खुलामञ्चलाई रंगशाला बनाउनको लागि पूर्वाधार निर्माण गरिदै

  • २३ जेष्ठ २०७७, शुक्रबार
  • 2407 पटक पढिएको

बेनी २३ जेठ । म्याग्दी सदरमुकाम बेनीमा रहेको खुलामञ्चलाई रंगशाला बनाउनको लागि पूर्वाधार निर्माणले तिब्रता पाएको छ । बेनी क्षेत्रमा हुने खेलकुद प्रतियोगिताहरुलाई ब्यवस्थित रुपमा सञ्चालन गर्नका लागि खुलामञ्चमा प्याराफिट निर्माण, खेलमैदान विस्तार गरि रंगशालाको रुपमा विकास गर्न लागिएको हो ।


चालु आर्थिक बर्षमा मात्रै करिब २ करोड बजेटबाट पूर्वाधार निर्माण थालिएको छ । बेनी नगरपालिका र जिल्ला खेलकुद विकास समितिबाट निर्माण भएको गुरुयोजना अनुसार रंगशाला बनाउनका लागि पूर्वाधार निर्माणलाई अघि बढाईएको नगरपालिकाले जनाएको छ । यस बर्ष बेनपा–७ को सिफारिसमा नगरपालिकाबाट विनियोजन भएको रु ९ लाख बजेटबाट प्याराफिट निर्माण थालिएको छ ।


संघिय सरकार मार्फत प्राप्त रु १ करोड र प्रतिनिधि सभा सदस्य भुपेन्द्रबहादुर थापा मार्फत पूर्वाधार साझेदारी विकास कार्यक्रम अन्र्ततगको रु ५० लाख गरि १ करोड ५० लाख बजेटलाई नगरपालिका मार्फत ठेक्का लगाएर पूर्वाधार निर्माण सुरु भएको छ । यस बजेटबाट पर्खाल निर्माण, प्यराफिट विस्तार र खेलमैदान विस्तार लगायतका कार्यहरु अघि बढेको खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष समेत रहनुभएका नगरपालिकाका कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्माले जानकारी दिनुभयो ।


उहाँका अनुसार, चालु आर्थिक बर्षकै लागि युवा तथा खेलकुद मन्त्रालयबाट प्राप्त भएको रु ४० लाख बजेट समेत जिल्ला खेलकुद विकास समिति मार्फत कार्यान्वयन गर्ने तयारी भैरहेको छ । गुरुयोजना अनुसार, खुलामञ्चको चारैतर्फ प्याराफिट र आकर्षक स्टेज निर्माण सहित खेलमैदानमा दुबो रोप्ने योजना छ ।

                                   गुरूयाेजना अनुसार निर्माण गरीने रंगशालाकाे चित्र 

खेलमैदानलाई फराकिलो बनाउँदै ११/११ जना समुहको फुटवल प्रतियोगिता सञ्चालन गर्न सकिने अन्तराष्ट्रिय मापदण्ड बमोजिमको खेलमैदान निर्माण गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ । करिब रु ९ करोडको लागत अनमान गरिएको रंगशाला निर्माणमा प्रदेश र संघ सरकारलाई थप बजेटको लागि समेत माग गरिएको प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदीले जानकारी दिनुभयो ।


सदरमुकाम बेनीमा सबैभन्दा ठुलो सार्वजनिक खेलमैदानको रुपमा रहेको यस खुला मञ्चलाई खेलमैदानको रुपमा विकास गर्न २०५१ सालदेखि नै प्रयास भएको थियो । तत्कालिन सांसद निल पुर्जाले साँसद विकास कोष मार्फत रु १ लाख बजेट विनियोजन गरेपछि खेलमैदानको संरक्षण र पूर्वाधार निर्माण सुरु भएको थियो ।यस अघि युवा तथा मेलकुद मन्त्रालय मार्फत २०७१ मा ६ लाख ५० हजार, २०७२ मा ५ लाख ८५ हजार बेनी नगरपालिकाबाट २०७२ मा ६९ लाख ७० हजार, २०७४ मा बेनी नगरपालिका र वडाको सिफारिसबाट समेत गरि कुल रु ७५ लाख बजेटबाट खुलामञ्चमा पूर्वाधार निर्माण गरिएको थियो ।