नेकपा म्याग्दीद्धारा एकिकृत सम्पत्ति मूल्याङ्कनलाई वैज्ञानिक बनाउन पहल

  • १५ भाद्र २०७५, शुक्रबार
  • 1513 पटक पढिएको

बेनी १५ भदौ । नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले बेनी नगरपालिकाको एकिकृत सम्पत्ति करका लागि गरिएको सम्पत्ति मूल्याङकनलाई वैज्ञानिक बनाउन पहल थालेको छ । अवैज्ञानिक रुपमा भएको सम्पत्ति मूल्याङकनका कारण मर्कामा परेको नगरबासीको गुनासो बढेपछि नेकपाले आफ्ना पार्टीबाट नगर कार्यपालिकामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधीहरुलाई शुक्रबार कार्यालयमा बोलाएर छलफल गरेको छ ।

छलफलमा प्रदेशसभा सदस्य बिनोद केसी, नेताहरु हरिकृष्ण श्रेष्ठ, गोविन्द पौडेल, प्रमोद श्रेष्ठ, राजकुमार थापा लगायत नेकपाका नेता, वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुको सहभागीता रहेको थियो ।  छलफलपछि नगरपालिकाले लागू गरेको एकिकृत सम्पत्तिकरको बारेमा फैलाइएको भ्रमलाई न्युनीकरण गर्न, सम्पत्तिकरको मूल्याङकनलाई वैज्ञानीक बनाउन र करको दायरा बढाउन पहल गर्न जनप्रतिनिधिहरुलाई निर्देशन दिएको नेकपाका नेता द्धय श्रेष्ठ र पौडेलले बताउनुभयो ।

जनप्रतिनिधिहरुले केही ठाउँमा सडकसंग जोडिएको घडेरी र त्यससंगै रहेको पाखोलाई एउटै आधारमा मूल्याङकन गरिदा नागरीकलाई मर्का परेको पहिचान भएपछि संसोधनको प्रक्रिया अघि बढाइएको जानकारी गराउनुभएको थियो ।