बिरामीको जिबनयापनको लागि आएको सहयोग जनप्रतिनिधीको खल्तीमा !

  • ९ श्रावण २०७५, बुधबार
  • 2113 पटक पढिएको

म्याग्दी, ८ साउन । एकबर्ष अघि सडक बोर्डले म्याग्दीको तोरीपानी–ढोल्ठान सडक मर्मतका लागि ८ लाख रुपैयाँ बजेट विनीयोजन ग¥यो । उपभोक्ता समितिका अध्यक्ष खिम बहादुर कार्की भए । समितिले डोजर प्रयोग गरेर सडक मर्मत गर्दा, धुपीबोटमा एउटा दुर्घटना भयो । आफ्नै जग्गामा भइरहेको सडकको काम अवलोकन गर्ने क्रममा रुख ढल्दा स्थानीय ७० बर्षीय कर्ण बहादुर वि.क गम्भिर घाईते भए । उनको ढाडै भाँच्चियो ।


प्रहरीको रोहबरमा डोजर मालिक कुविर कुमार श्रेष्ठ, उपभोक्ता समिति पदाधिकारी, पीडित विकका आफन्तजन र वडा सदस्य भेष बहादुर सेन सम्मिलित सर्वपक्षीय वैठकले सम्पूर्ण उपचार खर्च समिति र डोजर मालिकले व्यहोर्ने सहमति भयो । सोही समझदारी अनुसार विकको बेनी अस्पतालमा प्राथामिक उपचार पछि पोखरास्थित मणिपाल अस्पतालमा उपचार भयो । विक अहिले लौरोको साहरामा हिड्डुल गर्न सक्ने भएका छन् ।

उनै विकको उपचार र जीवनयापनका लागि भन्दै म्याग्दी उद्दार समिति बहराइनले संस्थागत र व्यक्तिगत गरि २६ हजार रुपैयाँ सहयोग संकलन ग¥यो । तर, समितिले नेपाल पठाएको उक्त रकम पीडित विकले पाउनु पर्नेमा सडक मर्मत र उपचारका बेला व्यक्तिगत खर्च भएको भन्दै वडासदस्य सेनले आफ्नै खल्तीमा राखे । पीडित विकले चिनेजानेका गाउँका इष्टमित्रले आफ्नो नाममा पठाएको रकम आफुले नै पाउनुपर्ने बताए ।

‘दुर्घटनाको खबर थाहा पाएपछि उहाँहरुले दया गरेर दिनुभएको हो भन्ने सुने’, उनले भने, ‘तर, अहिलेसम्म त्यो पैशा मैले पाएको छैन ।’ उपचारका क्रममा एक लाख रुपैयाँ खर्च भएको थियो । उक्त रकम आफुलाई डोजर चालक र समिति मार्फत प्राप्त भएको पीडित विकले बताए । वडा सदस्य सेनले ३ लाख ४ हजार रकम श्रमदान जुटाउनुपर्नेमा आफुलाई ६० हजार रुपैयाँ घाटा लागेको र सहयोग रकम त्यसैमा प्रयोग गरिएको बताए ।

उपभोक्ता समिति गठन भएपनि अदृश्य रुपमा वडा सदस्य सेन आफैले सडक मर्मतको जिम्मा लिएका थिए । ‘विकको उपचारका लागि डोजर मालिकले २५ हजार उपलब्ध गरायो, बाँकी ७५ हजार समितिले जुटाउनुपर्ने भयो तर, समिति मार्फत मैले नै काम गरेकोले म नै घाटा पर्ने भयो’, उनले भने, ‘त्यही भएर मैले बहराइन समितिलाई पत्र पठाएँ, सोही आधारमा सहयोग आएको हो ।’ उनले विकको उपचारका लागि नभई काम गर्दा आफु घाटा परेको व्यहोराको पत्र पठाएको र सोही आधारमा रकम आएको बताए ।

‘यदि विककै उपचार र जीवनयापनका लागि आएको हो भने मैले उसलाई दिन तयार छु तर, बहराइन समितिले स्पष्ट भन्नुप¥यो’, उनले भने । यता म्याग्दी उद्दार समाज बहराइनका वरिष्ठ सल्लाहकार एबम् सहयोग संकलनका अभियन्ता छविलाल विकले घाइते विकको उपचार र जीवनयापन सहज होस् भनेर नै सहयोग पठाईएको बताए । ‘समिति र ठेकेदारले के–के ग¥यो भन्दा पनि हामीले विशुद्ध उहाँको सहयोगका लागि पठाएका हौँ’, उनले भने, ‘त्यो रकम बारे हामी आगामी शुक्रबार वैठकमा अझ विस्तृत छलफल गर्नेछौँ ।’ पीडित विकले गाउँमा आरन पेशा गरेर जीविका चलाउँदै आएका छन् ।