विश्वकर्माले ल्याए ‘गंगा जमुना’काे स्वरमा अर्को सन्देशमुलक गीत (भिडियाे सहित)

  • २३ पुष २०७६, बुधबार
  • 4840 पटक पढिएको

‘सगरमाथाको देश हाम्रो नेपाल ‘ जस्तो सर्वप्रिय गीत र ‘हामी विश्वकर्मा ‘ जस्तो विश्वकर्मा जातिको गौरवगाथाको गीत प्रस्तुत गरिसकेका म्याग्देली कलाकार विकास विश्वकर्माले फेरि अर्को सन्देशमुलक गीत सार्वजनिक गरेका छन् ।

आजको वैज्ञानिक तथा सभ्य भनिएको समाजमा पनि मान्छेले मान्छेलाई छुन हुँदैन भन्ने अन्धविश्वासबाट ग्रसित मानसिकता अझै सफा हुन नसकेको र दिनानुदिन जातिय भेदभावका कहालीलाग्दा घटनाहरु घटिरहेकोले यसबाट आफूहरु अत्यन्तै मर्माहत भएको कुरा विश्वकर्माले गीतमा दर्शाएका छन् ।

मान्छेले सभ्यतै नभएका फोहोरी जनावरलाई माया गरेर काखी च्याने तर आफू जस्तै सभ्य मान्छेलाई चाहिँ छुनसम्म हुँदैन भनेर दूरदूर गरेको देख्दा विक्षिप्त भइ यो भेद मानव मात्रको हो कि ईश्वरको हात पनि छ भनि प्रश्न गरिएको छ।

सबै मानव जाति हातेमालो गर्दै अगाडि बढेको हेर्ने अपेक्षा राखिएको यस गीतमा विकास विश्वकर्माको शब्द/संगीत, गंगा जमुना विश्वकर्माको स्वर रहेको छ भने बि बि अनुरागीले एरेञ्ज गरेका छन् । त्यस्तै भिडियोको केही दृष्य प्रिज्म रेकर्डिङ स्टुडियोमा गरिएको छ भने बाँकी भाग बेनी नगरपालिका-६, जामुनाखर्कमा गरिएको छ ।  Muna Entertainment युट्युब च्यानलबाट सार्वजनिक गरिएको यस गीतमा सुमन पन्थी र नरेन्द्र पुनको विशेष सहयोग रहेको बताइएको छ ।