फोहोर व्यवस्थापनको लागि रातो पहिरोमा केन्द्र निर्माण सुरु

  • ९ श्रावण २०७५, बुधबार
  • 1901 पटक पढिएको

बेनी ९ साउन । वातावरण प्रदुषण न्युनीकरणसंगै आम्दानीको स्रोत वृद्धी गर्ने उद्देश्यले म्याग्दीको सदरमुकाम बेनीमा फोहोर व्यवस्थापन केन्द्र निर्माण सुरु भएको छ ।बेनीबजारको फोहोरलाई सुरक्षित रुपमा व्यवस्थापन गरी त्यसलाई आम्दानीको स्रोतको रुपमाविकास गर्ने उद्देश्यले बेनीनगरपालिको ६  वडा रातो पहिरोमा केन्द्र निर्माणको काम सुरु भएको हो ।

बेनीनगरपालिकाले ६७ लाख रुपैया लागत अनुमान गरेको फोहोर ब्यवस्थापन केन्द्रको लागिजग्गा सम्माउने, कालीगण्डकी किनारमा ग्यावियन पर्खाल लगाउने, भवन बनाउने कामको लागि सोमरस निर्माण सेवाले ४७लाख रुपैयामा ठेक्का सम्झौता गरेको छ । २०७५ असोज महिनासम्म फोहोर व्यवस्थापन केन्द्रको संरचना तयार पार्ने लक्ष्य सहित निर्माण कार्यलाई तिब्र बनाएको निर्माण ब्यवसायी प्रविन सापकोटाले बताए ।

रातोपहिरो स्थित कालीगण्डकी नदीको किनार भन्दामाथि र बेनी–गलेश्वर सडक भन्दा तल पर्ने सार्वजनीक जग्गा सम्माएर भवनबनाई फोहोर व्यवस्थापन केन्द्र बनाउन लागिएको नगरपालिकाले जनाएको छ । कालीगण्डकी र सडकमा आवतजावत गर्नेलाई असर नपर्ने तथा दुर्गन्ध नआउने गरी फोहोर व्यवस्थापनगर्न लागिएको नगर प्रमुख हरिकुमार श्रेष्ठले बताए । कुहिने र नकुहिने फोहोरलाई छुट्टा छुट्टै स्थानमा भण्डारण गर्ने नगरपालिकाको योजना छ ।

स्थाई फोहोर व्यवस्थाप नगर्ने ठाउँ पहिचान नहुँदासम्म पुरानै ठाउँलाई व्यवस्थित गर्न लागिएको बेनीनगर कार्यपालिकाका प्रवत्ता रामकृष्ण बराईलीले बताए ।विगत एक दशकदेखि सदरमुकाम बेनीको फोहोर व्यवस्थापन स्थलको खोजी भईरहेको छ । बेनी र गलेश्वर बजारबाट दैनिक तिन ट्याक्टर भन्दा बढी फोहोर संकलन हुने गरेको छ ।