरकाले स्वास्थ्यकर्मी लगायतको सुविधा सहित ३ वटा ठाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरी स्वास्थ्य सेवा प्रवाह गरिएको छ । त्यसैगरी अपाङगता भएका नागरिकहरुको सेवाको लागि सवै वडाहरुमा चिकित्सक सहितको टोली मार्फत स्वास्थ्य परीक्षण गरिएको छ । साथै स्वास्थ्य सम्वन्धी विविध कार्यक्रम जस्तै उमेर सत्तरी कार्यक्रम मार्फत जेष्ठ नागरिकको घरघर सम्म स्वास्थ्य सेवा विस्तार गरी नागरिकको मौलिक हकप्रति हाम्रो सरकार प्रतिवद्ध छ ।

 

  1. पूरानो चिकित्सा आयुर्वेद प्रति जागरण ल्याउन सवै वडामा आयुर्वेद कार्यक्रम सहित आर्थिक रुपले विपन्न,अशक्त र असहाय अवस्थामा रहेका,असहाय एकल महिला,अपाङ्गता भएका,वालवालिका,आफ्नो हेरचाह आफैँ गर्न नसक्ने नागरिकलाई नागरिक सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । यस्ता कार्यक्रमलाई आगामी दिनमा थप सुदृढ बनाई निरन्तरता दिईनेछ ।

 

  1. बरेङ गाउँपालिका वडा नं. १ मा सामुहिक भैँसीपालन, वडा नं. २ मा अलैंची खेति तथा पुरुषोदय माध्यमिक विद्यालयमा सञ्चालित प्राविधिक धार तर्फको कृषि विषयको शिक्षा, वडा नं. ३ मा फलफुल खेति, वडा नं. ४ मा बाख्रापालन र वडा नं. ५ मा आलु खेति गरिसकिएकोमा सवै क्षेत्रबाट सकारात्मक प्रयत्न भएका छन ।

 

  1. कर्मचारी समायोजन एवं व्यवस्थापन पश्चात भएको कर्मचारीको पूर्ति संगै कर्मचारीहरुको उच्च कार्यसम्पादन एवं लगनशिलताका कारण सेवा प्रवाहमा चुस्तता आएको छ । अझै विश्वव्यापी महामारी कोभिड­-१९ ले सिर्जना गरेको विषम परिस्थितिले मुलुक बन्दाबन्दीको अवस्थामा रहँदा पनि राष्ट्रसेवक कर्मचारीहरु नियमित रुपमा कार्यालयमा उपस्थित भइ उच्च मनोबलका साथ सेवा प्रवाह गरी स्थानीय सरकारका प्रतिफलहरुलाई नागरिक समक्ष पुर्याउन भएको सकारात्मक भूमिकाको सदा सर्वदा स्मरण गरिनेछ । नवप्रवर्तन र सृजनशील कार्य गर्ने सबै तहका राष्ट्रसेवकहरुलाई उत्प्रेरित गर्न बजेटमा आवश्यक व्यवस्था गरिनेछ ।

 

 

  1. गाउँपालिका भित्रका नागरिकहरुको आवास सुधार कार्यक्रम सञ्चालन गर्न सो सम्वन्धी छुट्टै कार्यविधि निर्माण गरी गाउँपालिका भित्र रहेका सुकुम्बासी, घरवारविहिन र खरको छानो भएका तथा शौचालय विहिन परिवारका लागि रंगिन जस्तापाताको व्यवस्थापन गर्न आपूर्तिकर्ता सँग खरिद सम्झौता भई सकिएकोमा कोरोना भाइरस रोगको महामारीको कारणबाट आपूर्ति हुन नसकेकाले आवश्यक समन्वय गरी  छिट्टै व्यवस्थापन गरिनेछ ।

 

  1. गाउँकार्यपालिकाको कार्यालय र सो अन्तर्गतका कार्यालय तथा आधारभूत र माध्यमिक विद्यालयहरुमा विधुतीय हाँजिरी जडान गरी विधुतीय शासनको अभ्यास गरिएको छ । त्यस्तै गाउँपालिकाको कार्यालयको सुरक्षाका लागि सिसि क्यामेरा जडान गरिएको छ । पत्रकारिता कार्यक्रम मार्फत सञ्चार जगतको विकास र विस्तार  सम्बन्धी आधारभूत पत्रकारिता तालिम सम्पन्न गरिसकिएको छ । यस्ता कार्यक्रम  मार्फत स्थानीय सरकारको सुचनाको सही प्रवाहीकरण गर्ने अपेक्षा लिईएको छ । त्यस्तै सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत हाम्रो सरकारको सेवा प्रवाह प्रतिको आम नागरिकको धारणा बुझ्ने कार्य समेत गरिरहेका छौँ ।

 

  1. अनुदानमा आधारित विविध कृषिजन्य सामाग्री वितरण गरी कृषिमा आधुनिकीकरण गर्न खोजिएको छ । बरेङ गाउँपालिकाले मासु, अण्डा र दुधमा आत्मनिर्भर कार्यक्रमलाई अनुदानमा आधारित बनाई भकारो सुधार, पशु आहार र पशु स्वास्थ्य कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको   छ ।

 

  1. हाम्रो सरकारले गाउँपालिका भित्रका असाध्य रोग लागेका विपन्न नागरिकको स्वास्थ्य उपचारार्थ आर्थिक सहायता समेत तत्कालै सम्वोधन गरी स्थानीय सरकारको अनुभूति दिने प्रयास गर्दै आएको छ ।
  2. असल बुहारी सम्मान,असल राष्ट्रसेवक सम्मान, वडा नं. ५ का वडा अध्यक्षलाई समयमै कार्यसम्पादन गरेकोमा गाउँकार्यपालिकाबाट गरेको सम्मान, आमा समूहका पदाधिकारीहरुका लागि नेतृत्वसिप विकास, उदघोषण तथा पत्रकारिता तालिम, सुत्केरी महिलालाई रातो भाले, पोसिलो झोला वितरण,घर-घरमा अपाङगता परिचयपत्र वितरण,सामुदायिक वन साझेदारी लगायतका असल एवं सृजनशिल कार्यक्रम मार्फत समन्यायिक,समतामूलक र समृद्ध समाजको निर्माण गर्न हाम्रो सरकार दृढ सङ्कल्पित छ ।

 

