करेन्ट लागेर दुवै हात गुमाएकी बालिकालाई मञ्चको आर्थिक सहयोग

  • २२ जेष्ठ २०७७, बिहीबार
  • 1902 पटक पढिएको

चितवन, २२ जेठ । करेन्ट लागेर दुवै हात गुमाएकी म्याग्दीको अन्नपूर्ण गाउँपालिका -५ की कृशिखा विकलाई धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्च चितवनले ५५ हजार ५ सय ५५ रूपैयाँ आर्थिक सहयोग गरेको छ । गरिमा विकास बैंक लिमिटेडमा रहेको कृशिखा विकको खातामा मञ्चले नारायणगढ शाखाबाट उक्त रकम दाखिला गरेको छ ।

पाउद्धार मामाघर तथा खिवाङ घर भएकी विकको उपचार र शिक्षाका लागि धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्च, चितवनको एक महिने आर्थिक संकलन अभियानबाट संकलित रकम बैंक मार्फत पठाइएको मञ्चका अध्यक्ष भीमप्रसाद विश्वकर्माले जानकारी दिएका छन् । घर नजिकै खेल्ने क्रममा गत बैशाख ३ गते ट्रान्सफर्मरबाट करेन्ट प्रवाह भई गम्भीर घाइते भएकी कृशिखाको दुवै हात काटिएको छ ।

किर्तीपुर अस्पतालमा उपचार गरि हालै डिस्चार्ज भएकी कृशिखालाई थप उपचार र भविष्यमा शिक्षाको लागी केही भएपनि सहजता मिलोस् भन्ने हेतुले उक्त रकम सहयोग गरिएको महासचिव अमिर रामदामले बताएका छन् । यो पवित्र अभियानमा सहयात्री बन्ने सबै सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन गर्दछौँ र आगामी दिनहरूमा पनि यस्तै किसिमको थप सहयोगहरूको अपेक्षा राखेको आर्थिक संकलन अभियानका संयोजक लक्ष्मण सेन्चुरी बताएका छन् । धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्च, चितवनले पछिल्लो समय क्रियाशील भएर सामाजिक, साँस्कृतिक तथा दलित आन्दोलनमा कार्य सम्पादन गरिरहेको छ ।