बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई

  • २९ असार २०७५, शुक्रबार
  • 1735 पटक पढिएको

 

म्याग्दी, २९ असार । म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । संगम म्याग्दी, म्याग्दी मिडिया सोसाईटीको व्यवस्थापन तथा सहजीकरण र बेनी नगरपालिकाको आयोजनामा प्रशासनिक सेवा प्रवाहमा सुधार, विकास निर्माणमा पारदर्शी, जनताको गुनासो, सुझाव एवं अपेक्षा बुझ्ने उद्देश्यले सार्वजनिक सुनुवाई गरिएको हो ।

कार्यक्रममा सहभागी बेनी नगरपालिकाका स्थानीय बासिन्दाहरुले जनप्रतिनिधि आफैले बजेट विनियोजन र योजना छनोट गर्ने गरेको, ज्येष्ठ नागरिकहरुलाई उचित स्थान नदिइएको, बैंकमा सामाजिक सुरक्षाभत्ता लिने क्रममा सास्ती बेहोर्नुपरेको, एकल महिलालाई लक्षित गरेर बजेट विनियोजन नगरिएको, वडास्तरमा सञ्चालित योजनाहरुको अनुगमन नभएको, फोहार ब्यवस्थापन र दिर्घकालिन योजनाका विकास संचालन नहुनु जस्ता सवालहरु उठाएका थिए ।

यसैगरी सहभागीहरुले फोहोरमैला व्यवस्थापन हुन नसकेको, पवित्र कालीगण्डकी नदिमा फोहोर फ्याँकिएको, धार्मिक तथा पर्यटकीय क्षेत्रको बजेट परिचालन गरेर विकासमा लगाउनुपर्ने, बैंक तथा वित्तीय संस्थामा व्याजदर घटाउनुपर्नेमा जोड दिएका थिए । छाडा पशु चापायाको व्यवस्थापन गर्नुपर्ने, सडक बत्तीलाई व्यवस्थित बनाउनुपर्ने, बजारमा रहेका बिजुलीका पोलमा टाँगिएका तारको व्यवस्थापन गर्नुपर्ने, युवालक्षित कार्यक्रम सञ्चालनमा जोड दिनुपर्ने, बजार अनुगमन नभएको र योजनामा उपभोक्ता समितिको काम कर्तव्य तथा अधिकार स्पष्ट हुनुपर्ने जस्ता गुनासाहरु गरेका छन् । भौतिक पुर्वाधार निर्माण भन्दापनि कृषिक्षेत्रका सम्भावनाहरुलाई उजागर गर्दै युवाहरुलाई स्वदेशमा रोजगारको सिर्जना गर्ने दिर्घकालिन योजना संचालन गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा सहभागीहरुले उठाएको प्रश्नको जवाफ दिँदै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले योजनाहरु टोलवस्तीबाट जनताकै चाहना अनुसार छनोट गरी कार्यान्वयन गरिने हुँदा सोही अनुसार गरिएको बताए । उनले सबै नागरिकहरुको पहुँचमा स्वास्थ्य सेवा पु¥याइने बताउँदै बेनीबजारबाट दैनिक रुपमा निस्कने फोहोरमैलाको व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । धार्मिक तथा पर्यटकीय क्षेत्रको आम्दानीलाई विकास निर्माणका क्षेत्रमा लगानी गरिने बताउँदै प्रमुख श्रेष्ठले छाडा पशुचौपाया व्यवस्थापन गर्न आवश्यक नीतिनियम र जरिवानाको मापदण्ड बनाइएको बताएका छन् ।

सोही कार्यक्रममा बोल्दै उपप्रमुख सन्जु बरुवालले नगरपालिकामार्फत सञ्चालित सबै योजनाहरु निर्माणको अन्तिम चरणमा पुगेको बताइन् । उनले आगामी दिनमा चौमासिक रुपमा वडास्तरमै सार्वजनिक सुनुवाई कार्यक्रम गरेर जनतालाई सुसूचित गरिने बताउँदै एकल महिला, बालबालिका तथा महिलालक्षित विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने बताएकी छिन् । उनले जनताको समस्याहरुलाई पहिलो प्राथमिकता दिएर समाधान गरिने बताउँदै विकास निर्माणका लागि सबै एकजुट भएर अगाडि बढनुपर्ने बताइन् ।

बेनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ भूषालले भौतिक पूर्वाधारतर्फ विद्यालयका भवन निर्माण, खेलकुद मैदान र पर्यटनतर्फ लभ्लीहिललाई विकास गर्नका लागि आवश्यक पहल थालिएको बताए । कर्मचारीको अभावमा बस्तीस्तरमा सेवाप्रवाह गर्न ढिलाई भएको बताउदै सिमित जनशक्तिबाट आगामी दिनमा गुणस्तरीय सेवाप्रवाह गर्ने प्रतिवद्धता जनाएका थिए । बेनी नगरपालिकाका प्रवक्ता तथा वडानम्बर ८ का अध्यक्ष रामकृष्ण बराईलीले बेनीबजारमा रहेको सबै सडकको स्तरोन्नति गरेर ट्राफिक लाइटको व्यवस्थापन, बेनीबजार भित्रिन र बाहिरिनका लागि वैकल्पिक बाटो निर्माण थालिएको बताए ।

कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, बेनपा ४ का वडाध्यक्ष गोविन्दप्रसाद पौडेल, ६ का कृष्णबहादुर बानियाँ, ७ का राजेन्द्रकुमार श्रेष्ठ, ९ का बेलबहादुर चोखाल र १ का कार्यवाहक वडाध्यक्ष टेकबहादुर थापाले आफूसँग सम्बन्धित प्रश्नको जवाफ दिएका थिए । कार्यक्रममा सहभागीहरु मनबहादुर चर्मकार, नैनकुमार श्रेष्ठ, गणेशबहादुर बानियाँ, बिमला गौचन, भगवान् खड्का, मनोज पौडेल, अद्भूत बाबा, गंगाबहादुर बानियाँ, रामकुमारी गौचन, अम्बिका ढुङ्गाना, दीपक हमाल, भुनु तिलिजा, रामबहादुर खत्री, प्रविनकुमार श्रेष्ठ, विष्णु केसी र छविलाल पौडेलले प्रश्न उठाएका थिए । त्यस्तै लिखित रुपमा पनि प्रश्नहरु गरिएको थियो ।

नगर प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ भूषालको सञ्चालन र प्रवक्ता रामकृष्ण बराईलीको स्वागतमा सम्पन्न कार्यक्रममा संगम म्याग्दीका अध्यक्ष दीपक पौडेलले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुका साथै सेवाप्रवाहको अवस्थाबारे प्रस्तुती गरेका थिए । कार्यक्रमको पत्रकार हरिकृष्ण गौतम, प्रताप बानियाँ र धिरन खत्रीले सहजीकरण गरेका थिए ।