  1. यस वर्षका हाम्रा उपलव्धिहरु उत्साहवर्धक छन् । हाम्रो स्थानीय सरकारले लिएका नीतिहरुको कार्यान्वयनबाट स्थानीय नेतृत्वको विकास र स्थानीय शासन पद्धति सुदृढ हुने प्रशस्त आधारहरु तयार भएका छन् । हरेक दिन एक कदम अगाडि बढ्ने हाम्रो सरकारको दृष्टिकोण र शैलीका  कारण सम्पूर्ण वरेङवासी नागरिकमा उत्साहको सञ्चार भएको छ ।

 

गाउँसभाका सदस्यज्यूहरु,

  1. अब म गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित नीति तथा कार्यक्रम तर्फ यहाँहरुको ध्यानाकर्षण गराउन चाहन्छु ।
  2. यस प्रस्तावित नीति तथा कार्यक्रमले मानवीय क्षमता विकास, पूर्वाधार निर्माण, उद्धमशीलता र रोजगारी वृद्धि, स्थानीय नेतृत्व विकास, दिगो विकास, प्रभावकारी सेवा प्रवाह र कानुनी शासनको प्रत्याभूतिलाई प्राथमिकतामा राख्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने तर्फ केन्द्रित छन् ।

 

  1. झुले जस्ता जोखिमयुक्त बस्ती पहिचान गरी सुगम यातायातको व्यवस्थासहितको एकीकृत सामूहिक आवासको व्यवस्थापन गरिनेछ । साथै सुकुम्वासी तथा विपन्न नागरिकको पहिचान र अभिलेख व्यवस्थापनलाई व्यवस्थित गरी सुकुम्वासी तथा विपिन्न नागरिक सम्वन्धी जीविकोपार्जन र वसोवासको व्यवस्थापनका लागि  उचित प्रवन्ध गरिनेछ । साथै यसका लागि गाउँपालिका अध्यक्ष सुकुम्वासी व्यवस्थापन तथा आवास सुधार कार्यक्रम सञ्चालनमा ल्याईनेछ  ।

 

  1. गाउँपालिकाको कार्य सम्पादनलाई छिटोछरितो, प्रविधिमैत्री, पारदर्शी र गुणस्तरीयता कायम गर्दै सूचना तथा प्रविधिको अधिकतम उपयोग मार्फत शासन प्रणालीलाई स्थानीय तहबाट नै सुदृढिकरण गरिने नीति अवलम्वन गरिनेछ ।

 

  1. कोभिड-१९ रोकथाममा नेपाल सरकारले गरेको लकडाउनलाई मध्येनजर गरी इन्टरनेटको पहुँच बिद्यार्थीसम्म पुर्याई वेवसाइट, मोबाइल एप, सामाजिक संजाल, रेडियो, भिडियो, अडियो तथा अन्य भिडियो कन्फेरेन्सिङ टुल मार्फत शिक्षण सिकाई क्रियाकलाप अघि बढाइनेछ ।

 

  1. नेपाल सरकारको योजना अनुसार यस पालिकामा जडान हुदै गरेको फाइबर इन्टरनेट सेवालाई सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था तथा बिद्यालयहरुमा जडान कार्य सम्पन्न गरिनेछ साथै इमेल इन्टरनेट मार्फत पत्रहरु, सूचना तथा जानकारीहरु आदानप्रदान गरिनेछ ।

 

  1. हाल गाउँपालिका, वडा, स्वास्थ्य संस्था, मा.वि. तहमा प्रयोगमा ल्याइएको विधुतीय हाजिरी प्रणालीलाइ क्रमश: प्राथमिक बिद्यालयहरुमा समेत विस्तार गरिनेछ ।

 

  1. यस पालिका स्थित व्यस्त बजार तथा महत्वपूर्ण स्थानहरुमा निगरानी तथा सुरक्षा व्यवस्थापन गर्नका लागि सडक बत्ति संगै सि.सि. क्यामेरा जडान गरिनेछ साथै यस्ता ठाउँहरुमा Free Wi-Fi Zone बनाइनेछ ।

 

  1. गाउँपालिकाबाट कार्यन्वयन हुने योजना, कार्यक्रममा वित्तीय जोखिम न्यूनीकरणका लागि निर्माण र खरिद प्रक्रियालाई बढी पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन बार्षिक खरिद योजना बनाई E-Bidding लाई प्रभावकारी रुपमा कार्यन्वयन गरिनेछ ।
  2. प्रविधिको प्रयोग तथा सूचनामा पंहुच अभिवृद्धि गर्न गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरुलाई सूचना प्रविधिसंग सम्बन्धित तालिम तथा कार्यशाला संचालन गरिनेछ ।
  3. व्यक्तिगत घटनादर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणालीलाई वडा स्तरबाट कार्यन्वयनमा ल्याइने र उक्त प्रणाली प्रयोगका लागि वडा सचिवहरुलाई आवश्यक तालिम संचालन गरिनेछ ।

 

  1. घरघरमा स्नातक,टोलटोलमा प्राविधिक, वडावडामा स्वास्थ्यकेन्द्र, वस्ती वस्तीमा ज्येष्ठ नागरिक क्लव र पर्ती जमिनमा सार्वजनिक उद्धानका साथै स्थानीय सरकारको सेवा प्रवाहलाई सूचना प्रविधिसहितको सेवा सँग जोड्न प्रत्येक विद्यालय तथा वडा कार्यालयलाई सूचना प्रविधियुक्त बनाई  सूचना प्रविधिमा आधारित स्मार्ट गाउँपालिका बनाइनेछ ।
  2. आयोजनाहरुको दोहोरोपनाको अन्त्यका लागि संघीय र प्रदेश सरकारसंग समन्वय र सहकार्यको नीति अवलम्वन गरिनेछ । अत्यावश्यक बाहेकका नयाँ आयोजना नथप्ने र कार्यान्वयनमा रहेका तथा अधुरा आयोजनाहरुलाई सम्पन्न गर्न बजेट व्यवस्थापन सँगै आयोजना बैंक तयारी गरी सञ्चालनमा ल्याइनेछ ।

 

  1. विकासमा निश्चित उद्देश्य हाँसिल गर्न अपनाईने रणनीति, समय, क्रियाकलापहरु र साधन श्रोतको संयोजन गरी योजनावद्ध विकासको सुरुवात गर्न हाम्रो सरकारको आवधिक योजना तर्जुमाको कार्य अविलम्ब सुरुवात गरिनेछ ।

 

  1. गाउँपालिकाबाट नक्सापास नगरी भौतिक संरचना तथा घर निर्माण गर्ने र स्वीकृत मापदण्ड विपरित निर्माण कार्य गरिएका संरचनालाई विशेष व्यवस्थासहित कानुनी दायरामा ल्याइ त्यस्ता कार्य गर्नेलाई निरुत्साहित गरिनेछ । गाउँपालिकाले तोकेको सडकको अधिकार क्षेत्रभित्र बनेका संरचना जुनसुकै वखत हटाईनेछ ।

