कालिगण्डकी कोरीडोर प्रशारण लाईन ‘टावर निर्माण धमाधम, तार तान्न सुरु’

  • २५ मंसिर २०७५, मंगलवार
  • कमल खत्री
  • 3927 पटक पढिएको

म्याग्दी, २५ मङ्सिर । म्याग्दी र मुस्ताङमा जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत केन्द्रिय प्रशारण लााईनमा जोड्नको लागि निर्माण सुरु गरिएको कालिगण्डकी कोरीडोर प्रशारण लाईनको निर्माण कामले गति लिएको छ । कोरीडोर अन्र्तगत म्याग्दीको दानादेखी पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको ३९ किलोमिटर लामो प्रशारण लाईन र सबस्टेशन निर्माण कार्यले गति लिएको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना र पर्वतको कुश्मा नगरपालिका–१ खुर्कोटमा विद्युत सबस्टेशन निर्माण भैरहेको छ ।

दानामा ७० र खुर्कोटमा ६० प्रतिशत निर्माण कार्य सकिएको यस आयोजनाको टावर निर्माणसंगै तार तान्ने काम समेत अघि बढाईएको आयोजनाका सहायक निर्देशक रमेश खड्काले जानकारी दिए । ‘‘ दाना–खुर्कोटसम्म ११४ वटा टावर निर्माण गर्नुपर्नेमा हालसम्म ६५ वटाको टावर निर्माण सम्पन्न भएको छ, २० बढी ठाउँमा फाउण्डेशन तयार भएको छ, तिप्ल्याङ, महभिर र धाईरिङबाट तार तान्ने काम पनि संगसंगै अघि बढेको छ’’– सहायक निर्देशक खड्काले भने ।

एशियाली विकास बैङ्कको ऋण सहयोगमा करिब २ अर्ब ७५ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको जेभी टाटा एण्ड चिन्ट ईलेक्ट्रीक कम्प्नीले सन २०१६ को सेप्सेम्बरदेखि निर्माण कार्य सुरु गरेको थियो । २०१८ को नोबेम्बरमा सम्पन्न गर्ने लक्ष्य सहित निर्माण कार्य सुरु गरिएपनि सरकारी प्रकृया, मुआब्जा लगायतको विविध कारण निर्धारित मितिमा काम सम्पन्न गर्न नसकेपछि ६ महिना समय थप भएको छ । ‘‘अहिलेसम्म करिब ७५ प्रतिशत काम सम्पन्न भएको छ, केही ठाउँमा स्थानीयको विवादका कारण काम हुन नसकेपनि आयोजनाको कामले गति लिएको छ, थप भएको समयभित्रै सम्पन्न गर्नेतर्फ हाम्रो जोड छ’’–आयोजनाका प्रमुख चन्दनकुमार घोषले भने ।

कालिगण्डकी कोरीडोर राष्ट्रिय प्रशारण लाईन मार्फत म्याग्दी र मुस्ताङमा निर्माण भएका र निर्माणधिन जलविद्यूत अयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रशारणमा जोडिनेछ । यो प्रशारण लाईन अन्तर्गत १३ मेगावाट क्षमत्ताको थापाखोला जलविद्युत आयोजनाले उत्पादन सुरु गरिसकेको छ भने म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ५ मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला, १४ मेगावाटको घारखोला, १०० मेगावाटको निलगिरी र निलगिरी क्यास्केट निर्माणाधिन अवस्थामा छन् ।

