कालीगण्डकीमा जिप खस्दा वेपत्ता भएकाको यसरी हुँदै छ खोजी
- १४ असार २०७५, बिहीबार
- सन्तोष गौतम
- 3599 पटक पढिएको
म्याग्दी १४ असार । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालीका १ तिप्ल्याङमा बिहीबार दिउँसो कालीगण्डकी नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन् ।
अन्नपूर्ण गाउँपालीका ७ घराम्दी देखि बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जिप तिप्ल्याङ खण्डको सडकबाट करिब तिस फिट तल कालीगण्डकीमा खसेको प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढामगरले जानकारी दिनुभयो । अन्नपूर्ण गाउँपालीका ७ का वडा अध्यक्ष गमबहादुर फगामीका अनुसार घराम्दीबाट जिप छुट्दा चालक बेनपा ९ का अन्दाजी ३२ वर्षिय रवी खड्का र घराम्दीकी २० वर्षिया सबिता नेपाली सवार थिए ।
कालीगण्डकीको बिचमा अड्कीएको जिप, चालक र यात्रुको उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना, शशस्त्र प्रहरी परिचालन गरिएको घटनास्थलमा पुगेर फर्कनुभएको प्रनाउ बुढाले बताउनुभयो । नदीमा अड्कीएको जिप तान्नका लागि एक्साभेटर समेत प्रयोग गरीएपनी नदीमा पानीको सतह र बहाव बढेकाले समस्या भएको छ ।
साँझ परेपछि खोलामा रहेको जिपको हुटमा रसीले बाँधेर बगाउन नसक्ने बनाएर शुक्रबार थप तालीमप्राप्त जनशक्ति परिचालन गरी उद्धार कार्य गर्ने प्रनाउ बुढाले बताउनुभयो । जिप तान्नका लागि क्रेनको व्यवस्था मिलाउन पहल गरिएको छ । नदी किनारमा पनि निगरानी बढाइएको छ ।