 

  1. गाउँपालिका भित्र विगतदेखि सञ्चालित क्रमागत योजनाहरुलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइनेछ भने पूर्वाधार निर्माणको कार्यलाई व्यवस्थित गर्न मर्मत सम्भार कोष स्थापना गरी आवश्यक कार्यविधि बनाई व्यवस्थित बनाउँदै लगिनेछ । आगामी आर्थिक वर्षबाट हेभि मेशिनरी उपकरणहरुका माध्यमको प्रयोग मार्फत कार्यान्वयन हुने योजना तथा कार्यक्रम उपभोक्ता समिति मार्फत गरिने कार्यलाई क्रमशःनिरुत्साहित गरिदैं लगिनेछ । उपभोक्ता समितिले हेभि मेशिनरी उपकरणहरुको प्रयोग गरी  कार्यान्वयन हुने गरी कार्यालयसँग योजना कार्यान्वयनको सम्झौता भएमा आगामी आर्थिक वर्षबाट नियमानुसार वहाल कर कट्टी गरी भुक्तानी दिने प्रणालीको अवलम्वन गरिनेछ ।
  2. विगतबाट पाठ सिक्दै आगामी आर्थिक वर्षमा टुक्रे योजना तथा कार्यक्रम पूर्णत निरुत्साहित गर्दै एक वार्ड एक गौरवको योजना सञ्चालन गरिनेछ ।असारे विकासलाई आगामी वर्ष अन्त्य गर्न योजना सम्झौताका कार्यलाई श्रावण महिनाबाट शुरु गरिनेछ । साथै गौरवका योजना र मेशिनरी उपकरणको आवश्यकता पर्ने योजनालाई यथासम्भव ठेक्का प्रकृयामार्फत गरिनेछ ।
  3. झोलुङगे पुल मार्फत छरिएर रहेका वस्ती विचको दुरी कम गरी सामाजिक आदानप्रदान तथा प्रशासनिक सुगमताका लागि झोलुङगे पुल निर्माणमा नेपाल सरकार तथा प्रदेश सरकार सँग आवश्यक सहलगानी तथा समन्वय  गरिनेछ । साथै आर्थिक वर्ष २०७७/७८ का लागि झोलुङगे पुल क्षेत्रगत कार्यक्रम अन्तर्गत कार्यान्वयन हुने भन्डारखोला, घट्टघाट, झुडीघाट, काउलेघाट, मजुवाफेदी झोलुङगे पुलको निर्माण कार्यलाई शिघ्र कार्यान्वयन  गरिनेछ ।

 

  1. जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिवृद्धि गरी विकास र सेवा प्रवाहमा गुणस्तर कायम गर्न तालिम,प्रशिक्षण र अभिमुखीकरणका साथै भ्रमण अवलोकन गराईनेछ ।त्यसै गरी गाउँपालिका अध्यक्षले वडाध्यक्षसँग,प्रमुख प्रशासकीय अधिकृतले शाखा प्रमुख र वडा सचिवसँग तथा शिक्षा अधिकृतले विद्यालयका प्रधानाध्यापक सँग मापन योग्य सूचकहरुसहित कार्यसम्पादन सम्झौता गरी सम्बन्धीत पदाधिकारीहरुलाई नतिजा प्रति थप जवाफदेही बनाईनेछ ।
  2. गाउँपालिकाको भौगोलिक क्षेत्रभित्र सञ्चालन हुने सहकारी संस्थाको दर्ता, अनुमति, नियमन र व्यवस्थापनलाई प्रभावकारी बनाउदै स्थानीय सहकारी संस्थाको क्षमता अभिवृद्धि गरी सहकारी संस्थाको प्रवर्द्धन, परिचालन र विकास गरिनेछ । सहकारी सम्वन्धी स्थानीय तथ्यांक व्यवस्थापन र अध्ययन तथा अनुसन्धान गरी दैनिक उपभोग्य वस्तु, कृषि, वन, मत्स्य तथा पशुजन्य पदार्थ उत्पादन र विक्री वितरण गर्ने सहकारीलाई विशेष अनुदानको व्यवस्था गरिनुका साथै प्रमुख वस्तीहरुमा सुपथ मूल्यमा सहकारी पसल सञ्चालन गर्न प्रोत्साहन गरिनेछ ।

गाउँसभाका सदस्यज्यूहरु,

  1. बैंक तथा वित्तीय संस्थाहरु सँगको सहकार्यमा एक वडा, एक सहकारीको नीति मार्फत समृद्धिको यात्राको नारालाई सार्थक पारिनेछ । सबै नागरिकहरुमा बैँक तथा वित्तीय साक्षरता अभिवृद्धि गर्न सघन रुपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिनेछ ।
  2. जनसांख्यिक, प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक पूर्वाधार, रोजगारीको अवस्था, कुल गार्हस्थ्य उत्पादन, प्रतिव्यक्ति आय, मानव विकास तथा लैँगिक सशक्तीकरण सूचकांक, राजस्व तथा आयव्यय समेतको तथ्यांक संकलन र प्रशोधन गरी नवीनतम प्रविधियुक्त र राष्ट्रिय तथा स्थानीय सूचना प्रणालीमा आवद्धता र पार्श्वचित्र तथा स्रोत नक्साको अद्यावधिक अभिलेखन गरिनेछ ।

 

  1. सार्वजनिक तथा सरकारी सम्पत्तिको अभिलेख राखी संरक्षण र सदुपयोग गरिनेछ । यसका लागि गाउँपालिकामा गठित सार्वजनिक तथा सरकारी जग्गा संरक्षण समितिलाई थप क्रियाशिल बनाईनेछ । वि.सं. २०७६-२०७८ लाई सार्वजनिक सम्पत्ति जग्गा संरक्षण वर्ष निरन्तरता दिन अभियानका रुपमा अगाडि बढाइनेछ ।

 

 

  1. “समृद्द गाउँपालिका निर्माणको आधार, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार” भन्ने नारालाई सार्थक तुल्याउन र अभिभावक तथा विद्यार्थीहरुको रोजाइ र सिकाइको केन्द्र बनाउन सामुदायिक विद्यालयमा सुरक्षित घेराबार, खेलमैदान, शुद्ध पिउने पानी तथा स्वच्छ हरित विद्यालय निर्माण, सामुदायिक विद्यालय र सामुदायिक क्याम्पसहरुको सुदृढीकरण गर्ने कार्यलाई थप प्रभावकारी वनाउन “गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम “सञ्चालन गरिनेछ ।

