जलजलाका बाढी, पहिरो पिडितलाई तारजाली र पाईप सहयोग

  • ११ श्रावण २०७५, शुक्रबार
  • 1247 पटक पढिएको

म्याग्दी ११ साउन । जलजला गाउँपालिकाले धाईरीङ र लस्तीका पहिरो पिडितलाई तारजाली र पाईप सहयोग गरेको छ । गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को निर्देशनमा २५ एमएमको ८०० मिटर पाईप र १४८ थान तारजाली उपलब्ध गराइएको सल्लाहकार याम शर्माले जानकारी दिनुभयो । खानेपानी आपूर्ती र जोखिमयुक्त क्षेत्रमा पहिरो नियन्त्रणका लागि सहयोग गरिएको हो ।

यसअघि गत शुक्रबार विपद् व्यवस्थापन समितिका संयोजक भिष्म मल्लको अध्यक्षतामा बसेको बैठकले पहिरो पिडितलाई राहत उपलब्ध गराउने निर्णय गरेको थियो । जलजला गाउँपालिका ७ धाईरीङ र ८ लस्तीमा गत बुधबारको पहिराका कारण एक जनाको मृत्य, तिन घाईते र बिस घर विस्थापित भएका थिए ।

मृतकका परिवारलाई पचास हजार, घाईते र घर पूर्ण क्षत्ती भएकालाई पच्चीस हजार रुपैयाका दरले राहत उपलब्ध गराइएको छ । पहिरोबाट घर पूर्ण क्षत्ती भएकालाई मर्मतका लाई दश हजार रुपैया नगद र दश थानका दरले तारजाली उपलब्ध गराउने निर्णय भएको थियो ।

यस्तै आंक्षीक क्षत्ती भएकालाई प्राबिधीकको सुझाव अनुसार पाँच हजार नगद र पाँच थान जाली उपलब्ध गराउने निर्णय भएको थियो । लस्ती बेरनेटामा घर माथिबाट आएको पहिरोले पुरिँदा १७ वर्षिय विकास परियारको मृत्यु भएको थियो । पहिरोले घर पुरीदा घाइते भएका चार जनाको पोखराको गण्डकी अस्पतालमा उपचार भईरहेको छ ।

अध्यक्ष मल्ल, उपाध्यक्ष सिमा गर्बुजा पुनको टोलीले प्रदेश र संघीय सरकारका विषयगत मन्त्रालयमा पुगेर बाढी पहिरो नियन्त्रण योजना तथा समुदाय स्तरबाट राहत जुटाउन पहल गरेको जलजला ४ का वडा अध्यक्ष भिष्म मल्लले बताउनुभयो ।