पहिरोको जोखिममा लमसुङ गाउँ

  • १२ भाद्र २०७५, मंगलवार
  • 3343 पटक पढिएको

 

म्याग्दी १०भदौ । म्याग्दीको धवलागिरी गाउँपालिका २ स्थित लमसुङ गाउँ पहिरोको जोखिममा परेको छ । लमसुङ गाउँको शिरानमा रहेको जुगेपानीभन्ने ठाउँबाट विगतदुई वर्षदेखि निरन्तरको पहिरोका कारण बस्तीसंगै विद्यालय र स्वास्थ्य चौकीको भवन जोखिममा परेको हो । केही दिन यता पहिरोले बस्तीतर्फ निरन्तर कटान गरेकाले स्थानीयबासी त्रसीत भएका लमसुङ माविकी शिक्षीका बालदेवी पुनले बताईन ।


पहिरो नियन्त्रणका लागि जलउत्पन्न प्रकोप ब्यवस्थापन कार्यालय बागलुङले गतवर्ष लगाएको तारजाली ग्यावियन पर्खाल समेत बगाएर क्षत्ती पु¥याएको छ । दरखोलाको किनार र जुगेपानीको फेदीमा अवस्थित लमसुङ गाउँमा पचास भन्दा बढी घरपरिवारको बसोबास छ ।पहिरोको डरले स्थानीयबासीहरु रातको समयमा सुरक्षित स्थानमा रहेको आफन्तकोमा गएर बस्ने गरेका छन् । घोडेटो बाटो बगाएपछि गाउँपालिकाको केन्द्र मुना देखि लमसुङ, ढोरपाटन र गुर्जा आवतजावत गर्ने स्थानीयबासीलाई सास्ती भएको छ ।

धनमाने देखि खोरीयाहुदै लमसुङको जोड्ने घुमाउरो बाटोको प्रयोग गर्नुपर्ने बाध्यता भएको छ । दश मिनेटको बाटो पार गर्न करिब एक घण्टाको घुमाउरो बाटो हिड्नुपर्ने भएको छ । दैनिक उपभोग्य सामान ढुवानी र गाउँमा उत्पादन भएको कृषि उपज निकासीमा समस्याभएको छ ।

दुई वर्षअघि सोहीपहिरोले ३५ किलोवाट क्षमत्ताको दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको नहर र विद्युत गृह पुरेपछि लुलाङका करिब साढे दुई सय घरधुरी हालसम्म अन्धकारमा रात कटाउन बाध्यभएका छन् । गाउँपालिकाले नयाँ ठाउँमा परियोजना पुर्न–निर्माणका लागि पहल गरेको वडा अध्यक्ष गमप्रसाद बिकले बताए ।

गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले जुगेपानिको पहिरोको दिर्घकालीन रोकथाम आवश्यक रहेको बताए । ठूलो र लामो दुरीको पहिरो नियन्त्रणका लागि बृहत योजनाका लागि पहल गरिएको उपाध्यक्ष छन्त्यालले बताए ।