समाचार प्रभाव : जनप्रतिनिधीले फिर्ता गरे बिरामीको पैशा

  • १५ श्रावण २०७५, मंगलवार
  • 1849 पटक पढिएको

म्याग्दी, १५ साउन । बेनी नगरपालिका वडा नं. ९ घतानका वडासदस्य भेष बहादुर सेनले धुपीबोटका कर्ण बहादुर विकको उपचारका लागि प्रवासबाट आएको सहयोग रकम फिर्ता गरेका छन् । एकबर्षअघि सडक बोर्ड र स्थानीय जनश्रमदान गरि ११ लाख रुपैयाँको लागतमा तोरीपानी–ढोल्ठान सडक मर्मतका क्रममा रुख ढल्दा विक गम्भिर घाइते भएका थिए । उनै घाइते विकको उपचारका लागि म्याग्दी उद्दार समिति बहराइनले दुईमहिना अघि संस्थागत र व्यक्तिगत गरि ३२ हजार ६ सय रुपैयाँ पठाएको थियो । तर, वडासदस्य सेनको नाममा प्रभु मनी ट्रान्र्सफर मार्फत पठाईएको रकम पीडित विकले पाउनुपर्नेमा उनको उपचार र सडक मर्मतका क्रममा उपभोक्ता समितिलाई ऋण लागेको भन्दै सेनले आफैसँग रकम राखेका थिए ।

सडक मर्मतका लागि स्थानीय खिम बहादुर कार्की अध्यक्ष भएपनि व्यवस्थापनको सम्पूर्ण काम भने वडासदस्य सेनले नै गर्दै आएका थिए । पीडित विकले सहयोग रकम नपाएपछि म्याग्दी अनलाइन, बेनी अनलाइन, विकल्प न्यूज अनलाइन र गलेश्वर अनलाइनमाबिरामीलाई आएको रकम जनप्रतिनिधीको खल्तीमा’ नामको शीर्षकमा समाचार प्रकाशन भएपछि उद्दार समिति बहराइन र वडासदस्य सेन बीचको छलफलले रकम फिर्ता गर्ने निर्णय गरेको थियो । सोही बमोजिम सेनले फिर्ता गरेको उक्त रकम मंगलबार वडाअध्यक्ष बेल बहादुर चोखालको रोहबरमा उद्दार समितिका सहसचिब प्रविन छन्त्याल र खेलकुद सहसचिब आनन्द बानियाँले पीडित विकलाई हस्तान्तरण गरेका हुन् ।

सहसचिब छन्त्यालले संस्थाको कुनैपनि सडक उपभोक्ता समितिलाई सहयोग गर्ने नीति नरहेकोले पीडितले नै रकम पाउनुपर्ने मान्यताका आधारमा सहयोग फिर्ता लिएर हस्तान्तरण गरिएको बताए । ‘भेष बहादुर सेन ज्यू लामो समयसम्म बहराइन बसेर उद्दार समितिमा काम गर्दै आउनु भएको मान्छे, उहाँले दुर्घटना हुँदा उपभोक्ता समितिलाई आर्थिक समस्या परेको व्यहोराको पत्र पठाउनुभएको रहेछ’,उनले भने, ‘उक्त सहयोग उहाँ मार्फत पीडित पुग्नुपर्ने थियो तर बुझाई फरक प¥यो ।’ समाचार प्रकाशन भएपछि उद्दार समिति बहराइनले सोमबार प्रेस विज्ञप्ति समेत जारी गर्दै आर्थिक सहयोग पीडित विकले नै पाउनुपर्ने किटान गरेको थियो । समितिका खेलकुद सहसचिब बानियाँले बुझाईमा कमजोर हुँदा पीडितले समयमै रकम नपाएको बताए ।

‘यस विषयमा हाम्रो वैठकमा पनि नियमित कुरा उठ्यो तर, समस्याको समाधान भएको थिएन्, अहिले सबैले भने जस्तै भयो’, उनले भने । दुर्घटनामा ढांड भाच्चिएर गम्भिर घाइते विकको प्रहरीको रोहबरमा उपभोक्ता समिति र डोजर मालिकले सम्पूर्ण उपचार खर्च व्यर्होने सहमति भएको थियो । बेनी अस्पताल र पोखरास्थित मणिपाल अस्पतालमा गरि विकको उपचारका लागि एक लाख ४ हजार रुपैयाँ खर्च भएको छ । वडाअध्यक्ष चोखालले वडा सदस्य सेनको काम गराईमा कुनै स्वार्थ नभए पनि प्रक्रियागत कम्जोरी भएको बताए । ‘जनताको कामका लागि जतिबेला पनि तयार हुने उहाँले आर्थिक हिनामिना त सोच्न पनि सकिन्न, तर प्रक्रिया नमिल्दा यस्तो देखियो’, उनले भने, ‘कम्जोरी सबैबाट हुन्छ, त्यसलाई सच्याएर अघि बढ्नुपर्छ ।’ सहयोग रकम बुझ्दै पीडित विकले आफुलाई मृत्युको मुखबाट जोगाउने सम्पूर्ण सहयोगदाताहरुलाई धन्यबाद दिएका छन् । सामान्य आरन पेशाबाट जिविका चलाउँदै आएका विक उपचारपछि लौराको सहाराले हिड्डुल गर्न सक्ने भएका छन् ।