 

  1. भौगोलिक अवस्था,जनसङ्ख्या तथा आवश्यकताको आधारमा प्रारम्भिक बालविकास तथा शिक्षा (बढीमा ५ वटा)को लागी सञ्चालन अनुमती दिई बालविकास सहजकर्ताको व्यवस्थापन गरिने छ। बालविकास सहजकर्तालाइ बालमनोविज्ञान सम्बन्धी तालिम दिई सक्षम बनाउने, बालशिक्षालाइ सुविधासम्पन्न  साथै अनिवार्य गरिने छ।

 

  1. भौगोलिकता,विद्यार्थी सङ्ख्या तथा आवश्यकताका आधारमा विद्यालय समायोजन गरिने, कक्षा थप/ घट गरिने तथा गाभिएका वा बन्द भएका विद्यालयहरुको सम्पत्ती आवश्यकताको आधारमा अन्य विद्यालयमा समायोजन गरिने छ ।

 

  1. सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीहरुको दरबन्दी मिलान,व्यवस्थापन,पुनर्वितरण एवं दरबन्दी सिर्जना विद्यालयको आवश्यकता तथा तह र शिक्षकको योग्यता एवं दक्षताको आधारमा गरिने छ ।

 

  1. विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नको लागि एक विद्यालय एक पुस्तकालय, सघन विद्यालय अनुगमन, शैक्षिक सामग्री तथा पाठ्यसामग्री वितरण, स्थानीय शैक्षिक सामग्री प्रदशनी कार्यक्रम, प्राध्यापकहरु द्वारा नमूना कक्षा शिक्षण, शिक्षकहरुलाई स्थलगत रुपमा कम्प्युटर तालिम कार्यक्रम संचालन गरिनेछ ।

 

  1. सामुदायिक विद्यालयका शिक्षक,कर्मचारी, राष्ट्रसेवक कर्मचारी,जनप्रतिनिधि तथा राज्यको स्रोतबाट पारिश्रमिक लिने सम्पूर्ण पदाधिकारीहरुका छोराछोरीहरुलाई सामूदायिक विद्यालयमा भर्ना गर्ने नीति अनिवार्य गरिने छ । साथै बरेङ गाउँ शिक्षा P]g २०७७ जारी गरी कार्यान्वयनमा ल्याइने छ ।

 

  1. गाउँपालिका भित्रका न्युनतम योग्यता पुगेका शिक्षित जनशक्तिहरुको लगत संकलन गरी आवश्यकताका आधारमा विद्यालयमा स्वयंसेवा गर्न उत्प्रेरित गरिनेछ साथै अन्तर विद्यालय शिक्षण कार्यक्रम संचालन गरिनेछ ।

 

  1. विद्यार्थी, शिक्षक तथा विद्यालयलाई प्रोत्साहन गर्नको लागि एक शिक्षक एक झोला कार्यक्रम, नमूना विद्यालय छनोट गरी पुरस्कृत गरिने कार्यक्रम, उत्कृष्ट शिक्षक तथा विद्यार्थी सम्मान कार्यक्रम, विद्यालयको पहलमा एक विद्यार्थी एक हटकेस तथा सबै छात्राहरुलाई स्यानिटरि प्याडको व्यवस्था गरिनेछ ।

 

  1. रेडियो शिक्षा तथा अभिभावक शिक्षा, सामुदायिक विद्यालय सत्यापन, अतिरिक्त कक्षा संचालन, लोकसेवा तयारी कक्षा, राष्ट्रसेवक कर्मचारी विद्यालयमा जस्ता कार्यक्रमहरु संचालन गरिनेछ । साथै राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता थप व्यवस्थित एवं प्रभावकारी रूपमा सञ्चालन गरिने छ ।

 

  1. कक्षा ११ र १२ मा विज्ञान विषय संचालन गरेका विद्यालयहरुलाई विज्ञान सामग्री व्यवस्थापन अनुदान तथा प्राविधिकधार संचालित विद्यालयहरुलाई प्रोत्साहन अनुदान प्रदान गरिनेछ ।

 

  1. शिक्षक दरवन्दी मिलान तथा व्यवस्थापन पश्चात शून्य दरबन्दी भएका सामुदायिक आधारभूत र माध्यमिक विद्यालयहरुलाई दिंदै आएको निजी शिक्षक अनुदान कटौती गरी आगामी आर्थिक वर्ष देखि प्राथमिक विद्यालयमा शिक्षक आवश्यकताका आधारमा “प्राथमिक शिक्षक व्यवस्थापन कार्यक्रम” सञ्चालन गरिने छ ।

 

  1. गाउँपालिका भित्रका सवै वालवालिकालाई आधारभूत तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षा उपलव्ध गराइ साक्षर गाउँपालिका बनाउने नीति अवलम्वन गरिने छ । सवै विद्यालयलाई वालमैत्री बनाउनुका साथै सवैका लागि शिक्षा अभियान सञ्चालन गरी १ वडा १ प्राविधिक शिक्षालय निर्माणका लागि सम्भाव्यता अध्ययन गरिनेछ । हाल कार्यान्वयनमा रहेको विद्यालय सुशासन तथा कर्मचारी व्यवस्थापन कार्यविधिको प्रभावकारी कार्यान्वयन गरी विद्यार्थी सिकाइ उपलव्धिको परीक्षण र व्यवस्थापन समेत गरी विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि मार्फत हरेक विद्यालयलाई स्मार्ट विद्यालय बनाईनेछ । साथै सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधार निर्माण, मर्मत सम्भार, सञ्चालन र व्यवस्थापनलाई विशेष जोड दिईनेछ ।

 

  1. विद्यालयतह देखि नै राष्ट्रियता, गाउँपालिकाको मौलिक कला, संस्कृति र ज्ञानको सम्मान, संरक्षण र संवर्धन गर्ने तथा नैतिक शिक्षामा बल पुग्ने प्रकृतिका विषयहरुको स्थानीय पाठ्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न पाठ्यक्रम तथा पाठयसामग्री विकास निर्देशिका कार्यान्वयनमा ल्याईनेछ ।

 

  1. “बरेङ गाउँपालिकाको इच्छा, छोरी बुहारीलाई उच्च शिक्षा” भन्ने सोच र “गाउँपालिकाको एउटै सन्देश, बालविवाह मुक्त हाम्रो सरकार” भन्ने लक्ष्यलाई सार्थक तुल्याउन “उज्यालो बाल वचत कार्यक्रम” लाई प्रभावकारी बनाईने छ ।

