जलजलाकाको बजार क्षेत्रका मासु पसलको अनुगमन

  • ३० असार २०७५, शनिबार
  • सन्तोष गौतम
  • 2668 पटक पढिएको

बेनी ३० असार । जलजला गाउँपालिकाको बजार क्षेत्रमा दर्ता बिना अव्यस्थित रुपमा सञ्चालन हुदै आएका मासु पसलहरु कानुन र करको दायरामा आएका छन् ।गाउँपालिका अन्तरगतको पशु सेवा शाखा र जनप्रतिनिधिहरुको टोलीले अनुगमन र नियमनमा कडाई गरेपछि मापदण्ड पुरा गरेर मासु पसल दर्ता हुन थालेका हुन् । प्रशासनीक र नियमनकारी निकायको पहुँचको कमीका कारण अव्यवस्थित रुपमा सञ्चालित मासु पसलका कारण कर छलीका साथै अस्वस्थकर मासु किनबेच हुने गरेको थियो ।

गाउँपालिकाको बजार क्षेत्रमा पर्ने बगरफाँट, वारीबेनी, मिलनचोक, लस्ती, नाग्लीवाङमा नियमित रुपमा अनुगमन गरेर मापदण्ड अनुसारको मासु पसल दर्ता गराएको शाखाका पशु चिकित्सक बिमल शर्माले बताए ।उहाँका अनुसार एक वर्षयता १५ वटा मासु पसल दर्ता भएका छन् भने थप पाँच वटा दर्ता प्रक्रियामा छन् । ग्रामिण क्षेत्रका अन्य मासु पसलहरुलाई पनि अनुगमन गरी कानुन र करको दायरामा ल्याउने शर्माले बताए ।

अनुगमन टोलीले सरसफाई, पूर्वाधार, चिस्यानको मापदण्ड पुरा गरेर ब्यवसाय दर्ता गर्न निर्देशन दिएपछि मासु पसलहरुको अवस्थामा सुधार आएको गाउँपालिकाका उपाध्यक्ष सिमा गर्बुजाले पुनले बताईन । मापदण्ड पुरा गरेर दर्ता भएका दुई वटा मासु पसललाई गाउँपालिकाले यस वर्ष अनुदान समेत उपलब्ध गराएको छ ।पशु सेवा शाखाको सिफारीसमा गाउँपालिका र घरेलु तथा साना उद्योग विकास समितिमा ब्यवसाय दर्ता गर्नुपर्ने प्रक्रिया छ । गाउँपालिकाले ब्यवसाय दर्ता वापत दुई हजार रुपैया शूल्क निर्धारण गरेको छ ।

यसैबीच गाउँपालिकाका उपाध्यक्ष पुन, ३ नम्बर वडाका अध्यक्ष रवी भण्डारी, पशु सेवा शाखाका प्रमुख पौडेल, उद्योग वाणिज्य संघ मल्लाज ईकाईका डिलबहादुर बरुवाल र प्रहरी चौकीका प्रतिनिधिको टोलीले शनिबार जलजलाको बजार क्षेत्रका मासु पसलहरुको अनुगमन गरेको छ ।

सन्तोष गौतम