म्याग्दीमा कोरोना भाइरसको संक्रमण पुष्टि, भारतबाट आएका मालिका गाउँपालिकाका एक युवामा कोरोना पोजेटिभ

  • १५ जेष्ठ २०७७, बिहीबार
  • 1997 पटक पढिएको

म्याग्दी १५ जेठ । म्याग्दीमा कोरोना भाइरसको पहिलो संक्रमित फेला परेका छन् । गत जेठ ९ गते भारतबाट सुनौली नाका भएर आएका मालिका गाउँपालिकाका ३० बर्षिय युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पोखराको स्वास्थ्य बिज्ञान प्रयोगशालामा गरिएको स्वाब पीसीआर परीक्षणमा कोरोना पोजेटिभ पुष्टि भएसंगै उनलाई बेनी अस्पतालको आइसोलेशनमा ल्याईएको अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो ।


बेनीको न्यु वेष्ट प्वाइन्ट क्वारेनटाइनमा रहँदै आउनुभएका संक्रमित युवालाई बेनी अस्पतालको आइसोलेसनमा सारिएको हो । उहाँको स्वास्थ्य अबस्था सामान्य रहेको छ । म्याग्दीमा भारतबाट आएकाहरुलाई बेनीको वेष्ट प्वाइन्ट र म्याग्दी बहुमुखी क्याम्पसको क्वारेनटाइनमा राखिएको छ । उनीहरुमध्ये बुधवार १४ जना र विहिवार २९ जनाको स्वाब परिक्षणको लागि पठाईएको छ ।

कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शमाले जारी गरेको विज्ञप्ती अनुसार, म्याग्दीमा पहिलो संक्रमित पुष्टि भएसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सख्ंया १७ पुगेको छ । म्याग्दीमा भारतबाट आएका ८९ जना र दुई जना चालक सहित ९१ जनालाई क्वारेनटाइनमा राखिएको कोभिड १९ कमाण्ड पोष्टका सदस्य सुरत केसीले जानकारी दिनुभयो ।