स्वर्गीय मातापिताको स्मृतिमा पुस्तकालयको अक्षयकोषलाई सहयोग
- २४ श्रावण २०७५, बिहीबार
- 2376 पटक पढिएको
म्याग्दी, २४ असार । स्वर्गीय मातापिताको स्मृतिका लागि सन्तानले के गर्न सक्छन् ? कसैले पिण्ड दान, कोहीले यज्ञयज्ञादी त केहिले सामाजिक कार्य । म्याग्दीको रघुगंगा–८ मँगलेखानीका तारा प्रसाद छन्त्याल (राज) ले आफ्नो स्वर्गीय मातापिता र बहिनीको स्मृतिमा रितुङ मावि दुलेखर्कमा स्थापित रितुङ पुस्तकालयको अक्षयकोषका लागि ३० हजार सहयोगको घोषणा गरेका छन् । पूख्र्यौली थलो मँगलेखानी भइ काठमाडौँ बस्दै आएका छन्त्याल पछिल्लो समय रोजगारको सिलसिलामा बेलायत छन् । ७३ बर्षको उमेरमा निधन भएका बुवा पहलमान छन्त्याल, आमा लालमति छन्त्याल र सानै उमेरमा निधन भएकी बहिनी चन्द्रमायाँ छन्त्यालको स्मृतिमा कोषलाई सहयोग गर्ने घोषणा गरेका हुन् ।
छन्त्यालका स्वर्गीय पिता पहलमान कुईनेमँगलेका भुपु प्रधानपञ्च समेत थिए । सामाजिक कार्यमा अग्रसर हुने पारिवारिक पृष्ठभूमिका छन्त्यालले विद्यालयको अन्य गतिविधीहरुमा सहयोग गर्दै आएका छन् । ‘पहिला गाउँमा स्कुल नहुँदा दिनभर लगाएर चिमखोला आउनुपर्ने बाध्यता थियो । अहिले गाउँमै विद्यालय छ अझ पुस्तकालय स्थापना हुँदा झन धेरै खुशी छौँ’, उनले भने, ‘यो अभियानको एउटा हिस्सेदार बन्न पाउँदा ज्यादै खुशी लागेको छ ।’ गत जेठ महिनामा साविक जिल्ला शिक्षा कार्यालय र स्थानीयको चन्दा सहयोगमा स्थापित पुस्तकालयको दीर्घकालीन व्यवस्थापनका लागि पुस्तकालय अक्षयकोषको अवधारणा ल्याईएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गमान छन्त्यालले जानकारी दिए ।
भदौ महिनाभित्र दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने अभियानमा उत्साहजनक सहभागिता जुटेको छ । त्यस्तै, अक्षयकोषमा अध्ययन र रोजगारको सिलसिलामा जापानमा रहेकी धन छन्त्यालले आफ्ना स्वर्गीय ससुरा रत्न बहादुर छन्त्यालको स्मृतिमा १० हजार रुपैयाँ सहयोग गरेकी छन् । पूख्र्यौली घर चौरखानी र बेनीस्थित पिपलचोक भएपनि उनको परिवार बुटवलमा छन् । ‘गाउँ ठाउँको शिक्षाको विकासका लागि आफ्नो तर्फबाट केहि योगदानको प्रयास गरेकी हुँ’, उनले भनिन् । अक्षयकोषमा विद्यालयका भुपु विद्यार्थी देउप्रसाद छन्त्याल दश हजार आर्थिक सहयोगको घोषणा गरेका छन् ।
अध्ययनका लागि जापान रहेका छन्त्याल वि.स ०६० सालमा रितुङ माविबाट कक्षा ८ उत्र्तीण गरेका थिए । दुवाडी (पैनी) छन्त्याल विद्यार्थीकालमा ज्यादै लगनशील र अनुशासित विद्यार्थी थिए । ‘आफुले पढेको विद्यालयको विकासका लागि सकेको सहयोग गर्नेछु’, उनले भने ।