अध्यक्ष पुनद्वारा विद्यालयलाई सहयोग

  • १२ भाद्र २०७५, मंगलवार
  • 1749 पटक पढिएको

म्याग्दी १० भदौ÷ म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले सरकारले जनप्रतिनिधिका हैसीयतमा पारिश्रमीक वापत दिएको रकम बाढीले बगाएको विद्यालयको भवन पुननिर्माणका लागि सहयोग गर्नुभएको छ ।२०७५ साउन २९ गते कालीगण्डकीमा आएको बाढीले बगाएको अन्नपूर्ण गाउँपालिका ४ कोप्चेपानीको धवलागिरी आधारभुत विद्यालयको भवन पुननिर्माणका लागि आईतबार अध्यक्ष पुनले पचास हजार रुपैया उपलब्ध गराएका हुन् । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दुर्गा खड्कालाई रकम हस्तान्तरण गरिएको हो ।

अध्यक्ष पुनले भवन पुननिर्माणका लागि प्रदेश र संघीय सरकारसंग पहल गरिएको बताउदै तत्कालीन ब्यवस्थापनका लागि व्यक्तिगत रुपमा सहयोग गरिएको बताए । अध्यक्ष पुनले यसअघि परिवारको कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा हासीलका लागि क्याम्पसमा भर्ना हुन नसकेर समस्यामा परेका अन्नपूर्ण गाउँपालिका ५ पाउद्धारका काजल रोका पुनलाई व्यक्तिगत रुपमा पचास हजार रुपैया सहयोग गरेका थिए ।पारिश्रमीक वापत पाएको रकम कोषमा जम्मा गरेर पालिकाका गरिब, विपन्न र अनाथ बालबालिकालाई सहयोग गर्ने अध्यक्ष पुनले बताए । गण्डकी प्रदेश सरकारले गाउँपालिकाका अध्यक्षलाई मासिक तिस हजार रुपैया तलब सुबिधा कायम गरेको छ ।

कालीगण्डकीमा आएको बाढीले कटान गरेर ६ कोठे भवन बगाएपछि विद्यालयले स्थानीय एक व्यक्तिको घरमा पठनपाठन सञ्चालन गरेको प्रअ शान्ति राम्जालीले बताईन । बालबालिकाहरु भुईमा बिछ्याइएको म्याट्रेसमा बसेर पढ्दै आएका छन् ।सहज पठनपाठनका लागि डेक्स, बेञ्च, ह्वाईट वोर्ड लगायतका फर्नीचरका सामाग्रीको आवश्यकता रहेको प्रअ राम्जालीले बताईन । कालीगण्डकीले कटान गर्दा विद्यालय परिसरमा रहेको आमा समूहको भवन बगाउँदा पच्चिस लाख रुपैया बराबरको क्षत्ती भएको थियो । कटानको जोखिम बढेपछि कोप्चेपानीका दश घरपरिवार विस्थापित भएका छन् ।