विद्यालय जाने अबस्था नभएपछि बालिकाले चिठी पठाउँदै भनीन ‘सर मलाई रेस्टिगेट गरिदिनु’
- ६ भाद्र २०७५, बुधबार
- 12559 पटक पढिएको
म्याग्दी, ६ भदौ । म्याग्दीको बेनी नगरपालिका–६ फोओटेकी एक बालिकाले गरिबीको कारण पढ्न जाने अबस्था नभएपछि आफुलाई रेस्टिगेट गरिदिन अनुरोध गर्दै विद्यालयलाई मर्मस्पर्शी चिठी पठाएकी छिन् । अर्थुङ्गे स्थित जामुनाखर्क माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत छात्रा पुजा खत्रीले विद्यालयमा नियमित रुपमा उपस्थित भएर अध्ययन गर्न घरपरिवारको आर्थिक अबस्थाले नभ्याएको र पारिवारीक वातावरण समेत नभएकाले आफुलाई विद्यालयबाट निस्कासित गर्न अनुरोध गरेकी हुन् । भदौ ५ गतेबाट विद्यालयमा त्रैमासिक परिक्षा सुरु हुने भएपछि विद्यालयले खत्रीलाई विद्यालयमा आउन र परिक्षामा सामेल हुन उनका साथीहरु मार्फत खवर पठाएपछि उनले विद्यालयलाई भाबुक पत्र पठाएकी हुन् । उनले पठाएको पत्रमा घरमा खाने खर्च समेत भएको र विद्यालय जाने कापी कलम समेत नहुँदा आफुले बाध्यताले विद्यालय जान छाड्नुपरेको उल्लेख छ ।
‘‘ म विद्यालयमा धेरै उपस्थित हुन पाईन, बाध्यताले स्कुल आउन नसकेको हो, मलाई पठाईदिने कोही छैन, सर मलाई विद्यालयबाट रेस्टिगेट गरिदिनु’’ खत्रीले विद्यालयमा पठाएको चिठि मार्फत भनेकी छिन् । त्रैमासिक परिक्षा आउँन लाग्दा समेत खत्री विद्यालयमा अनुपस्थित भएपछि उनलाई विद्यालयमा आउन खवर पठाउँदा उनले आफ्नो घरायसी समस्या देखाउँदै पत्र पठाएको विद्यालयका प्रधानध्यापक सोमनाथ ढुंगानाले बताउनुभयो । खत्री गाउँको विद्यामन्दिर आधारभुत विद्यालयमा कक्षा ५ सम्म अध्ययन गरि ६ कक्षामा अध्ययनको लागि जामुनाखर्क माध्यमिक विद्यालयमा भर्ना भएकी थिइन् ।
उनको पारिवारीक रुपमा आर्थिक अबस्था कमजोर र अध्ययन गर्ने वातावरण उचित नभएको जानकारी सहितको पत्रलाई वडा अध्यक्ष कृष्ण बहादुर बानियाँलाई हस्तान्रतण गरि आबश्यक पहल गर्न अनुरोध गरिएको प्रअ ढुंगानाले बताउनुभयो । ‘‘ उनलाई विद्यालयमा नियमित गराउन हामीले पनि पहल थालेका छौँ, तर घरायसी वातावरण नै मिलाउनुपर्ने भएकाले जनप्रतिनिधि मार्फत नै थप पहल होस भनेर जानकारी गराएका छौँ ’’– प्रअ ढुंगानाले भन्नुभयो । कक्षा ६ मा अध्ययन गर्ने खत्रीको घरमा आमा नबस्ने र बुबाले समेत उनी सहित चार भाईबहीनीको अध्ययनमा सकरात्मक सहयोग नगर्ने भएपछि उनले बाध्यताले विद्यालय जान छाडेकी हुन् । उनी सहित भाई बहीनीहरु अहिले बृद्ध अबस्थामा पुगेका र शारिरीक रुपमा अशक्त हजुरबुबाको भरमा दैनिकी चलाउनुपर्ने बाध्यता आएको छ ।
वडा नम्बर ६ का अध्यक्ष बानियाँले वडाभित्र रहेका सबै सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरिसकिएको बताउँदै खत्रीको विद्यालय नआउने समस्या आर्थिक र पारिवारीक वातावरणसंग जोडिएकाले त्यसतर्फ आबश्यक वातावरण मिलाउने पहल भैरहेको बताउनुभयो । उनका अभिभावकहरुसंग भेटेर समस्याको पहिचान गरि उनलाई नियमित रुपमा विद्यालयमा पुगेर अध्ययन गर्ने वातावरण सिर्जना गर्न आफुले तत्परता देखाएको वडा अध्यक्ष बानियाँले जानकारी दिनुभयो ।
jilla bata ni yo subject ko badhi dhyana dinu paryo satya thya k ho?