तातोपानीकुण्डको ठेक्का विवाद,सर्त अव्यवहारीक : तातोपानीबासी ,अवसर विहिनलाई प्राथमिकता : वडा कार्यालय

  • ३० श्रावण २०७५, बुधबार
  • 1878 पटक पढिएको

म्याग्दी, ३० साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा रहेको तातोपानी कुण्डलाई भाडामा लगाउने बिषयमा विवाद उत्पन्न भएको छ । गाउँपालिका कार्यालयको स्विकृतमा वडा कार्यालयले ठेक्का लगाउनको लागि सुचना प्रकाशित गरे लगत्तै भुरुङतातोपानीका केही व्यवसायिहरुले असन्तुष्टी जनाएका हुन् । उनीहरुले कुण्डलाई ठेक्का लगाउँदा सबैलाई प्रतिस्पर्धा गराउन माग गरेका छन् । स्थानीय व्यवसायिहरुको एक टोलीले बुधवार प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी समक्ष ज्ञापन पत्र बुझाउँदै कुण्डलाई ठेक्का लगाउँदा वडा कार्यालयले सिमिति व्यक्तिहरुलाई मात्रै भाग लिन पाउने गरि शर्त तथा नियम बनाएर खुला प्रतिस्पर्धा गर्नबाट बञ्चित गराएको गुनासो गरेका हुन् ।

गाउँपालिका कार्यालयको अनुमतीमा वडा कार्यालयले तातोपानी कुण्डमा व्यवसाय सञ्चालनको लागि न्युनतम रु १७ लाख ५० हजार र तातोपानी कुण्डमा प्रवेश शुल्क उठाउनका लागि न्युनतम रु १७ लाख ५० हजारमा सिलबन्दी दरभाउपत्र आह्वान गर्ने निर्णय गरेको थियो । त्यसैगरि भुरुङ तातोपानी क्षेत्रमा पशु चौपाया (पुलकर) न्युनतम रु ४ लाखमा सिलबन्दी दरभाउपत्र आह्वान गर्ने निर्णय भएको छ ।  वडा कार्यालयले सिलबन्दी दरभाउपत्र आह्वान गर्दा विगतमा कुण्ड सञ्चालन र पशु चौपाया कर उठाउन भाग लिएका व्यक्ति, होटल व्यवसाय तथा अन्य रोजगारिमा संलग्न व्यक्तिलाई प्राथमिकता नदिने र नयाँ स्थानीय व्यक्तिलाई पहिलो प्राथमिकता दिने शर्त बनाएपछि तातोपानीका स्थानीयले विरोध जनाएका हुन् ।

वडा अध्यक्ष ओम बहादुर फगामीले तातोपानीका होटल एवम अन्य व्यवसायिहरुले तातोपानी कुण्डबाट नियमित रुपमा प्रत्येक्ष रुपमा लाभ लिइरहेकाले अन्य अवसर नपाएका र बेरोजगारहरुलाई अवसर सिर्जना गर्नको लागि वडा कार्यालयको व्यापक छलफलबाट निर्णय भए बमोजिम शर्तहरु बनाइएको बताउनुभयो । ‘‘ केही व्यक्तिहरुमा अरु कसैलाई पनि अवसर दिन हुन्न भन्ने मान्नेता छ, हामीले कसैलाई पनी प्रतिस्पर्धा गर्न बन्देज लगाएका छैनोँ, अवसर नपाएका व्यक्तिहरुलाई प्राथमिकता दिने निर्णय गरेका हौँ,’’–वडा अध्यक्ष फगामीले भन्नुभयो ।

सिमित व्यक्तिलाई मात्रै प्रतिस्पर्धामा भाग लिउन भन्ने मनसायले आन्तरीक सर्तहरु बनाएर स्थानीयलाई खुला प्रतिस्पर्धा मार्फत टेन्डर हाल्ने अवसरबाट बञ्चित गराउनु मौलीक हककै हनन भएकाले आफुहरुले सरोकारवाला निकायको ध्यानर्षण गराउन थालेको स्थानीय होटल व्यवसायि रविन शेरचनले बताउनुभयो । रविन शेरचन, लट्टे गिरी, प्रेम बहादुर तुलाचन र बिमला सुनारको टोलीले जिल्ला प्रशासन कार्यालयमा बुझाइएको ज्ञापन पत्रमा सिमिति व्यक्तिहरुले मात्रै भाग लिन पाउने गरि सिन्डीकेट राखेर गर्न लागिएको ठेक्का प्रकृया बदर गराउन माग गरिएको छ । ‘‘ हामी एउटै वडाभित्रका नागरिकलाई पनि एकले भाग लिन पाउने र अर्काले नपाउने भन्ने हुँदैन, वडाभित्रका सबै नागरिकलाई समानता दिईयोस भन्ने हाम्रो मान्यता हो’’– अर्का व्यवासय प्रेम प्रसाद तुलाचनले भन्नुभयो ।

वडा कार्यालयले सार्वजनिक खरिद ऐन र नियमावली अनुसार सिलबन्दी आह्वान गरि सबैतर्फ सुचना संप्रेशण गरिएको जनाएको छ । गत बर्ष बिचौलीयाहरुले पौसा खाएर मिलेमतोमा ठेक्का हालेको स्मरण गराउँदै वडा अध्यक्ष फगामीले यस बर्ष त्यसो नहोस भनेर अवसर नै नपाएकाहरुलाई प्राथमिता दिने गरि वडा कार्यालयले शर्त र नियम बनाएको स्पष्ट पार्नुभयो । उहाँले अवसर विहिन भएकाहरुलाई अवसर दिउँ भन्दा आफुहरुमाथि विभिन्न खालको आरोप र धम्कीहरुको समेत सामना गर्नुपरेको बताउँदै यसबारेमा गाउँपालिका कार्यालयमा समेत जानकारी गराईएको बताउनुभयो ।