 

  1. सामुदायिक विद्यालयहरुमा स्वास्थ्य सेवा, बाल स्वास्थ्य प्रवर्धन, प्रजनन् तथा यौन स्वास्थ्य परामर्श जस्ता सेवा प्रवाह गर्न साप्ताहिक रुपमा विद्यार्थी स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिनेछ । यस गाउँपालिका भित्रका नागरिकहरुको स्वास्थ्य विमा, नसर्ने रोगको समयमै पहिचान र रोकथाम गरी नागरिकको जनधनको रक्षा गर्न “गाउँपालिका अध्यक्ष जनता स्वास्थ्य परीक्षण कार्यक्रम वडास्तरसम्म सञ्चालन गरिनेछ । क्यान्सर रोग लगायत जटिल प्रकृतिका रोगहरु लागेका विपन्न नागरिकहरुलाई प्रदान गर्दै आएको आर्थिक सहायतालाई निरन्तरता दिइनेछ ।

 

  1. विपन्न विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रमलाई प्रदेश तथा नेपाल सरकारको कार्यक्रम सँग तादम्यता मिलाई प्रभावकारी रुपमा लागू गरिनेछ ।

 

  1. गाउँपालिकाले हाल लिदै आएको कर, राजस्व, शुल्क आदिलाई थप व्यवस्थित र नियमन गरिनेछ । हाम्रो गाउँपालिका हाम्रो कर, समृद्ध बनाउने हाम्रै रहर भन्ने नारालाई साकार पार्न असल करदातालाई सम्मान र तोकिएको समयमै कर तिर्ने करदातालाई विशेष छुटको व्यवस्था गरिनेछ । स्थानीय भाडादर निर्धारण गरी भरपर्दो र सस्तो यातायात प्रणालीको विकास गरिनेछ ।
  2. गाउँपालिकाको क्षेत्रभित्र व्यापार, व्यवसाय वा सेवामा पूँजीगत लगानी र आर्थिक कारोवारको आधारमा व्यवसाय कर लगाइदै आएकोमा यसलाई थप व्यवस्थित गर्न साना तथा ठूला व्यवसायलाई अनिवार्य रुपमा दर्ता एवं नवीकरण हुनुपर्ने व्यवस्था गरिनेछ । गाउँपालिका भित्रका वस्तीहरुमा स्थानीय उत्पादन विक्रीको बजार व्यवस्थापन तथा ढुवानीको उचित व्यवस्था गरिनेछ ।
  3. महामारीबाट प्रभावित पर्यटन, कृषि, उद्योग, यातायात, निर्माण लगायतका क्षेत्रलाई जीवन्त राख्न एउटा छुट्टै व्यवसाय जीवन रक्षा कार्यक्रम संचालन गरिनेछ । सो कार्यक्रमबाट उद्यमशीलता विकास, क्षमता अभिवृद्धि, स्वरोजगार र रोजगार वृद्धि लगायतका क्षेत्रगत विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।

 

  1. विवाद समाधानको लागि मेलमिलाप तथा मध्यस्थता सेवालाई न्यायिक समिति मार्फत थप प्रभावकारी बनाईनेछ । वडामा स्थापना गरिएका मेलमिलाप केन्द्रलाई मेलमिलाप मार्फत विवाद समाधान गरी शान्ति स्थापना गर्ने केन्द्रको रुपमा विकसित गरिनेछ ।

 

  1. आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी जनजाती, मधेशी, थारु, मुस्लिम, पिछडावर्ग, अल्पसंख्यक, सीमान्तकृत, अपांगता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पसंख्यक, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिक रुपले विपन्न समुदायहरुको लागि बिशेष व्यवस्था गरिनेछ ।
  2. कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव नहुने नीतिको प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।

 

  1. ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति, विधवा, वालवालिका लगायतलाई नेपाल सरकारबाट सामाजिक सुरक्षा भत्ता प्रत्याभूत गरिदै आएकोमा हाम्रो सरकारले आर्थिक र सामाजिक रुपमा जोखिममा रहेका नागरिकहरुलाई सुरक्षा प्रदान गर्न तथा सभ्य र लोककल्याणकारी राज्य व्यवस्थाका लागि “गाउँपालिका सामाजिक सुरक्षा, संरक्षण तथा बचाउ (SSP) कार्यक्रम सञ्चालन गरिनेछ । सामाजिक सुरक्षा भत्ता वैकिङ प्रणालीमा आवद्ध भएकोमा टोल-टोल मा बैंक मार्फत भत्ता वितरण गर्न सम्बन्धीत वित्तीय संस्था सँग आवश्यक समन्वय एवं सहजीकरण गरिनेछ ।

 

 

 

  1. गाउँपालिका भित्रका नागरिकहरुलाई सफा र स्वच्छ पिउनेपानी उपलव्ध गराउन जनता सँगको सहलगानीमा खानेपानी आयोजनाहरु सञ्चालन गरिनेछ । पानीका मुहानहरुको संरक्षण एवं आवश्यक अन्य केही ठाउँमा लिफ्ट प्रविधिको पूर्वाधारहरु तयार गरिनेछ । हाल कार्यान्वयनमा रहेको झुले खानेपानी आयोजना, अर्लाङतुङ खानेपानी र सुखौरा खानेपानी योजना आयोजनालाई पूर्णता दिन निरन्तरता दिईनेछ ।

 

  1. समृद्धि र विकास निर्माणको आधार, महिलाको क्षमताको विकास नारालाई कार्यान्वयन गर्दै गाउँपालिका क्षेत्रभित्र महिला सशक्तिकरणका साथै उद्धमशिलताको विकास गर्न उपाध्यक्षसँग महिला सशक्तीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।

 

  1. स्थानीय स्तरमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, पूर्व सुचना प्रणाली, खोज तथा उद्धार, राहत सामग्रीको पूर्वभण्डारण, स्थानीय तटबन्ध, नदी र पहिरोको नियन्त्रण, विपद जोखिम क्षेत्रको नक्सांकन तथा बस्तीहरुको पहिचान र स्थानान्तरण गरिनेछ । विपद् व्यवस्थापनका लागि वडा/वडामा गठित विपद् व्यवस्थापन समितिलाई थप क्रियाशील बनाउदै युवा परिचालनका लागि वडाअध्यक्ष सँग युवा स्वरोजगार कार्यक्रम यथाशीध्र सञ्चालन गरिनेछ ।

 

