खेल पूर्वाधारमा प्राथमिकता दिनुपर्ने सांसद केसीको भनाई

  • १७ भाद्र २०७५, आईतवार
  • 1559 पटक पढिएको

बेनी १७ भदौ । गण्डकी प्रदेशका सांसद बिनोद केसीले खेलकुदको विकासका लागि पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । राधाकृष्ण सामुदायीक कल्वले बेनपा २ गौस्वारामा आयोजना गरेको कृष्ण जन्माष्टमी पर्वको अवसरमा आयोजित खेलकुद प्रतियोगिताको शनिबार उद्घाटन गर्नुहुदै सांसद केसीले नेपाललाई विश्वमा चिनाउने माध्यम खेलकुद भएको बताउनुभयो । उहाँले ब्यवस्थित खेलमैदान निर्माण र खेल प्रशिक्षण सञ्चालनका लागि प्रदेश सरकारसंग पहल गरिएको बताउनुभयो ।

खेलकुदलाई ब्यवस्थित र ब्यवसायीक हिसाबले अघि बढाउनुपर्ने सांसद केसीको भनाई थियो । वडा अध्यक्ष हिराबहादुर थापाले गौस्वाराको सडक समस्या समाधानका लागि सांसद केसी मार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले बेनी ज्यामरुककोट गौस्वारा हुदै पञ्चकोट जोड्ने धार्मीक पदमार्ग सञ्चालनको सम्भावना रहेको बताउनुभयो ।

कल्वका अध्यक्ष अधिराज मल्लको अध्यक्षता, भुपु अध्यक्ष तथा राधाकृष्ण आधारभुत विद्यालयका प्रअ कृष्णबहादुर घिमीरेको स्वागत मन्तब्य र कृष्ण कार्कीको सञ्चालनमा सम्पन्न कार्यक्रममा ब्यवसायी डम्मर सापकोटा लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । कलाकारहरु कृष्ण सुवेदी, सजना बास्तोला, केपीकुमार जलन, दिपेन थापाले गित प्रस्तुत गर्नुभएको थियो । आईतबारदेखि भलिबल, ठेलो फाल्ने, लठो तान्ने लगायतका खेलकुद प्रतियोगिता हुने कल्वले जनाएको छ ।