दुवाडीमा नयाँ खेल मैदान

  • १४ भाद्र २०७५, बिहीबार
  • 2241 पटक पढिएको


बेनी, १४ भदाैँ ।म्याग्दीको रघुगंगा–८ दुवाडीमा खेल मैदान निर्माण भएको छ । वडा कार्यालयको पाँच लाख रुपैयाँ सहयोगमा स्थानीय काली बराह युवा क्लबले नयाँ खेल मैदान निर्माण गरेको हो ।
पुरानो खेल मैदान र विद्यालय एकै स्थानमा हुँदा विद्यार्थीहरुको पठनपाठन समस्या सिर्जना भएकोले नयाँ खेल मैदान निर्माण गरिएको क्लबका सचिब अमर छन्त्यालले जानकारी दिनुभयो । यसअघि क्लब र विद्यालयको खेलमैदान एउटै स्थानमा हुँदा मेलापर्व र खेलकुद गतिविधी सञ्चालनमा समस्या भएको थियो । ‘विद्यार्थीहरुको पठनपाठनलाई ध्यानमा राखेर नयाँ स्थानमा खेलमैदान निर्माण गरेका हौँ ।
यो मैदान सबैलाई पायक पनि पर्छ’, उहाँले भन्नुभयो । खेल मैदान निर्माणमा वडा कार्यालयको सहयोगका अतिरिक्त युवा क्लब र स्थानीय आमा समूहले जनश्रमदान समेत गरेको क्लबका अध्यक्ष रुपेश छन्त्यालले जानकारी दिनुभयो । यसैबीच, सोही खेलमैदानको उद्घाटनसँगै जनैपूर्णिमा देखि क्लबले खेलकुद प्रतियोगितामा पनि सञ्चालन हुदैछ ।
परम्परागत रुपमा मनाइदै आएको प्रतियोगितालाई यसबर्ष नयाँ खेलमैदानमा सञ्चालन गर्न लागिएको क्लबले जनाएको छ । मेलामा पुरुष भलिबल तथा बास्केटबल, महिला भलिबल, छेलो र अन्धनिशान जस्ता प्रतियोगिता सञ्चालन हुने मेलाअध्यक्ष मनुस छन्त्यालले जानकारी दिनुभयो ।