  1. रोजगारमूलक कार्यक्रमका माध्यम मार्फत गरिवी न्यूनिकरण गर्न “एक घर एक महिला रोजगार कार्यक्रम सञ्चालन गरिनेछ । गाउँपालिकालाई खाद्यान्न तथा तरकारी विउविजनमा आत्मनिर्भर बनाउन विशेष कार्यक्रम  अभियानका साथ सञ्चालन गरिनेछ ।

 

  1. कोभिड-१९ को सङ्क्रमणबाट रोजगारी र उत्पादनमा परेको नकारात्मक प्रभावलाई न्यून गरी दिगो उत्पादकत्व, भरपर्दो वितरण सञ्जाल र उद्धमशीलताको विकास गर्न गाउँपालिकाबाट दिइदै आएको अनुदानलाई प्रभावकारी बनाउन बैंकिङ पद्दतिमार्फत न्यून ब्याज दरमा ऋण उपलब्ध गराउने व्यवस्था गरिने छ । यसरी ऋण उपलब्ध गराउने वा ब्याज अनुदान दिने विषय कार्यविधि तर्जुमा गरी व्यवस्थित गरिने छ ।

 

  1. “समृद्धिका लागि युवाको क्रियाशिलता, हातमा सीप र दिमागमा उद्दमशीलता” भन्ने सोचको कार्यान्वयनका लागि युवाहरुको नेतृत्व विकास, व्यवसायिक सीप अभिवृद्धि, रोजगार, स्वरोजगार एवम् उद्दमशीलता प्रवर्धन जस्ता युवा सशक्तिकरणका कार्यक्रमको व्यवस्था गरिने छ ।

 

  1. गाउँपालिकामा बसोबास गर्ने सबै नागरिकको खाद्य सुरक्षाको प्रत्याभूत गरिने छ । कोही भोकै पर्दैन, भोकले कोही मर्दैन भन्ने प्रतिबद्धता पुरा गर्न सबै तहका सरकारबीच सहकार्य गरी बहु-आयमिक कृषि उत्पादनमा जोड दिदै गाउँपालिकालाई “खाद्यान्नमा आत्मनिर्भर स्थानीय तह” घोषणा गर्ने कार्यक्रम अघि बढाइनेछ ।

 

  1. गाउँपालिका भित्रका खेतीयोग्य जमिन तथा बाँझो जमिनमा आवश्यक सिँचाइको व्यवस्था गरी कृषि उत्पादन बढाईनेछ । पशुपालन तथा कृषि कार्यका लागि दीर्घकालीन योजना तयारी गरी कृषि सडक तथा स्थानीय स्तरका सिँचाइ प्रणालीको निर्माण गरिनेछ । कृषि लगायत विकासका पक्षहरुमा व्यापक छलफल तथा स्थानीय सरकारका कामकारवाहीमा एकरुपता एबं सामन्जस्यता कायम गर्न निकट भविष्यमा नै हाम्रो सरकारको आयोजनामा जिल्ला भित्रका अन्तर स्थानीय सरकारका विचमा वृहत्त अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ ।

 

  1. “बाँझो जमिनको प्रयोग,उत्पादनमा सहयोग” भन्ने सोचलाई आत्मसात गर्दै बाँझिदै गएको खेतीयोग्य जमिनलाई कृषि उत्पादनका लागि उपयोगमा ल्याउन विशेष प्याकेजसहितको प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने छ ।वडा मार्फत बाँझो जमिनको लगत सङ्कलन गरी भूमि बैंकको स्थापना गरिने छ ।

 

  1. “स्थानीय सरकारको पहिलो प्राथमिकता,कृषकको घरदैलोमा प्राविधिक सेवा” भन्ने सोचलाई कार्यान्वयन गर्न प्राविधिक जनशक्तिको व्यवस्था मिलाइने छ ।

 

  1. कृषि उद्दमशीलता अभिवृद्धि गर्न बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा कृषकलाई सहुलियत ब्याजदरमा कृषि ऋण उपलब्ध गराउने व्यवस्था मिलाइनेछ । नेपाल सरकारसँगको सहकार्यमा बाली तथा पशुपंक्षी बिमा कार्यक्रम सञ्चालन गर्न बिमा कम्पनीसँगको समन्वयलाई प्रभावकारी बनाइनेछ ।

 

  1. कृषि तथा पशुपक्षी विकास सम्बन्धी सेवाको पहुँच विस्तार गरिनेछ । कृषि व्यवसाय गर्न चाहने कृषकलाई बीउबिजन,कृषि औजार,प्रविधि र तालिम दिइनेछ ।

 

  1. गाउँपालिका भित्र रहेका बाँझो जग्गाको लगत संकलन गरी उपयोग गर्न भूमि बैंकको स्थापना गरिनेछ । सहकारी,सामूहिक,करार तथा व्यावसायिक खेती गर्न प्रोत्साहन गरिनेछ । कृषि भूमिको प्रभावकारी व्यवस्थापनको लागि जग्गा एकीकरण तथा चक्लाबन्दी कार्यक्रम सञ्चालन गरिनेछ ।

 

  1. विदेशबाट फर्किएका वा स्वदेशमा रहेका तथा कृषि सम्बन्धी अनुभव,ज्ञान र सीप बटुलेका कृषि र पशुपन्छी विषयमा अध्ययन पुरा गरी वेरोजगार रहेका युवाहरुलाई कृषि पेसामा आबद्द गरी उत्पादनमा जोड्न विशेष रोजगार,आयमूलक “कोभिङ विशेष कृषि कार्यक्रम”“उद्दमीको हात,गाउँपालिकाको साथ कार्यक्रम” को थालनी गरिने छ ।
  2. कृषि उत्पादन र बजारीकरणमा देखिएको असन्तुलन,कृषि उत्पादनको उचित मूल्य नपाउने गुनासो,उपभोक्ता र उत्पादकबीचको मूल्यमा हुने अन्तरलाई न्यूनीकरण गर्न र किसानलाई कृषि पेसाबाट न्यूनतम बचतको सुनिश्चितता गराउन कृषि क्षेत्रको मूख्य बालीहरुको न्यूनतम समर्थन मूल्य कायम गरी विक्री नभएका कृषि उपजहरुको छिमेकी स्थानीय सरकार,प्रदेश सरकार तथा सङ्घीय सरकारको समन्वय र सहकार्यमा खरिद एवम् भण्डारण गर्ने व्यवस्था मिलाइने छ ।

 