त्यस्तै रघुगंगा गाउँपालिकामा ४० मेगावाटको राहुघाटले समेत निर्माण कार्य सुरु गरेको छ भने अन्नपूर्ण गाउँपालिकामै १६४ मेगावाटको कालीगण्डकी गर्ज, ६२ मेगावाटको निलगिरी, ३८ मेगावाटको निलगिरी क्यास्केट लगायतका आयोजनाले काम सुरु गर्ने तयारी गरेका छन् । कालिगण्डकी र यहाँका सहायक खोलानालाबाट विद्युत उत्पादनको लाइसेन्स लिएर बसेकाहरु प्रशारण लाइन निर्माणले गति लिएसंगै पूर्वाधार निर्माणमा जुट्न थालेका हुन् ।
                                 टावर सार्न माग
दाना–खुर्कोट प्रशारण लाईनबाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखेरेबगरका स्थानीयबासीले घर र खेतीयोग्य जमिनलाई प्रभावित गराउने गरि प्रशारण लाईन निर्माण गर्न लागिएको भन्दै प्रशारण लाईनको टावर सार्न माग गरेका छन् । केही घरधुरीको घर र सम्भावित बस्ती विकासको सम्भावना रहेको ठाउँ हुँदै टावर निर्माण र लाईन विस्तार हुने भएपछि स्थानीयबासीले पोखरेबगरको बस्तीलाई छलेर टावर निर्माण गर्न माग गरेका छन् । त्यस्तै प्रशारण लाइनदेखि मुनी पर्ने र टावरको लागी अधिकरण गर्ने जग्गाबिचमा असमान तवरले मुआब्जा निर्धारण गरिएकोमा प्रभावित क्षेत्रका बासिन्दाहरुले मुआब्जा निर्धारणलाई पुर्नमुल्यांकन गर्न माग गर्दै आएका छन् । स्थानीयबासीको गुनासहरुलाई उर्जा मन्त्री सामु पु¥याईएको र सम्भव हुन सक्ने समस्याहरुको हल गर्न पहल गरिएको म्याग्दीका प्रतिनिधि सभाका साँसद भुपेन्द्रबहादुर थापाले बताए । यता जलजला गाउँपालिकाको मल्लाजका स्थानीयले समेत टावर निर्माणप्रति आपत्ती जनाएका छन् । पोखरेबगर र मल्लाजमा केही समस्या देखिएपनि अन्य ठाउँको कामलाई भने गति दिईएको आयोजनाले जनाएको छ ।
                     जग्गा अधिकरणको काम अन्तिम चरणमा
यस आयोजनाले प्रशारण लाईनको टावर रहने जग्गा अधिग्रहणका लागि साढे सात करोड रुपैया भन्दा बढी मुआब्जा वितरण गरिसकेको छ । टावरका लागि ९३ रोपनी जग्गा अधिग्रहण गर्दा मुआब्जा मुल्या्कन समितिको निर्णय अुनसार, म्याग्दीमा ९० जनालाई ४ करोड २० लाख र पर्वतमा ८८ जनालाई ३ करोड ७० लाख मुआब्जा दिनुपर्छ । तर अहिलेसम्म म्याग्दीका ७० जनाले कुल साढे ३ करोड र पर्वतका ७५ जनाले ३ करोड मुआब्जा बुझेको आयोजनाका लेखापाल गोविन्द प्रसाद शर्माले जानकारी दिए ।
प्रकृया पुरा गरि आएका सबै लाभग्राहीलाई मुआब्जा वितरण भैरहेको र केही ठाउँमा एउटै जग्गामा हकदावी धेरै भएको कारण जग्गा पहिचान गरि मुआब्जा दिने तयारी गरिएको आयोजनाले जनाएको छ ।
                            ४ हजार बढी रुख काटीँदै
यस आयोजना अन्र्तगत म्याग्दी र खुर्कोट बिचमा पर्ने ४ हजार २०८ वटा रुख काटीने भएको छ । रुख काट्नको लागि आयोजनाले प्रतिबोट २५ वटा विरुवा रोपण गरि सट्टा भर्ना गरिदिनुपर्छ । २ दशमल ५८६९ हेक्टर बन सट्टा भर्ना स्वरुप विक्षारोपणको लागि आबश्यक पर्ने भएपनि अहिलेसम्म उपयुक्त जग्गा प्राप्त हुन नसकेको आयोजनाका सहायक प्रशासकिय अधिकृत जगदिश लामिछानेले बताए । उनले सम्झौता अनुसार क्षतीपूर्ति स्वरुप रकम उपलब्ध गराउन सकिने प्रावधान रहेपनि सो रकमको बारेमा एकिनको लागि बन विभागमा पत्राचार गरिएको जानकारी दिए । आयोजनाले यस क्षेत्रमा पर्ने २१ वटा सामुदायिक बनसंग सम्झौता गरि नर्सरी र हेरचाहको बन्दोबस्त गर्ने तयारी समेत गरेको छ ।
                                       यसरी पाउँछ पूर्णता
विद्युत प्राधिकरणले म्याग्दीको दानादेखि नवलपरासीको बर्दाघाट सम्म जोड्ने १४३ किलोमिटर लामो कालिगण्डकी कोरीडोर प्रशारण आयोजनाको पहिलो चरणमा दाना–खुर्कोटमा सब स्टेशन र ३९ किलोमिटर लामो प्रशारण लाइन निर्माणको काम अघि बढाएको छ । यसलाई बर्दाघाट सम्म जोड्न अन्य तीन चरणका कामलाई समेत अघि बढाएको छ । खुर्कोटदेखि न्यु वुटवल (बडेरा) ८८ किलोमिटर दुरीको प्रशारण लाईनको सर्भेको काम सकिएको छ भने बडेरामा सबस्टेशन निर्माणको लागि जग्गा अधिकरण गरि काम सुरु भएको छ । बडेरादेखि बर्दाघाट सम्मको १६ किलोमिटर लामो प्रशारण लाईन र शबस्टेशन निर्माणको काम भने डेण्डर मुल्यांकन र वातावरणीय प्रभाब अध्ययनको क्रममा रहेको आयोजनाका सहायक निर्देशक खड्काले जानकारी दिए ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l