नेकपा म्याग्दीको नेतृत्वमा को ?

  • ७ भाद्र २०७५, बिहीबार
  • 4450 पटक पढिएको

म्याग्दी, ७ भदौ । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टीको जिल्ला र प्रदेश स्तरीय कमिटी निर्माणको गृहकार्य भैरहको छ । जिल्लाबाट सिफारिस भएर गएको नामावलीहरुलाई प्रदेश स्तरीय कार्यदलले पार्टी केन्द्रलाई बुझाईसकेकाले अब केही दिनमै जिल्ला स्तरीय कमिटीको टुंगो लाग्ने निश्चित छ ।
दुई पार्टी मिलेर बनेको नेकपा म्याग्दीको नेतृत्वमा को आउँछ भन्ने चर्चा यतिबेला म्याग्दीमा छलफल र चर्चाको बिषय बनेको छ । पार्टी केन्द्रले जिल्ला स्थित कमिटी निर्माण गर्दा तत्कालिन एक पार्टीका नेता अध्यक्षमा चयन भए अर्को तर्फका नेतालाई सचिबको जिम्मेवारी दिने गरि तयारी थालेको छ ।

नेकपा म्याग्दीको अध्यक्ष पदमा यतिबेला हरिकृष्ण श्रेष्ठ र गोविन्द पौडेल मध्य एक जना हुने निश्चित भएपनि कस्को पोल्टामा पर्छ भन्ने अझै टुंगीएको छैन् । साविकका दुबै पार्टीका नेताहरु सम्मिलित एकता संयोजन कार्यदलले जिल्ला पार्टीको नेतृत्वको लागि हरिकृष्ण श्रेष्ठ र गोविन्द पौडेलको नाम सिफारिस गरेको छ । तत्कालिन दुबै पार्टीको तर्फबाट ५÷५ जना सदस्य सम्मीलित कार्यदलले सर्वसम्मत रुपमा अध्यक्ष पदको लागि श्रेष्ठ र पौडेलको नाम टुंगो लगाएर पठाएको हो । पार्टी एकता अघि श्रेष्ठ एमाले र पौडेल माओवादी केन्द्रको जिल्ला कमिटीको नेतृत्वमा थिए । जिल्ला पार्टीको नेतृत्वको लागि नेताहरुले आ–आफ्नो तर्फबाट लबिङ समेत थालेका छन् ।

त्यसैगरि पार्टी केन्द्रलाई ९० जनाको जिल्ला कमिटीको प्रस्तावित नामावली समेत पठाइसकिएको नेकपाका नेता देवेन्द्र बहादुर केसीले जानकारी दिनुभयो । पुर्व एमालेका ५६ र पुर्व माओवादी केन्द्रका ३९ गरि ९५ जनाको जिल्ला कमिटी निर्माण गर्न जिल्ला कार्यदलले प्रस्ताब पठाएको छ । केन्द्रिय कार्यालयले परिमार्जन विधान अनुसार म्याग्दीलाई ९० जनाको जिल्ला कमिटीको सख्ंयाको सिमा बढाएर १३५ जना सम्मको बनाउन सक्ने परिपत्र पठाएपनि थप जिल्ला कमिटी सदस्यहरुको नामावली सिफारिसबारे छलफल भैरहेपनि टुंगोमा पुग्न नसकिएको नेकपाका नेता शेरबहादुर केसीले बताउनुभयो ।

अध्यक्षमा पूर्व एमालेको तर्फबाट श्रेष्ठ र पूर्व माओवादीको तर्फबाट पौडेलको नाम सिफारिस हुँदा सचिब पदको लागी समेत आकाँक्षीहरु बढ्न थालेका छन् । पूर्व एमालेको तर्फबाट अध्यक्ष तोकिएर आएमा पूर्व माओवादीका नेता शेरबहादुर केसी र टेकबहादुर विक मध्ये एक सचिब बन्ने निश्चित छ । यता पूर्व माओवादीका पौडेललाई अध्यक्ष तोकिएर आएमा पूर्व एमालेको तर्फबाट बालकृष्ण सुवेदी सचिब हुने चर्चा छ ।

सुवेदीले कार्यदलको बैठकमै अध्यक्ष पदमै दावी पेश गर्नुभएको थियो । तर अध्यक्ष पदमा २ जनाको मात्रै नाम सिफारिस गर्ने भएपछि सुवेदी पछि हट्नुपरेको थियो। पार्टीको केन्द्रिय कार्यालयले भदौ ७ भित्रै प्रस्तावित जिल्ला कमिटीको टुंगो लगाएर पठाउन निर्देशन गरेको छ भने छिट्टै बस्ने स्थायी कमिटीले जिल्ला कमिटिको टुंगो लगाउने बताइएको छ । प्रदेश कमिटीको लागि समेत पूर्व एमालेको तर्फबाट ८ र पूर्व माओवादीको तर्फबाट ९ जनाको नाम पार्टी एकताको लागि बनेको तत्कालिन एमाले र माओवादीका छुट्टाछुट्टै कार्यदलले सिफारिस गरेका छन् ।