  1. “स्वदेशी श्रम,स्वदेशमै पसिना” को नीति अनुरुप कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका कार्यक्रम अघि बढाईनेछ । कृषि प्राविधिक सेवा तथा उत्पादन सामग्रीहरुको उपलब्धता सुनिश्चित गरिनेछ । हालको अनुदान दिने प्रक्रियालाई थप विश्वसनीय,प्रभावकारी र पहुँचमा बृद्धि हुनेगरी परिष्कृत गरिनेछ ।

 

  1. कृषि पेशालाई सम्मानजनक पेशाका रुपमा विकास गर्न र कृषकहरुलाई सामाजिक सम्मान प्रदान गर्ने व्यवस्थाका लागि उत्कृष्ट कृषकहरुलाई पुरस्कृत गर्ने कार्यलाई निरन्तरता दिईनेछ । कृषक क्षमता अभिबृद्धिका लागि तालिम कार्यक्रमलाई परिमार्जन गरी उद्दमशिलता विकास गर्न मागमा आधारित पूर्ण व्यवहारिक तालिम संचालन गरिनेछ ।
  2. समुदायको सहभागितामा वन तथा जैविक विविधताको दिगो संरक्षण गर्दै वन पैदावारको उचित सदुपयोग र व्यवस्थापन गरिने छ । वनको जमिन खाली नराखिने नीति लिइने छ । यसका लागि सामुदायिक वनसंगको सहकार्यका क्षेत्रहरु पहिचान गरी उत्पादनका लागि वनमा लगानी भन्ने सोचका साथ “सामुदायिक वन साझेदारी कार्यक्रम” लाई थप प्रभावकारी वनाईनेछ ।

 

गाउँसभाका सदस्यज्यूहरु,

 

  1. वरेङ गाउंपालिका र इलाका प्रहरी कार्यालय,वरेङडाँडा विचको समन्वयमा शान्ति, सुरक्षा र व्यवस्था लाई सु-व्यवस्थित गर्दै्था लाई सुरक हेणतडारमलाई प्रभावकारी बनाईनेछ । च्च मनोबलका साथ सेवा प्रवाह गरी सयार्थीको हातह गरिनेछ । मार्फत गरि आगामी दिनहरुमा लागुपदार्थ दुव्यर्सन सम्वन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । साथै  मेला तथा महोत्सव सञ्चालन सम्वन्धी मापदण्डलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न आवश्यक नियमन गरिने छ ।
  2. सडक दुर्घटना कम गर्न जोखिमपूर्ण यात्रा बहिष्कार, हाम्रो सुरक्षाको आधार भन्ने नाराको अभियानका साथ सचेतनामुलक कार्यक्रम संचालन गरिनेछ ।

 

  1. सामाजिक सञ्जालमा व्यक्त हुने अमर्यादित तथा असभ्य व्यवहारहरुलाई कानुनी दायरामा ल्याई सभ्य समाज निर्माणमा जोड दिईनेछ । पारदर्शी सरकार निर्माणमा जोड दिन गाउँपालिकाको डकुमेन्ट्री निर्माण तथा रेडियो कार्यक्रम मार्फत “हाम्रो बरेङ स्वस्थ बरेङ र “गाउँपालिका सेरोफेरो कार्यक्रम लाई संस्थागत गरिनेछ । सूचना प्रवाहमा राज्यको चौंथो अंग पत्रकारिताको व्यापक प्रयोग गर्न प्रत्येक वडामा पत्रकारिता प्रर्वदन कार्यक्रम सञ्चालन गरिनेछ । साथै उत्कृष्ट योगदान गर्ने गरी हाम्रो सरकारको समृद्धिको यात्रामा सहयोग प्रदान गर्ने पत्रकार,नागरिक तथा विभिन्न संघसस्थाहरुलाई उचित सम्मान गरिनेछ ।

 

  1. गाउँका सूचना शहरमा र शहरका सूचना गाउँमा भन्ने नारालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने संयन्त्रको विकास गरिने छ । ज्ञानवर्द्धक तथा जनचेतनामूलक कार्यक्रम निर्माण तथा प्रसारण गर्न गाउंपालिकाको वास्तविक चित्र चित्रण हुने गरी वृतचित्र निर्माण गरिने छ ।

 

