पर्वत बेनीमा फागुनमा महोत्सव हुदै

  • २८ पुष २०७६, सोमबार
  • 3804 पटक पढिएको

म्याग्दी, २८ पुस। पर्वतको जलजला गाउपालिका–३ पर्वत बेनीमा आगामी फागुनमा महोत्सव हुने भएको छ । कुश्मामा महिलाहरुद्धारा सञ्चालित रेडियो दिदिबहिनीले दसौ वार्षिकोत्सवको अवसर पारेर फागुन १ देखि ११ गतेसम्म बृहत तेहै गण्डकी प्रदेश स्तरीय महिला महोत्सव तथा रेडियोको दसौ वार्षिकोत्सव हुने भएको हो ।


महोत्सवमा चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल, दोस्रो दिदीबहिनी डान्स आइडल, पालिका स्तरीय पुरुष भलिबल, विद्यालय स्तरीय नृत्य, रत्यौली र भजन प्रतियोगिता हुने भएको छ ।झाकी र कृषि तथा पशु मेला प्रर्दशनी, महिला उद्यमी तथा विशिष्ट व्यक्तिहरुलाई सम्मानका साथै बाल उद्यान, रमाइलो मेला र कलाकारको प्रस्तुति महोत्सवको थप आकर्षण हुने रेडियोका अध्यक्ष कल्पना चापागाइले बताईन ।
११० आँै अन्तराष्ट्रिय महिला दिवसको अवसरमा रमाइलो र मनोरञ्जनका लागि मात्र नभएर महिलाहरुको क्षमता अभिवृद्धी तथा समानताको आवाज बुलन्द पार्न, कला र संस्कृतिको संरक्षण तथा घरेलु बस्तुको ब्यापार प्रर्वद्धनमा सहयोग पुग्ने उनले बताईन् ।


मुख्य आकर्षणको रुपमा रहेको महिला भलिबलको बिजेता, उपबिजेता र तितृय हुनेलाई क्रमश दुई लाख, एक लाख र पचास हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ । पालिका स्तरीय पुरुष भलिबलको बिजेता, उपबिजेता र तितृय हुनेलाई एक लाख, पचास हजार र पच्चिस हजार रुपैयाँ पुरस्कार घोषणा गरेका छन् ।डान्स आइडलमा प्रथम, दितृय र तितृय हुनेलाई पचास हजार, तीस हजार र बीस हजार तथा विद्यालय स्तरीय नृत्य, रत्यौली र झाकी प्रर्दशनीमा प्रथम, दितृय र तितृय हुनेलाई पच्चिस हजार, पन्ध्र हजार र दश हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ ।


भजन प्रतियोगितामा प्रथम, दितृय र तितृयलाई पन्ध्र्र हजार, दश हजार र पाँच हजार रुपैया पुरस्कार व्यवस्था गरिएको छ । खसी, बोका, बाख्रा तथा कृषि उपजको प्रर्दशनीमा उत्कृष्ट हुनेलाई पुरस्कारको व्यवस्था, निशूल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम गर्ने आयोजकले जनाएका छन् ।महोत्सवलाई लक्षित गरेर पर्वत बेनीको जुगेधारामा खेलमैदान निर्माण गरिएको छ । वि.स. २०७१ मा स्थानीयले बगर सम्माएर बनाएको खेलमैदान मालढुङ्गा–बेनी सडक विस्तारका क्रममा फालीएको माटोले पुरिएको थियो ।


खेलमैदानमा थुप्रिएको ढुङ्गा बिक्रीका साथै सडक स्तरोन्नति आयोजनाका निर्माण व्यवसायीसंग समन्वय गरेर हालसम्म करिब पन्ध्र लाख रुपैया खर्चेर खेलमैदान पुननिर्माण भएको पर्वत बगर बेनी बजार सुधार समितिका अध्यक्ष शिवबहादुर कार्कीले बताए । साठी लाख रुपैयाँ लागत अनुमान गरिएको खेलमैदानको प्रारम्भिक चरणको काम गरिएको छ । १३० मिटर लम्बाई र ४० मिटर चौडाई भएको खेलमैदान बनाएको समितिका सचिव नगेन्द्र थापाले बताए ।


खेलमैदानको बिचमा भएको विद्युत पोल सार्ने, स्टेज, सार्वजनिक शौचालय, घेराबार, तटबन्ध, प्याराफिट लगायत संरचना बनाउन जलजला गाउपालिका, प्रदेश र संघीय सरकारसंग प्रस्ताव गरिएको छ । खेलमैदान निर्माण भएपछि खेलाडीहरु फुटवल लगायतका खेलहरु खेल्न अन्य ठाउँहरुमा जानु नपर्ने पर्वत बेनीको नवउत्साही समूहका अध्यक्ष सुरेन्द्र श्रेष्ठले बताए । उद्योग वाणिज्य संघ मल्लाज इकाई समितिका अध्यक्ष डिलबहादुर बरुवाल, पूर्व अध्यक्ष नरबहादुर कार्की, वारीबेनी लिफ्ट खानेपानी आयोजनाका अध्यक्ष लोकनाथ रेग्मीले महोत्सवलाई सफल बनाउन सहयोग र सहकार्य गर्ने बताए । पर्वत बेनीको प्रर्वद्धन गर्न र सम्भावनाको उजागर गर्न महोत्सव सहयोगी बन्ने स्थानीयको अपेक्षा छ । यसअघि रेडियोले कुश्मामा महोत्सव गर्दै आएको थियो ।