फोक्सोको समस्याबाट थलिएकी बेगकी खिमकुमारीको जिवनरक्षाको लागि अपिल

  • १३ भाद्र २०७५, बुधबार
  • 2505 पटक पढिएको

म्याग्दी, १३ भदौ । फोक्सोमा गम्भिर समस्या देखिएर अस्पतालमा उपचाररत म्याग्दीको रघुगंगा गाउँपालिका–१ की खिमकुमारी शर्मा (जयन्ती)को जिवनरक्षाको लागि घरपरिवारले सहयोगको अपिल गरेका छन् । बेग स्थित सिमफाँट घर भई हाल जलजला गाउँपालिका– ३ पर्वत बेनीमा बसोबास गर्दै आएकी ४२ बर्षिया शर्माको उपचारको लागि लाखौँ खर्च लाग्ने र घरपरिवारको आर्थिक अबस्थाले थेग्न नसकेपछि सहयोगको लागि अपिल गरिएको हो ।

स्वास्थ्यमा अकस्मात समस्या आएपछि पोखरा मणिपाल अस्पलालमा भर्ना गरि स्वास्थ्य उपचार गर्दा फोक्सोको निमोनियाबाट गम्भिर समस्या भएको पक्ता लागेपछि हाल शर्माको काठमाण्डौ स्थित ग्राण्डी अस्पतालमा उपचार भैरहेको छ । साउन ३१ गते बेनी अस्पतालबाट रिफर गरि मणिपाल हुँदै ग्राण्डी अस्पतालमा उपचाररत शर्माको उपचारको लागि ठुलो आर्थिक खर्च लाग्ने भएकाले सबै सहयोगदाताहरुलाई सहयोगको लागि अनुरोध गरिएको उहाँका श्रीमान फणिण्द्र शर्मा आचार्यले बताउनुभयो ।

शर्माको उपचारको लागि अहिलेसम्म १५ लाख भन्दा बढी खर्च भैसकेको उहाँका आफन्त देवी कुमारी आचार्य रेग्मीले बताउनुभयो । शर्माको परिवारले सामान्य डेरी पसल गरि जिविकोपार्जन गर्दै आएका थिए । ‘‘उपचारमा ठुलो खर्च लाग्ने स्वास्थ्य समस्या आएपछि समस्या भएको छ, अहिलेसम्मको उपचार खर्च पनि ऋण नै काटेर पठाएका छौँ, डाक्टरहरुले उपचार सम्भव रहेको तर खर्च ठुलो लाग्छ भनेका छन्, सबै मनकारीहरुले सहयोग गर्न अनुरोध गरेका छौँ’’–रेग्मीले भन्नुभयो ।

शर्माको उपचारको लागि अहिले सम्म रु २ लाख २८ हजार बढी रकम संकलन भएको छ । लायन्स कल्व अफ बेनी मल्लाजले ९२ हजार ४ सय २०, पर्वत बेनीको सफल महिला बहुउदेश्यीय सहकारी संस्थाले ३१ हजार, नारायण पौडेलले रु १५ हजार, कृष्ण केसीले रु १० हजार, कासिराम रेग्मीको परिवारबाट रु २० हजार, लक्ष्मी पौडेल (कृष्ण)ले रु १५ हजार, अग्नीखेत सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष मुरारी रिजाल र थाकनपोखरी आमा समुहका अध्यक्ष हुमकुमारी रेग्मी (गिता)को पहलमा रु ४० हजार ३४५, गोपाल रेग्मीले रु २ हजार, निलम मल्लले रु २ हजार १ सय र बब्लु मिश्रमले रु १ हजार ५ सहयोग गर्नुभएको छ ।
सहयोगदाताहरुको लागि सम्पर्क नम्बर :  ९८४७६४२०५७/९८५७६२४६९५/९८५७६४०२५२
सहयोग गर्न ईच्छुक महानुभावहरुको लागि खाता नम्बर :
बैँक अफ काठमाण्डौमा विरामी शर्माका श्रीमान फणीन्द्र शर्मा आचार्य  : ०३४००००००७४२