  1. विपद् व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन विपद् व्यवस्थापन कोषको रकममा वृद्दि गरिने छ । सङ्घ,प्रदेश एवम् अन्तर स्थानीय तह, सरकारी तथा गैर सरकारी सङ्घ संस्थाबीच समन्वय गरिने छ ।सहकारी संस्थाको संस्थागत क्षमता विकास सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ । सहकारीमा आबद्ध गरीब,विपन्न,सीमान्तकृत तथा अपाङगता भएका व्यक्ति र महिला सहकारी संस्थालाई लक्षित गरी विशेष कार्यक्रम सञ्चालन गरिनेछ । “एक सहकारी एक उत्पादन कार्यक्रम संचालन गर्न नीति अवलम्वन गरिनेछ । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाले कृषि उत्पादन तथा प्रशोधन वा उत्पादनशील क्षेत्रमा कम्तीमा ३० प्रतिशत लगानी गर्नु पर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गरिनेछ । सहकारी संस्थाको नियमित अनुगमन र नियमन गरी संस्थागत सुशासन कायम गरिनेछ ।
  2. विधुत सेवा पुगेका क्षेत्रमा विधुत वितरण प्रणालीलाई प्रभावकारी बनाउनका लागि काठको पोल विस्थापित गर्ने कामलाई अभियानका रुपमा अघि वढाइनेछ ।
  3. स्थानीय सरकार र जनताबीच सम्बन्ध जीवन्त राख्न “जनतासँग गाउँपालिका अध्यक्ष रेडियो कार्यक्रम सञ्चालनमा लिईनेछ । यस कार्यक्रममार्फत प्राप्त जनताका गुनासा नियमित रुपमा सम्बोधन गरिनेछ ।
  4. गर्भवती, शिशु, बालबालिका, किशोरी र अपाङगता भएका व्यक्तिको पोषण स्थितिमा सुधार ल्याउन सघन रुपमा बहुक्षेत्रीय पोषण सुधार कार्यक्रम सञ्चालन गरिनेछ ।
  5. गुणस्तरीय वस्तुको आपूर्ति सुनिश्चित गर्न गुणस्तर परीक्षण र नियमित अनुगमनमा जोड दिइनेछ । उपभोक्ताको हकहित संरक्षणका लागि जागरण अभियान र उपभोक्ता शिक्षा संचालन गरिनेछ । गुणस्तरीय उपभोग्य वस्तुहरुको सर्वसुलभ आपूर्ति सुनिश्चित गरिनेछ । बजार नियमनसम्बन्धी कानून निर्माण गरी कालोबजारी,कृत्रिम अभाव,सिन्डिकेट र कार्टेलिङलाई कडाईका साथ नियमन गरिनेछ ।
  6. गाउँपालिका अन्तर्गत पर्ने सत्यवती मन्दिर र कालीलेक सिद्धथान मन्दिरलाई सांस्कृतिक र कौंडे डांडा,भैसीखोला झरना,भित्रिवन देउराली र भातेपोखरालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी वरेङ गाउँपालिकाको पहिचान तथा अर्थतन्त्रको आधारशिलाको रुपमा विकास गरिनेछ ।यसको लागि पर्यटन मैत्री संरचना निर्माण तथा पर्यटन पूर्वाधार निर्माण गर्न विस्तृत पर्यटन गुरुयोजना बनाई कार्यान्वयन गरिनेछ ।निजी क्षेत्र तथा अन्य निकाय सँग समेत समन्वय गरी वरेङ पर्यटन महोत्सव आगामी वर्ष आयोजना गरिनेछ ।
  7. गाउँपालिका भित्र सञ्चालनमा रहेका होमस्टेहरुको प्रभावकारी नियमन गर्दै होमस्टेलाई आन्तरिक तथा वाह्य पर्यटन प्रवर्द्धन गर्न महत्वपूर्ण आधारका रुपमा विकास गर्न विशेष प्रवन्ध गरिनेछ । होमस्टे संचालनको लागि प्रोत्साहन गर्ने,होमस्टेलाई स्थानीय संस्कृति,भेषभुषा,मौलिकता र परम्परागत पेशा,अर्गानिक तथा घरेलु उत्पादनसँग आबद्ध गरी पर्यटन प्रवर्द्धन गर्ने नीति लिईनेछ ।
  8. राजस्व सङ्कलन,बजेट तर्जुमा, लेखाङ्कन, खर्च प्रणाली, आन्तरिक नियन्त्रण र लेखा परीक्षण प्रतिवेदनलाई एकीकृत रुपमा विधुतीय प्रणालीमा आबद्ध गरिनेछ । गाउँपालिकाको राजस्वक स्रोत र दायरा विस्तार गरिनेछ ।
  9. युवालाई असल र जिम्मेवार नागरिक बनाउन नैतिक शिक्षा,लागू पदार्थ दुर्व्यसन निराकरण, विधुतीय अपराध नियन्त्रण र ट्राफिक सचेतना कार्यक्रमलाई बरेङ समाज:सभ्य समाज अभियानका रुपमा सञ्चालन गरिनेछ ।
  10. स्थानीय स्तरमा उत्पादन गर्ने घरेलु मदिराजन्य पदार्थलाई निरुत्साहित गर्न टोल सुधार संस्था/समिति मार्फत मदिरा सेवन कर्ताको सूचि सार्वजनिक गरी मदिरा कार्डको व्यवस्था गरिनेछ ।
  11. सामुदायिक वन क्षेत्रको साथै बाँझो निजी जग्गामा कृषि वनको रुपमा जडीबुटीको खेती गर्ने प्रणालीको सुरुवात गरिनेछ । कोभिड-१९ को कारणले रोजगारी गुमाएका तथा विदेशबाट फर्केका व्यक्तिलाई तालिम दिई जडीबुटी खेती गर्न प्रोत्साहन गरिनेछ ।
  12. वृद्धाश्रम स्थापना होइन घरमा नै ज्येष्ठ नागरिकलाई अनिवार्य रुपमा सम्मान र आदरका साथ राख्नु पर्ने नीति अवलम्वन गरिनेछ ।
  13. सार्वजनिक प्रशासनलाई राजनीतिक सिद्धान्तबाट अलग राखी सरकारका नीति तथा कार्यक्रम निष्पक्ष रुपमा कार्यान्वयन गरी समृद्ध बरेङ निर्माणमा समर्पित गराईनेछ ।

 

 

गाउँसभाका सदस्यज्यूहरु,

 

  1. अन्त्यमा,कोभिड-१९ महामारी विरुद्धको हाम्रो संघर्ष पूर्णत कहिले अन्त्य हुन्छ भन्ने कुरा अहिले नै एकिन गर्न कठिन छ । तर,हामी सबैको सामुहिक प्रयासवाट यसलाई छोटो समयमा नै नियन्त्रण गर्न सफल हुने विश्वास मैले लिएको छु । जीवन रहे सुख र खुसी पुनःस्थापित गर्न सकिन्छ । समृद्धिको यात्रालाई पुनःजोड्न र गतिशील बनाउन सकिन्छ । यतिवेला हामी सबैको ध्यान कोभिड-१९ का विरुद्धको संघर्षमा केन्द्रित छ । कोभिड-१९ महामारीका कारणले उत्पन्न हुनसक्ने खाद्य संकट आउन नदिन,रोजगारी गुमाउन पुगेकाहरुको जीविकोपार्जनको आधार तयार गर्न तथा रोग नियन्त्रणसंगै अर्थतन्त्रलाई गतिशील बनाउने उद्देश्यअनूरुप नै यो निति कार्यक्रम प्रस्तुन गरिएको छ ।
  2. यी नीति तथा कार्यक्रमको कार्यान्वनयबाट ″ समृद्ध बरेङ, सुखी बरेङवासी″ को गन्तव्यमा पुगी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न हाम्रो सरकारका प्रत्येक कार्यहरुको केन्द्रविन्दु आम नागरिक हुनेछन ।सबैलाई समान अवसर, समान अधिकार, उत्तिकै सुरक्षा, उत्तिकै सम्मानको प्रत्याभूति गरिनेछ ।
  3. यो नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनको लागि सवैको सहकार्य र स्वामित्व अपरिहार्य छ । यसको सफल कार्यान्वयनका लागि सम्पूर्ण सरकारी निकाय,राजनीतिक दलहरु,संघ संस्थाहरु,निजी तथा सहकारी क्षेत्र लगायत सवैको सद्भाव, र सहयोग हुनेमा विश्वस्त छु । अन्त्यमा, गाउंपालिकाको समग्र विकासमा योगदान पुर्याउने राजनीतिक दल,राष्ट्रसेवक कर्मचारी, शिक्षक, सुरक्षाकर्मी, निजी सहकारी र सामुदायिक क्षेत्र, श्रमिक वर्ग, नागरिक समाज, सामाजिक अभियन्ता, युवा क्लव, आमा समूह, आमसञ्चार लगायत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

 

धन्यवाद !

कृष्ण प्रसाद शर्मा

गाउँपालिका अध्यक्ष