मार्कण्ड्य सहकारीको तेस्रो साधारणसभा

  • १७ भाद्र २०७५, आईतवार
  • 1684 पटक पढिएको

म्याग्दी, भदौ १७। पर्वतको जलजला गाउँपालिका–७, मिलनचोकमा सञ्चालित मार्कण्ड्य उद्यमसिल सहकारी संस्थाको शनिबार तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । कुल २२५ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी २७ लाख ९४ हजार, लगानी ५६ लाख ७५ हजार ४३० र कुल कारोबार ६५ लाख २१ हजार ८४५ रुपैयाँ रहेको छ ।
यसअघि साधारणसभाको उद्घाटनसत्रमा संस्थाका सचिव बिसमाया पुनले प्रगति र कोषाध्यक्ष उषा मल्लले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको अवसरमा असल ऋणी तारादेवी थापा, उत्कृष्ट बचतकर्ता तुलसी घर्ती, बाल बचत मेघ्ना क्षत्री र सबै प्रकारको बचतकर्ता सुनिता बरुवाललाई सम्मान गरिएको थियो ।

साधारणसभामा सहकारीले जलजला–७ र ८ का विपन्न मनमाया गिरी तथा रुपा दमाईलाई नगद पाँचहजार रुपैयाँ शेयर हस्तान्तरण गरिएको शेयर सदस्य पुजा केसीले जानकारी दिएकी छिन् । साधारणसभाको उद्घाटन गर्दै जलजला गाउँपालिकाका कार्यपालिका सदस्य बालकुमारी जिसीले सहकारी संघसंस्थाले व्यवसायिक र उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताइन् । कार्यक्रममा संस्थाका सल्लाहकार लक्ष्मीकुमारी हमाल र ऋण उपसमिति सदस्य रिता दर्जीले मन्तव्य राखेका थिए । कार्यक्रम सहकारीका अध्यक्ष भविसरा विकको अध्यक्षता, उपाध्यक्ष अनिता शर्माको स्वागत र सचिव बिसमाया पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैबीच शनिबारै सम्पन्न सहकारीको दोस्रो अधिवेशनले उषा मल्ल अध्यक्ष, तारादेवी थापा उपाध्यक्ष, बिसमाया पाईजा पुन सचिव, रिता दर्जी कोषाध्यक्ष र मिना हमाल सहसचिव रहेको नयाँ सञ्चालक समिति चयन गरेको संस्थाले जनाएको छ । सहकारीको कार्यसमिति सदस्यहरुमा तारादेवी पूर्जा, एकता शाही मल्ल, रुद्रमति सापकोटा, टुककुमारी परियार, सपना शर्मा र मायादेवी हमाल निर्वाचित भएका छन् ।