कक्षा १२ मा धौलागिरि प्रथम बनेकी जैसीलाई प्रकाश माविकाे सम्मान (फाेटाे फिचर)

  • ५ भाद्र २०७५, मंगलवार
  • 2638 पटक पढिएको

म्याग्दी, ५ भदौ । बेनी स्थित प्रकाश माध्यमिक विद्यालयबाट कक्षा १२ को परिक्षामा सामेल भएर साविक धौलागिरि अञ्चलमै उत्कृष्ट बन्न सफल भएकी छात्रा छलीकुमारी जैसीलाई विद्यालयले सम्मान गरेको छ । राष्ट्रिय परिक्षा बोर्डबाट शैक्षिक सत्र २०७५ सालमा लिईएको परिक्षामा विज्ञान संकायकी छात्रा जैसीले ३ दशमलब ५७ जिपिए ल्याएर उत्तिर्ण भएकी थिइन् ।विद्यालयले मंगलवार आयोजना गरको विद्यार्थी सम्मान, छात्रवृत्ति वितरण तथा नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रममा सर्वोकृष्ट अंक ल्याएर उर्तिण भएकी जैसीलाई सम्मान पत्र र नगद रु १० हजार सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका कार्यबहाक अध्यक्ष हरिकृष्ण श्रेष्ठ, शिक्षक अभिभावक संघका अध्यक्ष सुवर्ण रिजाल, प्रधानध्यापक हरिकृष्ण सुवेदी लगायतले जेसीलाई सम्मान गर्नुभएको थियो । सो अवसरमा विद्यालयमा स्थापना गरिएको छात्रबृत्ति अक्षयकोष मार्फत गरिब, जेहेन्दार, अनुसाशित, नियमित उपस्थिति लगायतको आधारमा विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा कक्षा ११ मा अध्ययन गर्न आएका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको थियो । कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका कार्यबहाक अध्यक्ष श्रेष्ठले जिल्लाकै पुरानो शैक्षिक धरोहरको रुपमा रहेको प्रकाश माविले गुणस्तरीय शिक्षा प्रदानमा नयाँ रेकर्डहरु कायम गर्दै आएको बताउँदै नवआगन्तुक विद्यार्थीहरुलाई अनुशासित र मेहनती भएर अध्ययन गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष रिजाल, प्रअ सुवेदी, स्रोत व्यक्ति मोहन बानियाँ, पुरस्कृत छात्रा जैसी, कक्षा ११ की छात्रा दिपा सापकोटा, कक्षा १२ की छात्रा उर्मिला रिजाल लगायतले मन्तव्य राख्नुभएको थियो । युवा रेडक्रस सर्कलका अध्यक्ष गणेश रोकाको अध्यक्षता, शिक्षक नायक गोरखनाथ सुवेदीको स्वागत र कक्षा ११ र १२ का संयोजक कविराम थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा विभिन्न साँगेतिक प्रस्तुतीहरु समेत राखिएको थियो । २०६५ सालदेखि दश जोड २ तहको पठनपाठन सुरु गरेको यस विद्यालयमा अहिले विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकि संकायमा कक्षा ११ र १२ मा पठनपाठन हुँदै आएको छ । यस विद्यालयले यस अघि पनि चार पटक सम्म धौलागिरीमा सर्वोकृष्ट अंक सहित विद्यार्थीहरु उर्तिण गराउन सफल भएको छ ।