म्याग्दीमा उम्मेदवार सिफारिस धमाधम

  • ६ बैशाख २०७४, बुधबार
  • 4369 पटक पढिएको

म्याग्दी, ६ बैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि म्याग्दीका राजनीतिक दलले उम्मेदवार छनोट र सिफारिस कार्यलाई तीव्र बनाएका छन् । नेपाली काँग्रेस बेनी नगर समितिको मङ्गलबार बसेको बैठकले नगरपालिकाको प्रमुख पदको उम्मेदवारका लागि नेत्रबहादुर महत, क्याप्टेन मीनबहादुर कार्की र हरिकुमार श्रेष्ठको नाम सिफारिस गर्ने निर्णय गरेको छ । उपप्रमुखका सिफारिस, वडाको अध्यक्ष तथा सदस्यका उम्मेदवार छनोटको विषयमा छलफल सुरु भएको जानकारी दिँदै म्याग्दी काँग्रेसका प्रचार विभाग प्रमुख अजयमिलन श्रेष्ठले एकदुई दिनमा टुङ्गो लाग्ने बताउनुभयो ।

काँग्रेसले मालिका गाउँपालिकाको प्रमुखमा श्रीप्रसाद रोका, उपप्रमुखमा बिमला रोका, अन्नपूर्णको प्रमुखमा डमबहादुर पुन, अन्नपूर्ण–६ को अध्यक्षमा कृष्णप्रसाद बरुवालको नाम सर्वसम्मत सिफारिस गरिसकेको छ । उम्मेदवारको नाम सिफारिसका लागि आन्तरिक छलफल तीव्र बनाएका नेकपा एमालेले अन्नपूर्ण–६ मा गोकुल बरुवाल, बेनपा–१ मा टेकबहादुर रावल र ५ मा लक्ष्मण बानियालाई वडा अध्यक्षको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ ।

बुधबारसम्म सबै स्थानीय तहबाट उम्मेदवारको सिफारिस जिल्लामा आइपुग्ने एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताउनुभयो । बेनी नगरपालिकामा एमालेका प्रमोद श्रेष्ठ, सन्तोष रावल, देवबहादुर घले, सुरत केसी, मुना बानिया र राजकुमार थापा मेयरको उम्मेदवार बन्न आकाङ्क्षी देखिनुभएको छ । नेकपा (माओवादी केन्द्र)ले सबै स्थानीय तह र वडाबाट सिफारिस भएर आएका उम्मेदवारको अन्तिम टुङ्गो लगाएर वैशाख ९ गते घोषणा गर्ने जनाएको छ । माओवादी केन्द्रमा बेनी नगरपालिकाको मेयरको उम्मेदवार बन्न कृष्णबहादुर थापा, शेरबहादुर केसी, विनोद केसी र ज्योति लामिछाने आकाङ्क्षी देखिनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बेनी नगरपालिकामा पूर्वअध्यक्ष एकेन्द्र रावल र उपप्रमुखमा सञ्जु बरुवाल उम्मेदवारको आकाङ्क्षी रहनुभएको छ । राष्ट्रिय जनमोर्चाले फौजबहादुर कार्की (विदुर)लाई मेयर र भुमाकुमारी कार्की (बिष्णु)लाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । केन्द्र विवाद रहेको रघुगङ्गाबाहेक अन्नपूर्ण, धौलागिरि, मालिका र मङ्गला गाउँपालिका तथा त्यसअन्तर्गतका वडाको उम्मेदवार सिफारिसका लागि दलहरूले गृहकार्य तीव्र बनाएका छन् ।

वडा तहका उम्मेदवार जिल्ला तहले र गाउँ तथा नगरपालिका प्रमुख, उपप्रमुखको उम्मेदवार जिल्लाको सिफारिसमा प्रदेशले छनोट गर्ने दलले जनाएका छन् । उम्मेदवार बन्ने आकाङ्क्षी धेरै भएपछि म्याग्दीका प्रमुख दललाई उम्मेदवार छान्न निकै सकस भएकोे छ । एक नगरपालिका, पाँच गाउँपालिका र ४५ वडा रहेको म्याग्दीमा ७२ मतदानस्थल र एक सय दुई मतदान केन्द्र कायम भएका निर्वाचन कार्यालयले जनाएको छ । चुनावबाट दुई सय ३७ जनप्रतिनिधि निर्वाचित हुने जनाइएको छ ।