सिङ्गामा लिफ्टीङ प्रविधि मार्फत सिँचाइ आयोजना अघि बढाईने

  • १६ भाद्र २०७५, शनिबार
  • 1909 पटक पढिएको

म्याग्दी, १६ भदौ । बेनी नगरपालिकाले वडा नं. ४ सिङ्गामा लिफ्ट प्रविधिको सिँचाइ आयोजना निर्माण गर्ने योजना अघि सारेको छ । बस्ती तलको म्याग्दी नदीमा बगेर खेर गइरहेको पानी तानेर खेतीयोग्य जमीनमा सिँचाई गरी खाद्यबाली, तरकारी र फलफूल उत्पादन वृद्धि गर्ने नगरपालिकाको योजना छ् । सिँचाइको अभावमा खेतीयोग्य जमीन बाँझो बस्ने समस्या न्यूनीकरण गरी रोजगारी र आयआर्जनको अवसर सिर्जना गराउन लिफ्ट प्रविधिको सिँचाइ आयोजना अघि सारिएको वडाध्यक्ष गोविन्द्रप्रसाद पौडेलले बताउनुभयो । उहाँले चालु आर्थिक वर्ष २०७५÷७६ मा सिङ्गामा लिफ्ट सिँचाइ आयोजनालाई प्राथमिकताका साथ बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

पाँचवटा लिफ्ट प्रविधिको सिँचाइ योजना निर्माण गर्न रु ३२ लाख विनियोजन गरिएको छ । सुर्केमेलालाई रु १० लाख, सिङ्गा कुना ताललाई रु नौ लाख, ठूलोखोलामा गतवर्ष शुरु भएको योजनालाई सम्पन्न गर्न रु तीन लाख र बास्कुनाको अधूरो सिँचाइ टङ्कीलाई पूर्णता दिन रु पाँच लाख विनियोजन गरेको वडाध्यक्ष पौडेलले बताउनुभयो । सर्वेक्षण गरी उपभोक्ता समितिमार्फत योजना कार्यान्वयन गरिने भएको छ । विद्युतीय उपकरणको प्रयोग गरेर म्याग्दी नदीको पानीलाई तानेर खेतमा बाह्ै महिना सिँचाइ सुविधा उपलब्ध गराउने जनाइएको छ । सिङ्गा खाद्यबाली, तरकारी र फलफूलखेतीका हिसाबले सम्भावना बोकेको ठाउँ हो । सिचाईको अभावका कारण समस्यामा परेका कृषकहरुलाई लिफ्ट प्रबिधिको सिचाईले राहत दिने अपेक्षा गरिएको छ ।