नारच्याङ स्वास्थ्य चौकीको भवन निर्माण

  • ९ श्रावण २०७५, बुधबार
  • 2845 पटक पढिएको

म्याग्दी ९ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा एक संस्थाको सहयोगमा स्वास्थ्य चौकीको सुबिधा सम्पन्न भवन निर्माण भएको छ । अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स कल्वको आर्थिक सहयोगमा नारच्याङको बेशी गाउँमा शौचालय सहित छ कोठे एक तले भवन निर्माण भएको हो ।

भवनमा नागरीक सहायता, बिरामीको स्वास्थ्य परिक्षण, प्रसुती, औषधी भण्डारण, ल्याब, प्रशासनीक कक्षका लागि आवश्यक कोठा सहितको पूर्वाधार तयार पारिएको छ । लायन्स कल्व पोखराको ३६ लाख रुपैया सहयोगमा निर्माण भएको भवनमा पूर्वाधार व्यवस्थापन गरेर प्रयोगमा ल्याउने तयारी भएको वडा अध्यक्ष चन्द्रप्रकाश फगामीले जानकारी दिए ।

हाल वडा कार्यालयको भवनबाट स्वास्थ्य चौकी सञ्चालन हुदै आएको छ । भवन अभावमा प्रसुती सेवा उपलब्ध गराउन सकिएको थिएन् । नारच्याङका गर्भवतीहरु प्रसुती सेवाका लागि भुरुङ तातोपानी र बेनी पुग्ने गरेका थिए । नयाँ भवनमा प्रसुती सेवा सुरु गर्ने स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका फगामीले बताए ।

भवन निर्माणका लागि तत्कालीन नारच्याङ गाविसले करिब नौ लाख खर्च गरेर तिन रोपनी जग्गा खरिद गरेको थियो । वडा कार्यालयको प्रस्तावमा अन्नपूर्ण गाउँपालिकाले पाँच लाख रुपैया बिनियोजन गरेर आर्थिक वर्ष २०७४÷७५ मा जग्गा सम्माइएको थियो ।