म्याग्दीमा ‘गजल उत्सव’ हुने

  • १८ जेष्ठ २०७६, शनिबार
  • 2087 पटक पढिएको

म्याग्दी १८ जेठ ।   यही जेठ २५ गते शनिबार म्याग्दीको बेनी बजारमा ‘गजल उत्सव’ हुने भएको छ । संस्थाको तेस्रो अधिवेशनसंगै गर्न लागिएको बृहत साहित्यिक कार्यक्रबाट म्याग्देली साहित्य पारखीहरुले पुनः एकपटक फरक साहित्यिक स्वाद लिनेछन् भने त्यसै दिन संस्थाले एक लाख रुपयाँको साहित्यिक अक्षयकोष समेत घोषणा गर्ने छ । उक्त कार्यक्रममा पर्वत, म्याग्दी, बागलुङ, नवलपुर, स्याङ्जा, कैलाली, बैतडी, काठमाडौं, रौतहट, कास्की लगायत विभिन्न जिल्लाहरुका युवा गजलकारहरुको विशेष प्रस्तुती रहने छ भने युवा गजलकारहरुलाई स्थानीय बाद्यबादकहरुले समेत साथ दिने आयोजकले जनाएको छ ।

शिखर होटलमा दिनको दुई बजेबाट शुरु हुने उक्त कार्यक्रमको आयोजक म्याग्दी साहित्य सञ्चार रहेको छ । पछिल्लो समय म्याग्दी जिल्लामा क्रियाशील रहेको उक्त साहित्यिक संस्थाले ‘त्रितालमा गजल’ ‘बुलबुलको आँगनमा स्रष्टा’ ‘गजल साँझ’ जस्ता फरक/फरक कार्यक्रहरु गर्दै साहित्यिक स्रोताहरुलाई फरक साहित्यिक खुराकहरु पस्किरहेको छ । कार्यक्रमको सम्पूर्ण तयारी सकिएको संस्थाका उपाध्यक्ष सन्दीप खत्रीले बताए ।

साहित्यिक विधालाई अनुत्पादक तर वौद्धिक क्षेत्र भनेर चिनिने गरिन्छ । त्यतिमात्र होइन नेपाली साहित्यलाई राज्य पक्षले जुन रुपमा हेर्नुपर्ने थियो त्यस्तो नजरले अहिलेपनि हेर्न नसकेको अवस्था छ । नेपाल सरकारले साहित्यिक क्षेत्रलाई हेर्नको लागि भनेर नेपाल प्रज्ञा प्रतिष्ठान नामक संस्था त खोलेको छ तर त्यसको लाभ  पहुचवाला केही सिमित ब्यक्तिहरुको पेवा जस्तै बनेको छ । राज्य तथा शासन गर्ने प्रतिनिधिहरु साहित्यप्रति अनुदार देखिएपनि केही स्वयम् लेखकहरुले साहित्यिक गतिविधिहरुलाई निरन्तरता दिएर साहित्यलाई जल दिने काम गरेका छन् ।