गलेश्वर–राखु सडकले रघुगंगाबासीलाई सास्ती
- ७ भाद्र २०७५, बिहीबार
- धिरन खत्री
- 2571 पटक पढिएको
म्याग्दी, ७ भदौँ । दैनिक दर्जनौ सवारी साधन गुड्ने गलेश्वर–राखुभगवती सडक निर्माण भएको एक दशक वितिसक्दा पनि सधै यात्रुलाई सास्ती पुर्ण बनिरहेको छ । म्याग्दीको रघुगंगा गाउँपालिकाको–३ पिप्लेको गलेश्वरदेखि पिप्ले, भगवती हुँदै बेखखोला क्षेत्रको सडकको स्तरोन्नतीको करोडौ खर्च गरिएपनि सडकको अबस्थाले जिर्ण हुदाँ यात्रुलाई सास्तीपुर्ण भएको हो ।
सडकको स्तरोन्नतीको लागि ठुलो बजेट परिचालन हुँदा समेत सडकको अबस्था यथोचित रुपमा सुधार नहुँदा रघुगंगा गाउँपालिकाको बहुसंख्यक नागरिकहरु सास्ती भोग्दै आएका छन् । करोडौँ बजेटले सडक फराकिलो बनाउने कार्य बर्षैपिच्छे भइराखेपनि भलबाढी तर्काउनको लागि नालि निर्माण नहुनु र हिलो भएको ठाउँहरुमा ग्राभेल नगरेको कारण अहिले यो सडकको अधिकाँश क्षेत्र जिर्ण बनेको छ । गाउँपालिकाको १, २, ३, ४, ७ र ८ वडाका नागरिकहरुले आवत जावत गर्दै आएका छन् ।
पानीपर्दा हिलोमा यातायातका साधन फस्ने र साधनको महत्वपुर्ण सामानहरु भाचिने हुँदा भाडा समेत बढाउनुपर्ने र यात्रा समेत कष्टकर हुने गरेको सवारी चालक बताउछन् । बर्षासंगै सडकको अबस्था जिर्ण बनेपछि यातायातका साधनहरु हिलोमा जोखिम बन्ने गरेको बताउछन् ।
विनियोजन भएको रकम डोजरमात्र प्रयोग गरेरमात्र खन्दा भिरालो जमिनमा हिलो धुलोमा लाखौ रकम खेर गएको यात्रुहरु बताउछन् ।सदरमुकाम बेनीको बसपार्कबाट सहज रुपमा यातयात सुचारु भएमा १ घण्टामा राखु भगवती मैदान पुग्न सकिने भएपनि अहिले प्रतिव्यक्ति रु ३ सय रुपैयाँ भाडा तिर्न बाध्य छन् ।
२०६४ सालमा गलेश्वर देखि राखुसम्म उक्त सडकको ट्रयाक खोलिएको थियो । त्यसको स्तरोन्नतीका लागि बजेट विनियोजन गरेर खर्च गरेपनि रघुगंगा गाउँपालिकाका ५ वटा वडालाई जोखिम र महङ्गी सधै भोग्नु परेको छ । गाउँपालिकाकै बहुसंख्यक वडाका बासिन्दाहरुलाई आवत जावतको लागि लाईफ लाईन मानिने यस सडकलाई भरपर्दो रुपमा सवारी साधन सञ्चालन गर्न, स्तरोन्नती लागि जनप्रतिनिधि क्रियाशिल हुन आवश्यक देखिन्छ ।
![](https://myagdionline.com/wp-content/themes/myagdi/assets/images/dhiren.jpg)
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l